विधान हुबहु पारित गर्न आईसीसीको निर्देशन

विधान हुबहु पारित गर्न आईसीसीको निर्देशन

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचित समितिको विशेष साधारणसभाभन्दा दुई दिनअघि परिमार्जित विधान हुबहु पारित गनुपर्ने आशयसहितको विज्ञप्ति जारी गरेको छ। आईसीसीले मंगलबार विज्ञप्ति जारी गरी क्यानको निर्वाचित समितिलाई सल्लाहकार समूहले तयार पारेको र आईसीसीका प्रतिनिधिसँग गत जनवरीमा भएको सहमतिअनुसार गरिएको परिमार्जनभन्दा बढी कुनै पनि बुँदामा परिवर्तन नगर्न निर्देशन दिएको हो।

‘हामीले नेपालको अवस्थालाई निकै नजिकबाट हेरिरहेका छौं’, आईसीसी उपाध्यक्ष इमरान ख्वाजालाई उद्धृत गर्दै विज्ञप्तिमा लेखिएको छ, ‘हामीलाई विश्वास छ कि विशेष साधारणसभाले यसअघि गत जनवरीमा नेपालका क्रिकेट समुदायसँग भएको छलफल र सहमतिअनुसार गरिएको परिमार्जनसहितको विधानलाई हुबहु पारित गर्नेछ। क्यानमाथिको निलम्बन फुकुवा गर्दै आईसीसीमा पुनः सदस्यता प्राप्त गर्नका लागि यो प्रक्रिया मुख्य मापदण्ड हुनेछ।’

ख्वाजाले विज्ञप्तिमा विशेष साधारणसभाले विधानमाथि फेरि परिमार्जन गरेको अवस्थामा क्यानमाथिको निलम्बन फुकुवाको प्रक्रियामा अवरोध आउन सक्नेतर्फ समेत संकेत गरेका छन्। ‘विशेष साधारणसभा सम्पन्न भएलगत्तै नेपालको अवस्थाबारे छलफल गर्न आईसीसीको बोर्ड बैठक बस्नेछ। सो बोर्ड बैठकमा नेपालको एजेन्डा मुख्य हुनेछ’, ख्वाजाले भनेका छन्, ‘अवस्था सकारात्मक देखिए आगामी जुलाईमा हुने निर्वाचन साधारणसभाले क्यानमाथिको निलम्बन फुकुवा गर्नेछ।’

क्यान निर्वाचित समितिले भने यो अधिकार विशेष साधारणसभाको भएको जनाएको छ। ‘विधानलाई परिमार्जन गर्ने वा हुबहु पारित गर्ने अधिकार विशेष साधारणसभाको हो। यसलाई हामी कसैले पनि नकार्न सक्दैनौं’, मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा क्यान निर्वाचित समितिका महासचिव अशोकनाथ प्याकुरेलले भने, ‘हामी क्यानमाथिको निलम्बन फुकुवाका लागि हदैसम्मको लचकता अपनाउनेछौं।’

गत जनवरीमा उपाध्यक्ष ख्वाजाको नेतृत्वमा आएको आईसीसीको प्रतिनिधिमण्डलसँग भएको विशेष सहमतिसहितको विधानलाई पारित गर्न क्यान निर्वाचित समितिले यही बिहीबार र शुक्रबार काठमाडौंमा विशेष साधारणसभा आयोजनाको तयारी गरेको छ। आईसीसीले क्यान निर्वाचित समितिको यो तयारीको स्वागतसमेत गरेको छ।

जनवरीमा भएको सहमतिअनुसार विशेष साधारणसभाले परिमार्र्जित विधानलाई पारित गरेसँगै त्यसअनुसार गठन हुने मोनिटरिङ समितिले क्यानको रोकिएको निर्वाचन प्रक्रियालाई अघि बढाउने छ। मोनिटरिङ कमिटीले यसअघि सम्पन्न भइसकेकामध्ये विवाद देखिएको स्थानमा मात्रै पुनः निर्वाचन गराउने र त्यससँगै प्रदेश र केन्द्रको निर्वाचन प्रक्रियालाई अघि बढाई क्यानमा नयाँ नेतृत्व छनोट गर्नेछ। त्यससँगै क्यानमाथिको आईसीसीको निलम्बन फुकुवा हुने विश्वास गरिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.