निलम्बन फुकुवाको बाटोमा क्यान

निलम्बन फुकुवाको बाटोमा क्यान

काठमाडौं : नेपाली क्रिकेटको भविष्यसँग जोडिएको नेपाल क्रिकेट संघ (क्यान)को निर्वाचित समितिको बिहीबार राजधानीमा सम्पन्न विशेष साधारणसभाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्वारा प्रस्तावित क्यानको विधान जस्ताको त्यस्तै पारित गर्ने निर्णय गरेको छ । विशेष साधारणसभाले आईसीसीद्वारा प्रस्तावित विधान सर्वसम्मतिबाट हुबहु पारित गरेसँगै करिब दुई वर्षदेखि नेपाली क्रिकेटमाथि लाग्दै आएको निलम्बन फुकुवा हुने बाटो पनि खुलेको छ ।

निष्पक्ष निर्वाचन गर्न नसकेको र सरकारी हस्तक्षेप भएको कारण जनाउँदै आईसीसीले सन् २०१६ को अप्रिल २४ मा नेपाली क्रिकेटको नेतृत्वदायी निकाय क्यानलाई आफ्नो सदस्यताबाट निलम्बन गर्ने ‘अप्रिय’ निर्णय गरेको थियो । क्यानलाई निलम्बन गरे पनि आईसीसीले नेपाली राष्ट्रिय टोलीलाई भने आफ्नै व्यवस्थापनमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी गराउँदै आएको थियो ।

राष्ट्रिय टोलीलाई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नबाट रोक नलगाउने आईसीसीको ‘उदारता’का कारण नै नेपालले हालै जिम्बावेमा सम्पन्न एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पहिलोपटक ‘एकदिवसीय टोली’को मान्यता पक्का गरेको थियो । नेपालले ‘एकदिवसीय टोली’को मान्यता पाए पनि आईसीसीले क्यानमाथिको निलम्बन भने यथावत् राखेको थियो ।

‘नेपाली क्रिकेटको भविष्यलाई ध्यानमा राखी विशेष साधारणसभाले हदैसम्म लचिलो भएर प्रस्तावित विधानलाई जस्ताको त्यस्तै पारित गर्ने निर्णय गरेको छ’, निर्वाचित क्यानका महासचिव अशोकनाथ प्याकुरेलले अन्नपूर्णसँग भने, ‘विशेष साधारणसभाले सर्वसम्मतिले विधान पारित गरेसँगै बल आईसीसीको कोर्टमा पुगेको छ । हामीलाई विश्वास छ, अब चाँडै नेपाली क्रिकेटमाथिको निलम्बन फुकुवा हुनेछ ।’

विशेष साधारणसभामा ३७ जिल्ला र केन्द्रीय कार्यसमितिका १७ पदाधिकारी गरी ५४ जनाको सहभागिता रहेको थियो । विशेष साधारणसभामा प्रस्तावित विधानमा रहेका केही बुँदामा जिल्लाका प्रतिनिधिले चर्को आपत्ति जनाए पनि अन्ततः नेपाली क्रिकेटको भविष्यलाई ध्यानमा राखी विधान हुबहु पारित गर्ने निर्णय गरिएको जानकारी पनि महासचिव प्याकुरेलले दिए । विशेष साधारणसभाभन्दा दुई दिनअघि आईसीसीले क्यानमाथिको निलम्बन फुकुवा गर्न प्रस्तावित विधान हुबहु पारित हुनुपर्ने आशयसहित प्रेस विज्ञप्ति पनि जारी गरेको थियो ।

‘आईसीसी पनि विशेष साधारसभाबाट हुबहु विधान पारित होस् भन्ने चाहन्थ्यो, त्यसैले केही बुँदामा गहिरो असहमति रहँदारहँदै पनि ती असहमतिका बुँदालाई भविष्यका साधारणसभामा उठाउन सकिने सम्भावना रहेकाले अहिले हामीले नेपाली क्रिकेटमाथि लागेको निलम्बन फुकुवालाई नै आफ्नो लक्ष्य बनाउने निर्णय लिएका हौं’, प्याकुरेलले भने, ‘विशेष साधारणसभामा आईसीसीका प्रतिनिधि अमर सेखसमेत उपस्थिति रहनुभएकाले उहाँ पनि यसको साक्षी हुनुहुन्छ ।’

