३० हजार विरुवा रोप्दै महानगर
काठमाडौं : बर्षायामसँगै काठमाडौं महानगरपालिकामा ३० हजार वोट विरुवा रोपिने भएको छ । काठमाडौं महानगरपालिकाले बिष्णुमती, बागमती नदि किनार, सडकको आसपास र खुल्ला क्षेत्रमा विरुवा रोप्ने भएको हो । आर्थिक बर्षको अन्तिमसम्म विरुवा रोपीसक्ने गरी काम अघि बढाएको महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए । ‘भारतबाट विरुवा ल्याउन टेण्डरको काम सकिएको छ, विरुवा आए पछि भुगोल अनुसार बृक्षरोपण गरिने छ,’ कार्कीले भने, ‘भुगोल अनुसार विरुवा अग्लो र होचो प्रकृति हुने छ ।’
महानगरले ‘काठमाडौं बृहत वृक्षारोपरण कार्यक्रम २०७५’ अन्तर्गत ३० हजार बोटविरुवा रोप्न लागिएको जानकारी पनि उनले दिए । हरियाली र स्मार्ट शहर बनाउने लक्ष्यका साथ महानगरले अभियान थालेको हो । वातावरण विभागसँग समन्वय गरी महानगरभित्रका ५० किमी भन्दा बढी सडक किनारामा ती बोटविरुवा रोप्ने तयारी भएको छ ।
सार्क सम्मेलन र विशेष सन्दर्भमा विरुवा रोपिए पनि यसलाई हुर्काउन र बचाउन सम्बन्धीत पक्षले चासो नदिँदा कार्यक्रम सफल बन्न सकेको छैन । उपत्यकाभित्र विभिन्न निकायले रोपेका हजारौ संख्याको विरुवा गायव हुने गरेका छन् । २० बर्ष अघि रोपिएको विरुवा पनि गोडमेल र पानीको अभावमा हुर्किन नसकेका कारण बजेट मात्रै खेर गएको छ । काठमाडौं चक्रपथभित्रका २७ किलोमीटर चक्रपथ भित्री सडकमा अधिकाँस क्षेत्रमा विगतमा रुख रोपिएका छन् ।
उपत्यकाका सडकमा साना जातका विरुवामात्र रोपिँदा हरियाली नभएको र सडकलाई हरियालीयुक्त बनाउन नसकिएको सडक विभागका सहप्रवक्ता रमेश कुमार सिंहले बताए । काठमाडौं उपत्यकामा साना जातका लाखौ विरुवा रोपिएकाले हरियाली छाउन नसकेको भनाई सिंहको छ । ‘सडक विभागकै अनुमतीमा मात्र सडकमा रुख रोपिने गरिन्छ । रुख रोप्न अनुमती लिनेलाई व्यवस्थापन गर्न पनि शर्तहरु तोकिएको हुन्छ । तर हुर्काउने बढाउने र व्यवस्थापन गर्ने जिम्मेवारी पुरा गर्दैनन्,’ उनले भने । उपत्यकामा हालसम्म तीन देखि पाँच फिटसम्मको विरुवा मात्र रोप्ने गरेको पाइएको छ ।
उपत्यकालाई ग्रिन सिटी बनाउने लक्ष्य सरकारले लिए पनि बृक्षरोपणलाई व्यवस्थित नगर्दा लक्ष्य पुरा गर्न नसकिएको भनाई वन विभागको छ । २० बर्ष अघि सडकमा रोपिएका विरुवा पोथ्रामै सिमित छन् । कानुनतः स्थानीयतहमा १० प्रतिशत वन क्षेत्र अनिवार्य हुनु पर्ने व्यवस्था छ । उपत्यकाका केही क्षेत्रमा नेपाल टेलिकमले बृक्षरोपण गरी व्यवस्थापन र हेरचाहा गर्दे आए पनि रुख पोथ्रामै सिमीत हुँदा हरियाली बन्न सकेको छैन ।