अशक्तलाई घर
सिन्धुपाल्चोक : हेलम्बु गाउँपालिका-२, किउलका ८२ वर्षीय साङ्बे तामाङले आफू मरे पनि सुस्त मनस्थितिको छोराले जिन्दगीभर घरमा बस्न पाउने भएपछि खुसी मनाएका छन् । शारीरिक रूपमा अशक्त मात्र होइन, अस्वस्थ पनि रहेका साङ्बेले आफ्नोभन्दा पनि घर बनेपछि छोराको भविष्यको चिन्ताले सताउन छाडेकाले खुसी मनाएका हुन् ।
सुस्त मनस्थितिका छोरा र आफ्नै उमेरकी रोगी श्रीमतीसहित भूकम्पप्रतिरोधी घरमा सरेपछि उनलाई आफू जति खुसी कोही छ जस्तो लागेको छैन । घर पाएको खुसीमा उनले परिवारका सदस्य राखेर भोज खाँदै खुसी मनाए ।
सरकारको अनुदानमा थप गर्ने रकम अभाव र काममा खट्ने हैसियत नभएका साङ्बेलाई सामाजिक संस्थाको सहयोगमा घर नबन्दासम्म उनले यो जन्ममा फेरि घरभित्र बस्ने सपना सजाउन छाडेका थिए । वृद्ध श्रीमती र सुस्त मनस्थितिको छोरालाई टहरोबाट घरमा राख्न सकिन्छ भन्ने उनले कल्पना पनि गरेका थिएनन् ।
भूकम्पबाट घर भत्किएपछि सरकारले अनुदान दिने तीन लाख रुपैयाँमा थप्ने आर्थिक र काममा खट्ने शारीरिक अवस्था नभएका तामाङलाई टहरोबाट मुक्ति मिल्ने आस पनि थिएन । ‘आफ्नै हैसियतले घर बनाउन सक्ने अवस्था थिएन, टहरोमै जिन्दगी बित्ला जस्तो लागेको थियो’, हेल्भेटास नेपाल र सोलिडार स्वीट्जरल्यान्डको आर्थिक तथा प्राविधिक सहयोगमा दुईकोठे भूकम्पप्रतिरोधी घर बनेपछि खुसी भएका तामाङले भने, ‘संस्थाले मेरो परिवारको ठूलो उद्धार ग¥यो ।’
घर बनेपछि आफू मरे पनि सुस्त मनस्थितिको छोरा वर्षौं टहरोमा बस्नुपर्ने बाध्यताबाट मुक्ति मिलेको तामाङले बताए ।
हेलम्बु गाउँपालिकाकै महाकालका ७२ वर्षीय धेवा तामाङ र उनकी श्रीमतीले पनि संस्थाको सहयोगमा घर बनेपछि जाडोमा शीत चुहिने र गर्मीमा तातो रापले सेक्ने जस्ताको टहरोबाट मुक्ति पाएका छन् । भूकम्पपछि छिमेकीको सहयोगमा बनेको टहरोमा बस्दै आएका हिमाली गाउँका यी दम्पती संस्थाले सहयोग नगरेको भए आफ्नो जिन्दगी टहरोमै बित्ने बताउँछन् ।
हेल्भेटास र सोलिडारको आर्थिक एवं प्राविधिक सहयोग तथा स्थानीय साझेदार संस्था सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चको सहजीकरणमा साङ्बे र धेवा जस्तै असहाय, अपांगता भएका, एकल महिला तथा कमजोर आर्थिक अवस्था भएकाका लागि मेलम्ची किनारका गाउँमा पाँच सय नौ घर निर्माण भएका छन् ।
संस्थाले पुनर्निर्माण प्राधिकरणसँग सम्झौता गरी नागरिक ‘स्कोर कार्ड’का आधारमा लक्षित वर्गभित्रका लाभग्राही छनोट गरी आफैंले निर्माण गर्न असक्षम सात सय ८३ घर निर्माण गर्ने जिम्मा लिएको हेल्भेटासका परियोजना टिम लिडर विक्रम रानाले बताए । एक सय ३७ घर निर्माणाधीन अवस्थामा रहेको उनको भनाइ छ । मेलम्ची जलाधार क्षेत्रका मेलम्ची, तालामाराङ, दुवाचौर, हेलम्बु, किउल, इचोक, महाकाल र पाल्चोक गाविसमा सरकारले दिने तीन लाखका साथै र निर्माण सामग्री सहयोग गरेर घर निर्माण गरेको कार्यक्रम सुपरिवेक्षक पाण्डव अधिकारीको भनाइ छ ।
आवास पुनर्निर्माण सहयोग परियोजनाअन्तर्गत संस्थाले घर निर्माणका लागि आवश्यक जस्तापाता, किलाकाँटी र काठ सबलीकरण गर्ने रासायनिक पदार्थ सहयोग गरेको उनले जानकारी दिए । ‘स्कोर कार्डका आधारमा छनोटमा परेकामध्ये पनि झन्डै आधाजसो घर बनाउनै नसक्ने छन्’, अधिकारीले भने, ‘बाँकी आधा पनि आर्थिक र शारीरिक रूपमा कमजोर नै छन् ।’
डकर्मीलाई तालिम दिएर स्थानीय ढुंगा, माटो र काठको प्रयोग गरेर भूकम्पप्रतिरोधी घर बनाइएको संस्थाको भनाइ छ । संस्थाले परिवार सदस्य संख्या हेरेर दुईदेखि चार कोठेसम्म घर निर्माण गरेको छ ।
घर निर्माणका क्रममा सरकारको अनुदानबाहेक दुई लाख रुपैयाँसम्मका सामग्री संस्थाले खरिद गरिदिएको थियो । संस्थाले घर निर्माणसँगै भूकम्पप्रभावित समुदायको सुविधाको पुनःस्थापना परियोजनामार्फत ३८ खानेपानी योजनाबाट दुई हजार पाँच सय परिवारमा एक घर एक धारा निर्माण गरेको छ ।