म्युजिक ‘रोलिङ स्टोन्स’ को ५५ वर्ष
‘रोलिङ स्टोन्स’ विशेषत ‘लाइभ पर्फमेन्स’बाट चर्चित छ। यो म्युजिकल ब्यान्ड समयसमयमा विश्वको विभिन्न कुना पुग्छ र संगीतप्रेमीहरूलाई झुमाउँछ। अमेरिका, बेलायत, अस्ट्रेलिया, युरोप तथा एसियाका विभिन्न देशमा पुगेर उसले ‘कन्सर्ट’ गरिसकेको छ।
बेलायतमा त उनीहरूले ब्यान्ड स्थापना भएदेखि नै कन्सर्ट गरिरहेका थिए। १२ जुलाई १९६२ का दिन पहिलो पटक ‘माक्र्वी क्लब’मा आफूलाई प्रदर्शन गरेका थियो, स्टोन्सले। आफ्नो देशभन्दा बाहिर भने उनीहरूले पहिलो पटक सन् १९६४ मा लाइभ पर्फमेन्स दिएका थिए, अमेरिकामा। त्यहाँ उनीहरूले सान बेर्नारडिनो, क्यालिफोर्नियाजस्ता ठाउँहरूमा कन्सर्ट गरेका थिए। यही मौका पारेर अमेरिकाको ‘चेस स्टुडियो’ र ‘हलिउड आरसीए स्टुडियो’ मा केही गीत रेकर्डसमेत गर्न भ्याए, उनीहरूले। अमेरिकाको लाइभ पर्फमेन्स सकेर यो टोली युरोपतिर हिँडेको थियो, त्यतिबेला।
विभिन्न देश घुमेर ब्यान्डले मनोरञ्जन दिइरह्यो। लाइभ कार्यक्रमहरूमा दर्शक झुमिरहे। जब १९६६ मा ‘विटल्स’ले लाइभ पर्फमेन्स गर्न छाड्यो। त्यसपछि त रोलिङ स्टोन्सलाई विश्वभरि पर्फमेन्स गर्दै हिँड्ने सबैभन्दा ठूलो ब्यान्डको रूपमा चिन्न थालियो। हुन पनि त्यतिबेला लाइभ पर्फमेन्स गर्दै हिँड्ने ब्यान्डहरू कम थिए।
अहिलेसम्म आइपुग्दा पनि रोलिङ स्टोन्स लाइभ पर्फमेन्सका लागि चर्चित छ। ब्यान्ड स्थापना भएयता उसले दुई हजारभन्दा बढी कन्सर्ट गरिसकेको बताइन्छ। त्यसमध्ये सन् २००६ मा ब्राजिलको रियो दि जेनेरियोमा गरिएको पर्फमेन्स निकै ठूलो थियो। यसलाई रोलिङ स्टोन्स आफैले पनि सबैभन्दा ठूलो कन्सर्ट मान्दै आएको छ।
ब्यान्डको सुरुवात ब्रायन जोन्स, मिक जागर, किथ रिचाड्र्स, विल विम्यान, चार्ली वाट्स, लान स्टेवाट जस्ता म्युजिसियनहरूले गरेका थिए। सन् १९६२ मा स्थापना गरेपछि ब्यान्डले सांगीतिक कार्यक्रम गर्न थाल्यो। लाइभ पर्फमेन्सहरू गर्न थाल्यो। गीत रेकर्ड गराउन थाल्यो।
स्थापना भएको केही महिनापछि बेलायतका स्थानीय व्यापारी जर्जियो गोमेल्स्कीले रोलिङ स्टोन्सलाई भाडामा लिए। उनले आफ्नो ‘क्रड्याडी क्लब’ मा उनीहरूलाई अनुबन्धित गरेका थिए, आठ महिनाका लागि। त्यसपछि स्टोन्सको चर्चा एकाएक बढ्न थाल्यो।
सन् १९६३ मा रोलिङ स्टोन्सले ‘विटल्स’लाई सहयोग गरिरहेका एन्ड्रयु वल्डहामलाई भेट्यो। वल्डहामले रोलिङ स्टोन्सलाई पूर्ण रूपमा सहयोग गर्ने भए। त्यसपछि एन्ड्रयुको सहयोगमा स्टोन्सले एकपछि अर्काे गीत रेकर्ड गरिरह्यो। त्यतिबेलाका ‘कम अन’ जस्ता गीतहरू निकै चर्चित पनि बने। स्टोन्सको विशेष ध्यान भने क्लबहरूमा थियो। क्लबमा गाएका गीतहरूले नै उनीहरूलाई चर्चामा ल्यायो भन्दा फरक पर्दैन।
