वैशाख ९ को एकता टर्दै

वैशाख ९ को एकता टर्दै

 काठमाडौं : पार्टी र सरकार नेतृत्वको विषयले पुनः प्रवेश पाएपछि पूर्वघोषित मिति वैशाख ९ मा एमाले-माओवादी केन्द्रबीचको पार्टी एकता टर्ने देखिएको छ। यद्यपि, विवादित विषयमा सहमति खोजेर एकताको मिति घोषणा गर्ने जिम्मा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई दिइएको छ।

दुई दलको एकता संयोजन समितिको मंगलबारको बैठकमा माओवादीका तर्फबाट पार्टी एकतापछिको पार्टी र सरकारको नेतृत्वबारे प्रश्न उठेको थियो। यसअघि महाधिवेशनसम्म दुई अध्यक्ष रहने र सहमतिमा एकता महाधिवेशन गर्नेमा एमाले र माओवादीबीच समझदारी बनेको थियो। तर, पछिल्लोपटक माओवादी केन्द्रका नेताले पार्टी एकतासमेत बराबरीका आधारमा हुनुपर्ने धारणा व्यक्त गर्दै आएपछि विवाद देखिएको स्रोतले बतायो। ‘पार्टी एकतापछिको नेतृत्व र सरकारको नेतृत्वबारे पनि कुराकानी हुनुपर्‍यो’ भन्दै माओवादीका तर्फबाट कुरा आयो’, स्रोतले भन्यो, ‘त्यस विषयमा पनि दुई अध्यक्षबीच सहमति आवश्यक देखियो।’

पूर्वघोषित मितिमै एकता गर्ने ठोस निर्णय लिने अपेक्षा गरिएको संयोजन समितिको मंगलबारको बैठकमा गृहकार्य नपुगेको भन्दै एकताको मिति घोषणा हुन सकेन। दुई दलका वैचारिक र विधान कार्यदलले चैत २२ गते ओली र दाहाललाई प्रतिवेदन बुझाउँदा वैशाख ९ मा पार्टी एकता गर्ने घोषणा गरिएको थियो।

 कम्युनिस्ट पार्टी स्थापनाको दिन भन्दै वैशाख ९ लाई एकताका लागि चयन गरिएको थियो। कार्यदलले पार्टी एकतापछिको चुनाव चिह्न, सांगठनिक बाँडफाँट र जनयुद्धलाई विश्लेषण गर्ने विषयलाई विवादित सूचीमा राखेर प्रतिवेदन बुझाएका थिए। तर, ती विषयमा हालसम्म औपचारिक निर्णय हुन नसकेको भन्दै एकता संयोजन समितिले दुई अध्यक्षलाई नै जिम्मा दिएको माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले बताए। संयोजन समितिको अर्को बैठकले एकताको मिति घोषणा गर्ने श्रेष्ठले जानकारी दिए। एकता संयोजन समिति बैठकमा माओवादी केन्द्रका अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति पनि असन्तुष्टि जनाएको स्रोतले बतायो।

एमाले महासचिव ईश्वर पोखरेलले भने वैशाख ९ गते एकता टरिनसकेको बताए। ‘दुई अध्यक्षले चाँडो सक्नुभयो भने ९ गते एकता हुन्न भन्ने अवस्था छैन’, पोखरेलले भने। प्रधानमन्त्रीलगायत मन्त्रीहरू विद्यार्थी भर्ना कार्यक्रमका लागि दुई दिन उपत्यकाबाहिर रहने र त्यसपछि मात्र एकताका लागि गृहकार्य हुने पोखरेलले बताए।

प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार संयोजन समितिको बैठकपछि खाना खाएर नेताहरू पार्टी एकताबारे अनौपचारिक कुराकानी पनि गरेका थिए।

चुनाव चिह्न सूर्यमा सहमति

एमाले महासचिव पोखरेलले चुनाव चिह्न सूर्य नै राख्नेमा विवाद नरहेको दाबी गरे। माओवादी केन्द्रले सूर्यभित्र हँसिया हथौडाको प्रस्ताव गरेको थियो। तर, त्यसो गर्दा अर्को कुनै दल गठन भई सूर्य चिह्न लिन सक्ने भन्दै माओवादी केन्द्रका नेतालाई एमालेका नेताले सम्झाएको स्रोतले बतायो। ‘चुनाव चिह्न मिलिसक्यो,’ महासचिव पोखरेलले भने।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.