सखी : माओवादी द्वन्द्वको कारुणिक कथा

सखी : माओवादी द्वन्द्वको कारुणिक कथा

‘तँलाई थाहा छ, उहाँ को हो ? उहाँ मेरा बाउ हो, जो एक दिन आँगनको डिलमा बसेर खैनी मोल्दै हुनुहुन्थ्यो। ऊ परबाट आएको गोली सीधै उहाँको शरीरमा लागेको थियो।

... उहाँ त्यही ढल्नुभएको थियो।’

शिल्पी थिएटरमा मञ्चन भइरहेको नाटक ‘सखी’ को एक दृश्य हो यो। नाटकमा नेपालको दसवर्षे द्वन्द्वकालमा तराई–मधेसमा भोग्नुपरेको समस्या प्रस्तुत गरिएको छ।

पर्दा खुल्नुअघि नै सेना प्रमुखले विद्रोहीलाई मारेर देश रक्षा गर्नुपर्ने कुरा गर्छन्। उता माओवादी विद्रोहीका कमान्डर आफ्ना लडाकु समक्ष अन्याय अत्याचारविरुद्ध लडेर जनतालाई न्याय दिनुपर्ने बताइरहेका छन्।

पर्दा खुल्छ। प्रकाशसँगै माओवादी र सरकारी सेनाको बन्दुकबाट त्रसित एक मधेसी परिवार देखिन्छ। त्रसित भएर बाँच्नु परेको उनीहरूको अवस्था साह्रै कारुणिक छ। कुनै ठूलो आवाजसँगै मृत्युको भयले त्रसित घरभित्र लुक्नुपर्ने अवस्था छ। छोराछोरीलाई भकारीभित्र र खाटमुनि लुकाएर सुरक्षित पार्न खोजिएको छ।

निर्दोष र त्रसित सगुनलाई माओवादी आरोप लगाएर सरकारी सेनाले यातना दिएका छन्। उसलाई सुरुङ खनेको झुटो आरोप लगाएर बेपत्ता बनाइएको छ। बालक शम्भुलाई माओवादीहरूले लगेर आफ्नो लडाकु बनाउने प्रयास गरेका छन्।

शोभाको परिवारको दुःखद् अन्त्य भएको छ। उसको परिवारमा अब ऊ एक्लै जीवित छे। उसको साथीको रूपमा यो संसारमा एउटा बाख्राको पाठो मात्रै बाँकी छ। उसका बुवा, आमा घरमा काम गरिरहँदा परबाट आएको गोली लागेर मरेका थिए। एउटा दाइ माओवादी र अर्का दाइ सरकारी सेनामा थिए। दुवैको मृत्यु युद्धमा एकअर्कालाई गोली हानेर भएको थियो। माओवादीले भर्खरै ब्याएको सुत्केरी बाख्री पनि पाठाको बिचल्ली बनाएर लगेका थिए।

शोभाले बाख्राको पाठोलाई आफ्नो ‘सखी’ भन्दै गरेको एकालाप र क्रन्दनले दर्शकको मुटु छुन्छ। यो दृश्य निकै मार्मिक छ। दाजुबहिनीको पर्व ‘सामा’ का अवसरमा उनीहरू सामाको डलिया सजाइरहेका हुन्छन्। त्यही समयमा माओवादी लडाकु आएर शम्भुलाई लैजान खोज्छन्। शम्भुलाई नलैजान आग्रह गरेपछि माओवादीले उसको एक मात्र सहारा सखी (बाख्राको पाठो) लैजान्छन्।

दसवर्षे द्वन्द्वमा सरकारी र माओवादी विद्रोहीको चपेटामा परेर सोझासाझा जनताले निकै सास्ती खेप्नुपरेको थियो। मधेसी जनताले भोगेका तत्कालीन समयको समस्यामाथि नाटक सशक्त रूपमा प्रस्तुत गरिएको छ। मैथिली भाषामा मञ्चन गरिएको नाटकमा मैथिली समाजको परिवेश देखाइएको छ। मैथिली भाषा, संस्कृति, रहनसहन, भेषभूषाले नाटक सुन्दर बनेको छ।

