निजी स्कुल नियमनमा सरकार उदासिन

निजी स्कुल नियमनमा सरकार उदासिन

काठमाडौं : निजी विद्यालयको शुल्क निर्धारण तथा अनुगमनमा शिक्षा मन्त्रालय र मातहतका निकाय उदासिन रहेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।कार्यालयको ५५ औं वार्षिक प्रतिवेदनले शुल्कमा एकरूपता ल्याउन र प्रचलित कानुनविपरीत शुल्क लिने स्कुलमाथि कारवाही गर्न मन्त्रालय असफल रहेको ठहर गरेको छ । शुल्कको अवस्था बुझ्न महालेखाले उपत्यकाका १० विद्यालयलाई नमूना छनोट गरी अध्ययन गरेको थियो ।

 महालेखाले शिक्षा ऐन र नियमावलीका व्यवस्थाअनुसार ती विद्यालयले शुल्क निर्धारण नगरेको, बर्सेनि नयाँ शैक्षिक सत्रसँगै शुल्क वृद्धि गरेको, भर्ना तथा वार्षिक शुल्क क्रमशः ५० हजार र ३० हजार रुपैयाँ लिएको पाएको थियो । महालेखाले भर्ना र वार्षिक शुल्कबाहेक मासिक ३० हजारसम्म शिक्षण शुल्क असुल गरेको पनि अध्ययनमा पाएको थियो ।

शिक्षा ऐन, २०२८ को दफा १६(घ) ५ मा निजी विद्यालयले शुल्क निर्धारण गर्दा आफूले दिने सुविधाका आधारमा तोकिएको अधिकारीबाट स्वीकृति लिनुपर्ने व्यवस्था छ । शुल्क निर्धारणमा देखिएको अनियमितता नियन्त्रण गर्न विद्यालयको न्यूनतम मापदण्ड हुनुपर्ने, भौतिक पूर्वाधार र प्रशासनिक खर्च पारदर्शी हुनुपर्ने, न्यून आयका विद्यार्थीलाई विशेष छुट तथा छात्रवृत्ति व्यवस्था गर्नुपर्ने, शैक्षिक विकास र संस्थागत विकासमा खर्च गर्ने प्रतिशत (अंश) तोकी सो आधारमा विद्यार्थीबाट लिने शुल्क निर्धारण गर्नुपर्ने कानुनी प्रावधान छ ।

तोकिएको सीमाभन्दा बढी शिक्षण र भर्ना शुल्क लिएर निजी विद्यालयले शिक्षा नियमावली, २०५९ समेत उल्लंघन गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । निजी स्कुलको शुल्कबारे धेरै गुनासा आएपछि शिक्षा विभागले गत वर्ष संस्थागत (निजी) विद्यालय शुल्क निर्धारण समिति गठन गरी उपत्यकाभित्र जिल्ला शिक्षा कार्यालयमार्फत ३४ र उपत्यका बाहिरका १३ निजी विद्यालयको शुल्क अनुगमन गरेको थियो । ‘अनुगमनमा कानुन पालना नगरेको ठहरिएका विद्यालयमाथि कारवाही गरेको र सुधार्न सुझाव दिएको देखिएन । प्रतिवेदन पेस गरी आवश्यक कारवाही गर्नुपर्छ’, प्रतिवेदनमा भनिएको छ ।

सरकारले शुल्क निर्धारण गर्न निजी स्कुललाई ‘क’ देखि ‘घ’ सम्म चार श्रेणीमा विभाजन गरेको छ । सरकारले शुल्क निर्धारणका लागि ‘ग’ श्रेणीको स्कुलको शुल्कलाई आधार मानेको छ । ‘घ’ श्रेणीका स्कुलले ‘ग’ को शुल्कको २५ प्रतिशत थोरै लिनुपर्ने कानुनी व्यवस्था छ । ‘ख’ र ‘क’ श्रेणीका स्कुलले ‘ग’ श्रेणीको स्कुलको शुल्कभन्दा क्रमशः २५ र ५० प्रतिशत शुल्क बढी लिन पाउने व्यवस्था छ । शिक्षा मन्त्रालयका विद्यालय प्रशासन महाशाखाका सहसचिव डा. हरिप्रसाद लम्सालका अनुसार मन्त्रालयले नीतिगत काम गर्ने हुनाले अनुगमनमा सक्रिय हुन नसकेको हो ।

‘अहिले विद्यालय तहको शिक्षासम्बन्धी सबै अधिकार स्थानीय तहमा गइसकेको छ । कानुनअनुसार अब ७ सय ५३ तहले आफूअन्तर्गतका विद्यालय अनुगमन र शुल्क तोक्ने छन्’, उनले भने, ‘आवश्यक भए मन्त्रालयले सहजीकरण गर्न सक्छ ।’

विद्यार्थीको अल्टिमेटम

विभिन्न विद्यार्थी संगठनले कानुनविपरीत शुल्क लिने विद्यालयमाथि कारवाही र शुल्क निर्धारणसम्बन्धी निर्देशिका कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् ।

कांग्रेसनिकट नेविसंघको कार्यालयमा बसेको विभिन्न विद्यार्थी संगठनको बैठकपछि शुल्क नियन्त्रण गर्न कडा अनुमगन नगरे असहयोग आन्दोलन गर्ने चेतावनी उनीहरूले दिएका छन् । नेविसंघ अध्यक्ष नैनसिंह महरले भने, ‘शुल्कको विषय समेटेर मंगलबार शिक्षामन्त्रीलाई अल्टिमेटमसहित ज्ञापनपत्र बुझाउँछौं । यति गर्दा पनि मन्त्रालयले चासो नदिए थप आन्दोलन घोषणा गर्छौं ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.