‘हाम्रा प्राथमिकता पूर्वाधार, कनेक्टिभिटी र ऊर्जा’

‘हाम्रा प्राथमिकता पूर्वाधार, कनेक्टिभिटी र ऊर्जा’

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पूर्वाधार, कनेक्टिभिटी र ऊर्जा सरकारको प्राथमिकता रहेको र यसैको पहल गर्न चीन जान लागेको जानकारी दिएका छन् । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको पूर्वतयारीका लागि मन्त्री ज्ञवाली बेइजिङ जान लागेको चर्चा चलिरहँदा उनले सरकारको विदेश नीति र प्राथमिकतासम्बन्धमा बेइजिङमा छलफल हुने बताएका हुन् ।

चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणामा सोमबार ६ दिनको औपचारिक भ्रमणमा जानुअघि मन्त्रालयमा पत्रकारसँग मन्त्री ज्ञवालीले भने, ‘भ्रमण नयाँ सरकारको विदेश नीति र प्राथमिकताबारे चीनलाई जानकारी दिनका लागि हो । चिनियांँ राष्ट्रपति सी चिङफिङको नेपाल भ्रमण र प्रधानमन्त्री ओलीको चीन भ्रमणमा केन्द्रित रहन्छ ।’ उनले सरकारको प्राथमिकतामा पूर्वाधार, कनेक्टिभिटी र ऊर्जा रहेको उल्लेख गरे । उनले भने, ‘हाम्रा प्राथमिकता चीनलाई जानकारी गराउँछौं र दुई देशबीच भइरहेका कामको समीक्षा पनि हुन्छ ।’

उनले रसुवागढी–केरुङ र कोरलामा क्रस बोर्डर ट्रान्समिसन लाइनको सम्भाव्यता अध्ययन भइरहेको उल्लेख गरे । ऊर्जामन्त्री वर्षमान पुनले चीनसँग क्रस बोर्डर ट्रान्समिसन लाइनमा सम्झौता हुने जानकारी आइतबार दिएका थिए । मन्त्री ज्ञवालीले प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे कुनै विवरण उल्लेख नगरे पनि आफ्नो भ्रमणमा दुई देशबीच उच्चस्तरीय भ्रमणसम्बन्धमा छलफल हुने जनाए । उनले भने, ‘नेपाली प्रधानमन्त्रीको चीन र चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे छलफल हुन्छ ।’ दुई देशका सरकार र राष्ट्रप्रमुखको भ्रमण यही वर्ष हुने भन्दै उनले भ्रमणको मिति तय भइनसकेको स्पष्ट पारे ।

मन्त्री ज्ञवालीले बुधबार चिनियाँ समकक्षी यीसँग भेट्ने छन् र भेटलगत्तै संयुक्त पत्रकार सम्मेलन गर्नेछन् । उनले त्यहाँका नेताहरूसँग भेट्ने भए पनि कुन नेता भेट्ने हुन् गोप्य राखिएको छ । उनले वरिष्ठ नेतासँग पनि भेट हुने बताए पनि नाम खुलाउन चाहेनन् । उनले भने, ‘कोसँग भेट्ने हो, विवरण थाहा भएपछि मन्त्रालयले जानकारी गराउँछ ।’ परराष्ट्र स्रोतले भने उनले चिनियाँ प्रधानमन्त्री ली खछियाङसँग भेट्वार्ता गर्ने जनाएको छ ।

दुई वर्षअघि चीनसँग भएका पारवहन तथा यातायातसहित १० बुँदे सम्झौताको कार्यान्वयनबारे ंिद्वपक्षीय छलफल हुनेसमेत उनले बताए । प्रधानमन्त्री ओलीले दुई वर्ष चीनसँग पारवहन सम्झौता गरेका थिए । मन्त्री ज्ञवालीले सो सम्झौता ऐतिहासिक भन्दै कार्यान्वयन पक्षको समीक्षा भइरहेको जनाए । उनले भने, ‘हामीले पनि ती सम्झौताको प्रगतिबारे अपडेट लिइरहेका छौं, कतिपय काम सन्तोषजनक छन् ।’ राजनीतिक संक्रमणले विगतका सम्झौता कार्यान्वयनमा ढिलाइ भए पनि अब तीव्र गतिमा कार्यान्वयन हुनुपर्नेमा उनले जोड दिए ।

बीआरआई प्राथमिकतामा

मन्त्री ज्ञवालीले चीनको महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) नेपालका लागि महत्वपूर्ण भए पनि मोडालिटीबारे छलफल भइरहेको जानकारी दिए । उनले भने, ‘यसको मोडल के हुने हामी गृहकार्यमा छौं । दुई देशबीच मोडालिटी टुंगो लगाएपछि अगाडि बढाइनेछ ।’ चीनसँग दक्षिण एसियालाई सडक सञ्जालले जोड्ने बीआरआई परियोजनालाई चीनले निकै महत्व दिएको छ । नेपालले बीआरआईमा हस्ताक्षर गरे पनि कार्यान्वयनमा चासो नदिएको चीनको गुनासो छ ।

मन्त्री ज्ञवालीले तातोपानी नाका खुलाउन चीनसँग पटक पटक छलफल भएकाले चाँडै सुचारु हुने विश्वास व्यक्त गरे । भूकम्पपछि बन्द तातोपानी नाका खुलाउन चीनसँग सकारात्मक छलफल भइरहेको उनको भनाइ थियो । उनले भने, ‘यो दुवै देशका लािग महत्वपूर्ण नाका हो । छिट्टै अरनिको राजमार्ग हुँदै तातोपानी नाका सुचारु हुन्छ ।’

बूढीगण्डकीबारे छलफल नहुने

भ्रमणमा बूढीगण्डकी परियोजनाबारे कुनै छलफल नहुने परराष्ट्रमन्त्री ज्ञवालीले जनाएका छन् । उनले अघिल्लो सरकारले गरेका निर्णयहरू अध्ययनकै क्रममा रहेकाले आफ्नो भ्रमणमा बूढीगण्डकीबारे कुनै छलफल नहुने स्पष्ट पारेका हुन् । चिनियाँ कम्पनीलाई बूढीगण्डकी निर्माणको ठेक्का दिने ओली सरकारको निर्णय शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले उल्टाएको थियो । देउवा सरकारले बूढीगण्डकी स्वदेशी पूँजीमा बनाउने निर्णय गरेको थियो । बूढीगण्डकी परियोजनाप्रति चीनले विशेष चासो दिँदै आएको छ ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.