फुटबल बचाउन खेलाडीको माग
काठमाडौं : अखिल नेपाल फुटबल संघको निर्वाचनको अवरोधका कारण फुटबलका सबै गतिविधि ठप्प भएको भन्दै फुटबल खेलाडीले चिन्ता व्यक्त गरेको छ । अखिल नेपाल फुटबल खेलाडी संघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एन्फाको निर्वाचनका कारण ए डिभिजन लिगलगायत नेपाली फुटबलका सम्पूर्ण गतिविधि रोकिएमा खेलाडीले आपत्ति प्रकट गरेका हुन् ।
‘ए डिभिजन लिग तीन वर्षदेखि रोकिएका कारण फुटबलका अधिकांश खेलाडी पलायन हुने अवस्था छ । केही क्लबले मात्र खेलाडीलाई ५ देखि ६ महिना मात्र अनुबन्ध गरेकोले खेलाडी फुटबल छाड्न बाध्य भएका छन् । हामी एन्फाको गतिरोध अन्य गरी फुटबललाई सुचारु गर्न चाहन्छौं,’ संघका उपाध्यक्ष एवं नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जनले भने । उनले लिग नहुँदा विभागीय टोली बाहेक अन्य क्लबमा खेलाडी हराउने अवस्था आएको बताए । एन्फाले निर्वाचनको बहानामा फुटबलका गतिविधिलाई ठप्प गरेकोले राष्ट्रिय टोलीको प्रदर्शनमा समेत असर परेको महर्जनको भनाइ थियो ।
यसैगरी पूर्वकप्तान हरि खड्काले फुटबलमा व्यक्ति हठका कारण निर्वाचन रोकिएको र विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले समेत नेपाली फुटबललाई प्रतिबन्ध गर्न सक्ने अवस्था सिर्जना भएको बताए । उनले फुटबललाई जोगाउन र खेलाडीको भविष्य सुनिश्चित गर्नका लागि आफूहरू जुनसुकै कदम चाल्न तयार रहेको बताए । संघका अध्यक्ष राजेश मानन्धरले फुटबलको गतिविधि शून्य हुँदा खेलाडी गोल्ड कपको भरका बाँच्न बाध्य भएको बताए । उनले घरेलु फुटबललाई चलायमान गराउन एन्फाको निर्वाचन छिटो हुनुपर्नेमा जोड दिए ।