प्रविधिले किसानलाई सहज
सिरहा : प्रविधिले किसानलाई बाली भित्र्याउन सहज भएको छ। पहिला किसानलाई बाली भित्र्याउन महिनौं लाग्ने गरेको भए पनि हाल प्रविधिको प्रयोगले एक दुई दिनमै गर्न सकिने भएको हो। गहुँबाली पेल्न खेतमै ‘रम्भा’ पुग्न थालेपछि किसानको श्रम र समय बचत भएको छ।
सिरहाको नवराजपुर गाउँपालिका ४ देवनगर गाउँका शुभलाल यादवले एक बिघा खेतमा गहुँबाली लगाएका छन्। विगतमा उनलाई गहुँ भित्र्याउन महिनौँ लाग्थ्यो। तर, अब प्रविधिले सहज बनाएको छ। ‘पछिल्लो २/३ वर्षयता खेतमै रम्भा पुग्छ’, उनले भने, ‘एक बिघाको गहुँ दुई घण्टामै रम्भाले पेल्यो, समयमै गहुँ भित्र्याउन पायौँ।’
उनको छिमेकी रामऔतार यादवले भने, ‘केही वर्ष अगाडिसम्म गहुँ काटेर पहिले घर ल्याउनु पथ्र्यो। त्यसपछि गोरु र मजदुर लगाएर गहुँ झार्थे, अब त झन्झटै छैन’, उनले भने, ‘प्रविधिले महिनौँसम्म लाग्ने कामलाई छिनभरमै सकाइदिन्छ।’ वैदेशिक रोजगारीले गाउँमा मजदुरी गर्ने भेट्न कठिन छ। ज्याला पनि वृद्धि भएको छ। तर, रम्भामै गहुँ पेलाए किसानलाई खर्च र समय दुवै बचत हुने गरेको उनको भनाइ छ।
‘ठाउँ अभावले खेतबाट गहुँ घरमा लगेर राख्न पनि समस्या हुन्थ्यो’, सोही ठाउँका जगदेव यादवले भने, ‘झन वर्षा हुँदा त गहुँ भित्र्याउन हम्मे–हम्मे हुन्थ्यो, अब त्यसबाट छुटकारा पाएका छौँ।’ खेतमै रम्भा लगेर काटन सुरु गरेकै दिन यस वर्ष पनि गहुँ पेलाएको उनले बताए।
यी तीन किसान मात्र होइन खेती किसानी गर्ने सबैले रम्भामै गहुँ पेलाउने गरेका छन्। गहुँजस्तै धान पनि अब धेरै किसानले रम्भामा पेलाउने गर्छन्। रम्भावालाले गहुँ पेलेबापत प्रत्येक १० मिनेटमा एक टिन गहुँ ज्यालामा लिने गरेको छ। अरुभन्दा गहुँखेती सहज हुने गरेको उनीहरू बताउँछन्। चैत र वैशाखमा गहुँ कटान हुने गर्छ।
जिल्ला कृषि विकास कार्यालय सिरहाका अनुसार यस वर्ष जिल्लामा १८ हजार हेक्टर जग्गामा गहुँखेती भएको छ। यसमध्ये ४० प्रतिशत गहुँ अहिलेसम्म कटान भइसकेको छ। १५ दिनयता सुरु भएको वर्षा र हावाहुरीका कारण गहुँ कटानमा कठिनाइ भएको थियो। हिजोआज किसानले गहुँ भित्र्याउन व्यस्त देखिएका छन्। वैशाख दोस्रो हप्तासम्म किसानले गहुँ भित्र्याइसक्ने कृषि कार्यालयले जनाएको छ।
वरिष्ठ कृषि विकास अधिकृत डा. रामचन्द्र यादवका अनुसार यस वर्ष विगतको तुलनामा बढी गहुँ फलेको छ। ६० देखि १०० किलो सम्म प्रतिकठ्ठा गहुँ फलेको उनले बताए। गहुँखेतीका लागि बीउमा किसानलाई कृषि विकास कार्यालयले बाली लगाउने बेलामा २५ प्रतिशत अनुदान उपलब्ध गराएको उनले जानकारी दिए। ‘यस वर्ष बाढीले धान बाली क्षति पुर्याएको थियो। समयमा किसानले खेती गर्न पाएनन्’, वरिष्ठ कृषि विकास अधिकृत यादवले भने, ‘त्यसको तुलनामा विगतभन्दा यस वर्ष राम्रो फलेको छ। रासायनिक मल समयमै पाएको भए अझ बढी गहुँ उब्जनी हुने थियो।’