परराष्ट्रमन्त्रीले सुझाए नेपाल-चीन सहकार्यका पाँच क्षेत्र

परराष्ट्रमन्त्रीले सुझाए नेपाल-चीन सहकार्यका पाँच क्षेत्र

काठमाडौं : चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दुई देशको तीव्र आर्थिक विकासका लागि सामूहिक सहकार्यमा जोड दिएका छन् । दुई देशले सहकार्यका क्षेत्र पहिचान गरेर सामूहिक रूपमा काम गर्नुपर्नेमा जोड दिए । बिहीबार चाइना रिफर्म फोरमले बेइजिङमा ‘२१ औं शताब्दीमा नेपाल-चीन सम्बन्ध’बारे आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा मन्त्री ज्ञवालीले दुवै देशको विकासका लागि सहकार्य गर्नुपर्ने पाँच क्षेत्र सुझाए । उनले भने, ‘दुवै देशले अब सामूहिक सहकार्यका क्षेत्र पहिचान गरेर काम गर्नु आवश्यक छ ।’

मन्त्री ज्ञवालीले यातायात र कनेक्टिभिटी, कृषि, उद्योग र प्रविधि हस्तान्तरण, मानवीय सम्भावना, प्राकृतिक स्रोत र वातावरणका साथै व्यापार र लगानीमा दुवै देशले सहकार्य गर्नुपर्ने खाँचो औंल्याए । दुई वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग सहज पहुँचका लागि यातायातमा जोड दिएको उल्लेख गर्दै मन्त्री ज्ञवालीले भने, ‘विश्वको दोस्रो ठूलो अर्थतन्त्रसँग पूर्वाधार अभावका कारण व्यापार, उद्योग र जनता-जनताबीचको सम्बन्धमा कठिनाइ भएको महसुस नेपालले गरेको हो । त्यसैले नेपाल रेल, सडक, ऊर्जा, दूरसञ्चार, हवाईमार्गबाट चीन हुँदै अन्तर्राष्ट्रिय जगतसँग जोडिन चाहन्छ ।’ उनले चीनसँगको सहज यातायात पहुँचले नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने बताउँदै हिमालय वारपार बहुआयामिक यातायात सञ्जालमा दुवै देशबीच सहमति भएको बताए । 


ज्ञवालीले नेपालको दुईतिहाइ जनसंख्या कृषिमा निर्भर रहे पनि कृषिमा परनिर्भरता रहेको बताए । उनले कृषिसम्बन्धी चिनियाँ प्रविधि र अनुभव नेपालका लागि महत्वपूर्ण हुने उल्लेख गरे । यस्तै, नेपालका करिब तीन करोड जनताले आफ्नै जीवनकालमा समृद्धिको सपना देखेको उनले बताए, ‘नेपालमा आधाभन्दा बढी युवा संख्या छ । तिनको परिचालनमार्पmत देशलाई समृद्धितर्फ लैजान सकिन्छ ।’ 

१. यातायात र कनेक्टिभिटी 
२. कृषि, उद्योग र प्रविधि,
३. मानवीय सम्भावना
४. प्राकृतिक स्रोत र वातावरण 
५. लगानी र व्यापार 

नेपालमा ८३ हजार मेगावाट विद्युत उत्पादन क्षमता भए पनि अहिलेसम्म यसको एक प्रतिशतमात्र उत्पादन गर्न सकिएको जनाउँदै मन्त्री ज्ञवालीले जलस्रोतमा चिनियाँ लगानीका लागि आग्रह गरे । यस्तै, नेपालको प्राकृतिक सौन्दर्य, साहसिक खेल र जडीबुटीका क्षेत्रमा पनि दुई देशबीच सहकार्य गर्न सकिनेमा जोड दिए । चीनको महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ(बीआरआई)मार्फत पनि दुई देशबीच लगानीका विभिन्न क्षेत्रहरू उदाउने मन्त्री ज्ञवालीले उल्लेख गरे । उनले भने, ‘
नेपालमा लगानी वातावरण छ र आर्थिक उदारीकरणको नीति हामीले अख्तियार गरेका छौं ।’ उनले अगाडि थपे, ‘व्यापार विकासको इन्जिन हो र लगानी इन्जिनको मोटर ।’

चीन नेपालको असल मित्र

परराष्ट्रमन्त्री ज्ञवालीले चीन नेपालको असल र विश्वासिलो मित्र रहेको बताए, ‘भूकम्पका बेला चीनले गरेको सहयोगले चीन नेपालको साच्चिकैको विश्वासिलो मित्र भएको पुष्टि भयो । नेपाली जनता आवश्यक परेका बेला चीनको साथमा रहन्छन र अन्तर्राष्टिय फोरममा पनि नेपालले चीनलाई साथ दिन्छ ।’ नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप नगर्ने चीन नीतिको मन्त्री ज्ञवालीले प्रशंसा गरे, ‘भूगोल, जनसंख्या र विकासले देश-देशको सम्बन्धलाई निर्धारण गर्दैन । यो त सामूहिक सम्मान र समान सार्वभौमत्ताले निर्धारण गर्छ। 

चीन नेपालबीचको आपसी विश्वास, समान बुझाइ, आपसी सद्भाव, सहयोग र एकअर्काको चासोप्रति संवेदनशीलताले हामीबीचको सम्बन्ध पुष्टि गर्छ ।’ मन्त्री ज्ञवालीले नेपाली भूमिमा चीनविरुद्ध हुने कुनै पनि गतिविधि हुन नदिने बताउँदै एक चीन नीतिको पक्षमा नेपाल सदैव रहने प्रतिबद्धता दोहोर्‍याए । सन् १९५५ मा औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना हुनुभन्दा धेरै अघिदेखि नै नेपाल चीनबीच जनस्तरमा सम्बन्ध रहेको उनले उल्लेख गरे ।

आर्थिक समृद्धि केन्द्रमा

मन्त्री ज्ञवालीले नेपाल लामो संक्रमणपछि राजनीतिक स्थायित्वतर्फ आएको उल्लेख गर्दै अब सरकारले आर्थिक विकासलाई केन्द्रमा राखेको बताए । उनले सरकारले ‘समृद्ध नेपाल, खुसी नेपाली’को नीति लिएको भन्दै यसलाई केन्द्रमा राखेर काम गरिरहेको जानकारी दिए । सन् २०२२ सम्म अतिकम विकसित मुलुकबाट विकासशील मुलुक र २०३० सम्म मध्यम आय भएको मुलुक बन्ने नेपालको लक्ष्य प्राप्तिका लागि स्पष्ट दृष्टिकोण र तीव्र गति आवश्यक रहेको ज्ञवालीले बताए । 

उनले भने, ‘नेपालको समृद्धि र विकासका लागि चीनको सहयोग आवश्यक हुन्छ । हामी चीनको समृद्धिबाट लाभ लिन चाहन्छौं ।’ चीनको पाँचदिने भ्रमणमा रहेका परराष्ट्रमन्त्री ज्ञवाली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल शनिबार स्वदेश फर्कनेछ । बुधबार मन्त्री ज्ञवालीले चीनका उपराष्ट्रपति र विदेशमन्त्रीसँग भेटवार्ता गरेका थिए । नेपालमा निर्वाचनपछि बनेको सकारका तर्फबाट यो नै पहिलो उच्चस्तरीय चीन भ्रमण हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.