निर्वाचित क्यानका सचिव किरण राणाका अनुसार विशेष साधारणसभाका अधिकांश सहभागीले खासगरी प्रस्तावित विधानमा रहेको वर्तमान खेलाडीहरूलाई क्यानको सदस्यता दिने प्रावधानका विषयमा आपत्ति व्यक्त गरेका थिए । यसैगरी यसअघि भइसकेका विभिन्न जिल्लाको निर्वाचनलाई भविष्यमा कुनै पनि पक्षले विवादमा तान्ने प्रयास नगरोस् भन्ने विषयमा पनि जिल्लाका प्रतिनिधिहरूले प्रत्याभूति खोजेका थिए ।

हालसम्म ३९ मध्ये ३७ जिल्लामा क्यानको निर्वाचन सम्पन्न भइसकेको छ भने भक्तपुर र काठमाडौं जिल्लामा निर्वाचन हुन बाँकी छ । आईसीसीद्वारा प्रस्तावित विधान विशेष साधारणसभाबाट हुबहु पारित भइसकेकाले अब सोहीअनुसार आईसीसीका उपाध्यक्ष इमरान ख्वाजाको उपस्थितिमा गत जनवरीमा भएको सहमतिका आधारमा ‘मोनिटरिङ कमिटी’ गठन र निर्वाचनको प्रक्रिया अघि बढ्नेछ ।

पाँच सदस्यीय ‘मोनिटरिङ कमिटी’मा आईसीसीका तीन तथा राखेप र निर्वाचित क्यानबाट एक÷एकजना प्रतिनिधि रहनेछन् । ‘मोनिटरिङ कमिटीमा आईसीसीले मनोनीत गर्ने तीनैजना प्रतिनिधि बाहिरकै होऊन् भन्ने हाम्रो चाहना हो । यो विषयमा हामी आईसीसीसँग पनि कुरा गर्नेछौं, हाम्रो चाहना भनेको विवादलाई निकास दिने क्रममा भविष्यमा कसैको स्वार्थ नझल्कियोस् भन्ने हो’, राणा भन्छन् ।

‘मोनिटरिङ कमिटी’ले क्यानको बाँकी निर्वाचन प्रक्रिया अगाडि बढाउनेछ । तर, मोनिटरिङ कमिटीले जिल्लाको हकमा यसअघि सम्पन्न भइसकेकामध्ये विवाद देखिएको स्थानमा मात्रै पुनः निर्वाचन गराउने र त्यससँगै प्रदेश र केन्द्रको निर्वाचन प्रक्रियालाई अघि बढाई क्यानमा नयाँ नेतृत्व छनोट गर्नेछ । त्यसपछि आगामी जुलाईमा हुने आईसीसीको चुनावी साधारणसभाले नेपाली क्रिकेटमाथि लगाइएको निलम्बन फुकुवा गर्ने विश्वास लिइएको छ । आईसीसीले पनि आफूसँग भएको पूर्वसहमतिअनुरूप प्रक्रिया अगाडि बढे जुलाईको चुनावी साधारणसभाबाट निलम्बन फुकुवा गर्ने आश्वासन यसअघि नै दिइसकेको छ ।

क्यानको विशेष साधारणसभाले पारित गरेको यो विधान सन् २०१६ मा आईसीसीद्वारा गठित सल्लाहकार समितिले तयार पारेर हो । यो विधानलाई पारित गर्न यसअघि गत अगस्टमा पनि निर्वाचित क्यानको विशेष साधारणसभा बोलाइएको थियो । तर, उक्त साधारणसभाले विधानलाई हुबुहु पारित नगरी केही परिमार्जनसहित पारित गरेकाले आईसीसीले त्यसप्रति असहमति जनाएको थियो । त्यसैले सोही विधान पारित गर्न आईसीसीकै खर्चमा दोस्रोपटक निर्वाचित क्यानको विशेष साधारणसभा बोलाइएको हो ।

क्यानको विशेष साधारणसभा बिहीबार र शुक्रबार गरी दुई दिनसम्म चल्ने भनिए पनि प्रस्तावित विधान सर्वसम्मतिबाट पारित गर्दै पहिलो दिन नै सकिएको हो । यसअघि बिहीबार नै युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा सुनारले विशेष साधारणसभा उद्घाटन गरेका थिए।

 उद्घाटन कार्यक्रममा उनले नेपाली क्रिकेटभित्र देखिएको प्रतिकूलता चिर्न विशेष साधारणसभा सफल हुने विश्वास व्यक्त गरेका थिए । निर्वाचित क्यानका अध्यक्ष चतुरबहादुर चन्दको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, सहसचिव रामप्रसाद थपलिया, आईसीसीका प्रतिनिधि अमर सेख, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ लगायतको उपस्थिति थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.