जात्रामा प्रहरीमाथि ढुंगामुढा

जात्रामा प्रहरीमाथि ढुंगामुढा

भक्तपुर : आठ दिन नौ रात चल्ने भक्तपुरको बिस्केट जात्राको अन्तिम दिन बुधबार राति प्रहरीले सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने ११ जना पक्राउ गरेको छ । प्रहरीमाथि ढुंगामुढा गर्नुअघि बिस्केट जात्रामा ढुंगामुढा गर्नेको पहिचान गर्न राखिएको सीसीटीभी क्यामेरासमेत फुटाइएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरले प्रहरीमाथि ढुंगामुढा गर्ने र सीसीटीभी क्यामेरा फुटाउनेलाई सार्वजनिक मुद्दा दायर गर्ने भएको छ । प्रहरीले ढुंगामुढाको आरोपमा भक्तपुर नगरपालिका–२ का २२ बर्से विजय सुवाल र २६ बर्से सुमन कासुला, भक्तपुर नगरपालिका–१० का २३ बर्से मनिष माकजू र ३१ बर्से सुनिल गुरुङ तथा भक्तपुर नगरपालिका–३ नासमनाका ३८ बर्से सविन श्रेष्ठलाई पक्राउ गरेको हो ।

भक्तपुरको इताछेंका २६ बर्से सुरेन्द्र देशेमरु र १८ बर्से सशिस पञ्च, भक्तपुर–४ का १८ बर्से मनिष छुकां र सन्नी छुकां, २८ बर्से अर्जुन गपी र २२ बर्से लक्ष्मीप्रसाद दुवाललाई सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेको आरोपमा नियन्त्रणमा लिइएको हो ।

उनीहरूलाई भक्तपुर नगरपालिका–५ टौमढीमा प्रहरीमाथि ढुंगामुढा गरिरहेका बेला पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका इन्स्पेक्टर मदन केसीले जानकारी दिए । जात्राको अन्तिम दिन बुधबार भक्तपुरका दुई ठाउँमा तीनपल्ट ढुंगामुढा भएको थियो । टौमढीमा प्रहरीमाथि ढुंगामुढा हुनुअघि वंशगोपालमा दुईपल्ट जात्रालुबीच ढुंगामुढा भएको थियो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बिस्केट जात्राको क्रममा हातहतियार लिएर हिँड्ने र प्रहरीमाथि ढुंगामुढा गर्ने तथा सीसीटीभी क्यामरा फुटाउनेहरूमाथि सार्वजनिक मुद्दा लगाउने जानकारी दिए । बुधबार टौमढी क्षेत्रका तीन वटा सीसीटीभी फुटाइएको थियो । सीसीटीभी क्यामेरा फुटाइसकेपछि प्रहरीमाथि ढुंगामुढा गरिएको हो । उनले सीसीटीभी क्यामरा फुटाउनेको पहिचान भइसकेको समेत जानकारी दिए ।‘सीसीटीभीको फुटेज हेरेर क्यामेरा फुटाउने पाँच जनाको पहिचान भइसकेको छ’, प्रजिअ पोखरेलले भने, ‘उनीहरू र बिस्केट जात्रामा हतियार बोकेर हिँड्ने तीन जनामाथि सार्वजनिक मुद्दा चलाउँछौं ।’ उनले यस वर्ष अन्तिम दिनको छिटपुट घटनाबाहेक समग्रमा जात्रा शान्तिपूर्ण सम्पन्न भएको दाबी गरे । ‘अब आउँदा वर्षमा पनि बिस्केट जात्रालाई यस वर्षजस्तै शान्तिपूर्ण मनाउनुपर्छ’, उनले भने ।

गःहिटीबाट वंशगोपाल तान्ने क्रममा सर्वसाधारणका घरमा भैरवनाथको रथ ठोक्काउँदै जबरजस्ती लगेपछि जात्रालुबीच नै ढुंगा हानाहान भएको प्रहरीले बताएको छ । सर्वसाधारणको घरमा क्षति पु¥याउँदै टेलिफोन र केबल टेलिभिजनका तार चुँडाल्दा पनि भैरवनाथको रथ एकातिरमात्र तानिएको थियो । एकातिरमात्र जबर्जस्ती रथ तान्दा विगतमा पनि ढुंगा हानाहान हुने गरेको थियो । यस वर्ष ढुंगा हानाहान भए पनि कुनै पनि जात्रालु र सुरक्षाकर्मी घाइते नभएको प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

इन्स्पेक्टर केसीले बुधबार हातहतियार बोकेर हिँड्ने दुईजना युवालाई नियन्त्रण लिइएको जानकारी दिए । उनका अनुसार दुवैलाई भैरवनाथको रथ तान्नुअघि टौमढीबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–५ सुकुलढोका बस्ने १८ बर्से साजन माक र सूर्यविनायक नगरपालिका–६ बस्ने १६ बर्से समन भेले छन् । प्रहरीले उनीहरूबाट खुकुरी र हातमा लगाउने औंठीजस्तो नोक बरामद गरेको छ ।

प्रहरीले जात्राको पहिलो दिन चैत २७ गते पनि एक युवालाई हतियारसहित पक्राउ गरेको थियो । भक्तपुर नगरपालिका–४ बस्ने २४ बर्से राजन भेलेलाई हातमा धारिलो चुप्पी लिई जात्रामा अशान्ति पु¥याइरहेको अवस्थामा पक्राउ गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.