रारामा प्याराग्लाइडिङ
रारा : रारामा पहिलोपटक प्याराग्लाइडिङ सुरु गरिएको छ। समुन्द्री सतहदेखि तीन हजार ६ सय मिटर उचाइमा रारातालको माथि मुर्माटपबाट प्याराग्लाइडिङ सुरु गरिएको हो। राराताल छेउमा रहेको मुर्माटपबाट प्याराग्लाइडिङ उडान गरेका पाइलट सानोबाबु सुनुवारले रारामा प्याराग्लाइडिङ उडान गर्न अन्य क्षेत्रभन्दा सहज भएको बताए।
वैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको रारा कर्णाली पर्यटन वर्ष २०७५ कै दिन प्याराग्लाइडिङ उडान गरेका पाइलट सुनुवारले नेपालका ४६ जिल्लामा उडान गरेको तर राराको मुर्माटपबाट उडान गर्दा बेग्लै महसुस भएको उल्लेख गरे। यहाँबाट दृष्यावलोकन गर्दा बेग्लै मज्जा आउने उनको भनाइ थियो।
१५ वर्षदेखि देश तथा विदेशमा प्याराग्लाइडिङ गर्दै आएका पाइलट सुनुवारले अन्य क्षेत्रको तुलानामा राराको मुर्माटपबाट प्याराग्लाइडिङ उडान गर्दा फरक अनुभूति भएको बताए। विदेशी मुलुकका २३ र नेपालका ४६ जिल्लामा प्याराग्लाइडिङ उडान गरेको र अन्य क्षेत्रमा प्याराग्लाइडिङ उडान गर्दा सीमित क्षेत्र देखिने गरेको भए पनि राराको मुर्माटपबाट प्याराग्लाइडिङ उडान गर्दा चारैतिरका अग्ला हिमाल र हिमशृंखला अवलोकन गर्न पाइने सुनुवारको भनाइ छ।
राराको मुर्माटपबाट प्याराग्लाइडिङमार्फत नै ५० किलोमिटर दूरीमा रहेका जिल्ला पुग्न सकिन्छ। यहाँबाट यातायातको रूपमा पनि प्याराग्लाइडिङ प्रगोग गर्न सकिने उनले बताए। राराको मुर्माटपबाट प्याराग्लाइडिङ उडान गर्दै ४५ मिनेटमा हुम्ला र २५ मिनेटमा जुम्लासम्म पुग्न सकिन्छ। रारा अवोलकन गर्न आउने पर्यटकले प्याराग्लाइडिङमै उडेर चारैतिरको दृश्यावलोकन गर्न मिल्ने भएकाले व्यवसाय सञ्चालन गरी थप पर्यटक भित्रिने सम्भावना छ।
बेरोजागार युवाले बिदेसिनुभन्दा यहीँ व्यवसाय गरे आम्दानी बढ्ने र आन्तरिक तथा बाह्य पर्यटक पनि बढ्ने बताइएको छ। रारामा प्याराग्लाइडिङ उडान गर्न भौगौलिक चुनौती पनि छ। मुर्माटपमा विहान, बेलुका र दिउँसो गरी तीन फरक कोणबाट हावा चल्ने भएकाले परिपक्व पाइलटले मात्रै मात्र उडान गर्न सक्ने सुनुवारले बताए।
रारामा प्याराग्लाइडिङ गर्न कम्तीमा २५ महिना प्याराग्लाइडिङ उडानसम्बन्धी तालिम लिएका पाइलटले उडान गर्न सक्ने भएकाले परिपक्व भएका पाइलटलाई भौगोलिक चुनौती रहेको छ।
रारामा प्याराग्लाइडिङ व्यवसाय सञ्चालन गर्न धेरैले कोसिस गरेका भए पनि नेपाल सरकार र निकुञ्जले बाधा पु¥याएकाले कसैले पनि व्यवसाय सञ्चालन गरेका छैनन्। निकुञ्जले अनुमति दिए पोखरापछि प्याराग्लाइडिङमा उपयुक्त स्थान रारा हुन सक्ने पर्यटन डाँफे होटलका सञ्चालक पूर्णदेवी बम बताउँछिन्।