सखी नाटक रमेश रञ्जनले लेखेका हुन्। नाटकको निर्देशन युवराज घिमिरेले गरेका हुन्। १८ वर्षअघि कुमारी नाटक खेलेर अभिनय यात्रा सुरु गरेका घिमिरेले हालसम्म दुई दर्जनभन्दा बढी नाटकमा अभिनय गरिसकेका छन्। उनले कोमा, पिल्लर सब सोसाइटी, छिरिएका साँझहरू, मजिपा लाखेलगायतका १५ भन्दा बढी नाटकको निर्देशन गरेका छन्।

द्वन्द्वले जनतालाई धेरै त्रसित बनायो। शासन सत्ताको दमन र शोषणविरुद्ध माओवादीले गरेका द्वन्द्व कति जायज थियो त भन्ने विषयमा युवराज घिमिरे भन्छन्, ‘सामाजिक रूपान्तरणका लागि हिंसात्मक विद्रोह कति ठीक भन्ने बडेमानको प्रश्न हामी अगाडि सधैं औंलो तेस्र्याएर उभिइरहेको छ। सखी नाटकले सशस्त्र विद्रोह ठीक वा बेठीक भन्दैन तर मानवीयताको वकालत गर्छ।’

घिमिरेले नाटकमा मैथिली भाषा रोज्नुको कारणबारे भनेका छन्, ‘मलाई सधैं लाग्छ, रंगमञ्च स्थानीय भाषाहरूमै शक्तिशाली हुन्छ। फरकफरक भाषाले मञ्चमा फरकफरक शिल्प र परिवेश निर्माण गर्छ। मैथिली भाषाले निर्माण गरेको परिवेश नेपालीभन्दा फरक र नया“ स्वादको छ। त्यस्तै सैद्धान्तिक रूपमा मात्र होइन व्यावहारिक रूपमा पनि बहुल समाजको सोचलाई समृद्ध बनाउने हो भने काठमाडौंले अनेकौं भाषाका नाट्य प्रस्तुति हेर्ने बानी बसाल्नुपर्छ।’

नाटकमा शोभाको भूमिकामा प्रियंका झा छिन्। सम्पूर्ण परिवार गुमाएपछि एक्लै बा“च्नुको पीडादायी अवस्थाको जीवन्त अभिनय उनले गरेकी छन्। सखीको भूमिकामा सविन कट्टेल रहेका छन्। एउटा बाख्राको पाठामा हुनुपर्ने चञ्चलतास“गै विभिन्न व्यक्तिबाट त्रसित भएको भाव उनको अभिनयमा सशक्त पाइन्छ।

सगुनको भूमिकामा रामभजन कामत छन्। उनले सरकारी सेना र माओवादीको दोहोरो चपेटामा परेर त्रसित भएको मधेसीको भूमिका जीवन्त तरिकाले निर्वाह गरेका छन्। पवितरीको भूमिकामा पवित्रा खड्काले अभिनय गरेकी छन्। उनी नाटकमा सगुनकी श्रीमतीको रूपमा देखिएकी छन्। शम्भुको भूमिकामा नीलेश झा छन् भने गीताको भूमिकामा संगीता उराउ देखा परेकी छन्। दुवैले बाल चञ्चलताले भरिएका बालपात्रको अभिनय सशक्त रूपमा गरेका छन्।

सरकारी सैनिकहरूको भूमिकामा देवेन कार्की, सुरेश जीसी, विवेक तिवारी, झकेन्द्र बीसी छन्। माओवादी विद्रोहीको भूमिकामा सुलभ पाण्डे, नमराज केसी, संगीत पोखरेल र अनुजा अधिकारी रहेका छन्।

नाटकमा दृश्य र संवाद दुवै सशक्त छन्। मैथिली भाषाका संवादबाट अघि घटेका घटना वर्णन गरिएको छ। कलाकारको सशक्त अभिनय र विषयवस्तुको गाम्भीर्यताले नाटक उत्कृष्ट बनाएको छ। चैत २८ देखि शिल्पी थिएटरमा मञ्चन भइरहेको यो नाटक वैशाख ८ गतेसम्म चल्नेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.