प्रधानमन्त्री अोली बने रुपाकुमारी र पवनका अभिभावक
सिरहा : दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने अभियानअन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीले सिरहाका दुईजना बालबालिकालाई विद्यालय भर्ना गराएका छन्।
सिराहाको रामदुलारी मावि कल्याणपुर नपा ११ का दिनेशकुमार र कौशिलादेवी मण्डल (खत्वे) की ५ वर्षीया छोरी रुपाकुमारी मण्डल (खत्वे) र भोगेन्द्र र अमिराकुमारी मल्लिकका ५ वर्षीय छोरा पवन मल्लिक (डोम) लाई प्रधानमन्त्रीले विद्यालय भर्ना गराएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताए।
भर्ना गरिएका बालबालिकालाई प्रधानमन्त्रीले पुस्तक र पोशाक समेत वितरण गरेका छन्। विद्यालय भर्ना गरेपछि प्रधानमन्त्रीले आफूले भर्ना गराएका विद्यार्थी सफल भएको हेर्न चाहेको बताए।
भर्ना अभियानमा विद्यालय गएका विद्यार्थीलाई विद्यालयमै टिकाउन सरकारले सबै सहयोग गर्ने प्रतिबद्धता पनि जनाए। यस अघि वैशाख १ गते मुगुमा प्रधानमन्त्री ओलीले एक बालिकालाई विद्यालय भर्ना गराएका थिए।