मिडियामा रोलिङ स्टोन्सको खासै चर्चा थिएन। सन् १९६४ मार्चमा बेलायतको साप्ताहिक पत्रिका ‘मेलोडी मेकर’ ले ‘वुल्ड यु लेट योर सिस्टर गो विथ अ स्टोन’ शीर्षकमा रोलिङ स्टोन्सको बारेमा लेखे। त्यसपछि मिडियाहरूले रोलिङ स्टोन्सलाई पछ्याउन थाले। ब्यान्डको चर्चा बाक्लिन थाल्यो। ब्यान्डले थाहा पायो कि चर्चित हुन मिडियाको ठूलो भूमिका हुने रहेछ। त्यसपछि उनीहरू म्युजिकका साथसाथै मिडियालाई पनि ध्यान दिन थाले।
यसरी बेलायत र अमेरिकामा मात्र हैन, उनीहरूको चर्चा बाक्लिँदै थियो। १९६५ मा रिलिज गरिएको ‘(आई कान्ट गेन्ट नो) सेटिस्फ्याक्सन’ शीर्षकको गीत त धेरै श्रोताका लागि लोकप्रिय बन्यो। लगत्तै ल्याइएको ‘पेन्ट इट ब्ल्याक’ शीर्षकको अर्काे गीतले उनीहरूको चर्चा शिखरमा पुर्याइदियो। रोलिङ स्टोन्सको हैसियत बढ्दै गयो।
ब्यान्डका गीतहरू चर्चित भएसँगै रोलिङ स्टोन्सका म्युजिसियनहरू रकस्टार बनिसकेका थिए। त्यसमध्ये पनि जागर र रिचाड्र्स त म्युजिक क्षेत्रमा छुटाउनै नहुने नामको रूपमा स्थापित भइसकेका थिए। उनीहरू गीत पनि लेख्थे। यही क्षमता देखेरै रोलिङ स्टोन्सको लिडरसिप पनि उनीहरूलाई नै दिइएको थियो। ब्यान्डको स्थापना भने ब्रायन जोन्सले गरेका थिए।
जोन्स आफैंले निर्माण गरेको रोलिङ स्टोन्सलाई २ जुलाई १९६९ का दिन छाडे। ब्यान्ड छोड्नुको मुख्य कारण ड्रग एडिक्सन थियो। ड्रग्सकै कारण मानसिक समस्या पनि देखिएको थियो, उनमा। यसले टिमलाई पनि असर परेको थियो। पछि पोखरीमा डुबेर उनको मृत्यु भयो। ब्रायन जोन्सको मृत्यु भएको केही समयपछि रोलिङ स्टोन्सले लन्डनको ‘हाइड पार्क’मा कन्सर्ट गरेको थियो। त्यही कन्सर्टमा जागरले ब्रायनको सम्झनामा कवि पीवी सेलीको कविताको अंश सुनाउनुका साथै हजारौं पुतली उडाएका थिए। ब्रायनको मृत शरीर गाडिएको अर्को बिहान स्टोन्सले नयाँ गीत रिलिज गर्यो, ‘हङ्की टङ्क वमन’। हङ्की टङ्क वमन पनि तत्कालीन समयमा बेलायतको सबैभन्दा लोकप्रिय गीत बन्न पुग्यो।
जोन्समात्र हैन, टिमका अन्य साथीहरू रिचार्ड र जागर पनि ड्रग्स दुव्र्यसनमा नराम्ररी फँसेका थिए।
अहिले किथ रिचार्ड र मिक जागरलाई ब्यान्डको निकै सिर्जनशील म्युजिसियनको रूपमा लिइन्छ। मिक जागरलाई रोलिङ स्टोन्सको मुटु मानिन्छ भने किथ रिचार्डलाई यसको आधार मानिन्छ। रोलिङ स्टोन्सका गीत मन पराउनेहरू भन्छन्- मिक र किथले रोलिङ स्टोन्स धानिएको छ।
रोलिङ स्टोन्सका बारेमा एउटा चर्चित भनाइ छ- जब यो ब्यान्डले गीत गाउन थाल्छ, तपाई ननाची बस्नै सक्नुहुन्न।
