१२ वर्षीया पूर्णिमाको कमाल
धादिङ : सातौं राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा कक्षा ६ मा अध्ययनरत एक बालिकाले आश्चर्यजनक प्रदर्शन गरेकी छन्। न्यु किवो बोर्डिङ स्कुलमा कक्षा ६ मा अध्ययनरत १२ वर्षीया बालिका पूर्णिमा केसीले छात्रातर्फको पाँच हजार मिटर र १५ सय मिटरको दौडमा स्वर्णपदक हात पार्दै सबैलाई छक्क पारेकी हुन्।
जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डको लामो दूरीको दौडमा स्वर्ण पदक हात पारेसँगै पूर्णिमा प्रदेशस्तरीय रनिङ सिल्डका लागि पनि स्वतः छनोट भएको जानकारी विद्यालयका खेल शिक्षक गौतम श्रेष्ठले दिए। पाँच हजार मिटर दौडमा ११÷१२ कक्षामा पढ्ने दिदीहरूलाई पछि पार्दै पूर्णिमाले २० मिनेटमा निधारित दूरी पार गरिन्। प्रदेशका स्तरीय प्रतियोगिताका लागि तयारी थालिएको पनि विद्यालयले जनाएको छ।
यसैबीच, जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि नीलकण्ठ माध्यमिक विद्यालयले हात पारेको छ। ३० वटा स्वर्ण पदकका लागि खेलाइएको विभिन्न खेलमा नीलकण्ठले १४ विधामा स्वर्ण पदक हात पार्दै प्रथम भएको हो। यसैगरी एड्भान्स आठ स्वर्ण पदकसहित दोस्रो र न्यु किवो बोर्डिङ स्कुल चार स्वर्णपदकसहित तेस्रो भए।