ब्यान्डले गाएका ब्ल्याक, लेडी जेन, रुवी ट्युज्डेजस्ता गीतहरू एकदमै चर्चित छन्। ब्यान्डका एल्बमहरू पनि विश्वमा उत्तिकै रुचाइन्छ। एन्जाइ (१९७३), ‘इट्स वन्ली रक एन्ड रोल’ (१९७४), हट स्टफ’ (१९७६), ‘रेस्पेक्टेवल’ (१९७८) जस्ता गीतहरू बिक्रीका हिसाबले निकै अब्बल छन्। यो ब्यान्डले सन् २ डिसेम्बर २०१६ मा ‘ब्ल्यु एन्ड लोनसम’ एल्बम निकाल्यो। रिलिज भएको एक साताभित्रै सबैभन्दा धेरै बिक्ने एल्बमको सूचीमा दोस्रो स्थानमा पुगेको, थियो यो एल्बम। बिलबोर्ड २०० को सूचीमा यो चार स्थानमा परेको थियो। त्यस्तै १ डिसेम्बर २०१७ मा रोलिङ स्टोन्सले ‘अन एयर’ एल्बम रिलिज गर्यो।
ब्यान्डले पुराना गीतहरूलाई परिमार्जन पनि गरिरहेको छ। ‘लेट्स स्पेन्ड द नाइट टुगेदर’ (१९६७), ‘सिम्पेथी फर द डेभिल’ (१९६८), ‘हङ्की टङ्क ओमन’ (१९६९) जस्ता गीतहरूलाई ब्यान्डले परिमार्जन गरेर श्रोताहरूलाई नयाँ स्वाद पनि चखाइरहेको छ।
ब्यान्डमा अहिले चार सदस्य छन्- मिक जागर, किथ रिचार्ड, चार्ली वाट्स, रुनी वुड्स। सन् १९६२ मा ब्यान्ड स्थापना गर्दा ६ सदस्य थिए। केही म्युजिसियनले छाडे। नयाँनयाँ म्युजिसियनहरू थपिए। स्टेवार्ट एक वर्षभित्रै रोलिङ स्टोन्सबाट बाहिरिएका थिए। त्यस्तै, ब्यान्ड स्थापना भएको सात वर्षपछि जोन्स पनि ब्यान्डबाट टाढिएका थिए। सन् १९६९ मा मृत्यु हुनुभन्दा केही महिनाअघि मात्रै गिटारिस्ट जोन्सले ब्यान्ड छाडेका थिए। उनको सट्टामा मिक टेलरलाई टिममा भित्र्याइएको थियो। स्थापनाकालमै जोडिएका तीन जना मिक, किथ र चार्ली भने अहिलेसम्म ब्यान्डमै छन्।
रोलिङ स्टोन्सका चर्चित १० गीत
१. सिम्पेथी फर द डेभिल
२. पेन्ट इट ब्ल्याक
३. जिम सेल्टर
४. (आई कान्ट गेट नो) सेटिस्फ्याक्सन
५. यु कान्ट अल्वज गेट ह्वाट यु वान्ट
६. जम्पकिन्स ज्याक फ्ल्यास
७. ब्राउन सुगर
८. एन्जी
९. स्टार्ट मि अप
१०. वाइल्ड हर्सेस
म पनि फ्यान
तपाईं कहिलेदेखि सुन्न थाल्नु भयो ‘रोलिङ स्टोन्स’का गीतहरू ? कसरी थाहा पाउनुभयो यसका बारेमा ?
मैले सन् साठीको दशकको अन्त्यतिरदेखि सुन्न थालेको हुँ। काठमाडौंमा हिप्पी युवाहरूले ल्याएका सीडी अनि पिस्कोर र यिनै युवकले ल्याएका साना फिल्महरू हेरेपछि रोलिङ स्टोन्सको प्mयान भएको हुँ। उनीहरूको विषयमा लेख र चर्चाहरू पनि आइरहेका थिए। रोलिङ स्टोन्स नामको किताबको आकारको पत्रिका पनि आउँथ्यो। ‘स्पिरिट् क्याचर’ भन्ने उनीहरूले नै खोलेको सेकेन्डह्यान्ड किताब झोंछेको किताब पसलबाट मैले उनीहरू बारेको किनेर पढेँ। त्यसो त अरू गायकहरूलाई पनि सुन्यौं र प्mयान भयौं।
ब्यान्डमा रहेका सबैभन्दा मन पर्ने गायक को हुन् ?
मलाई सबैभन्दा मन पर्ने मिक जागर हुन्। उनको सम्पूर्ण देह, गितार, स्वर र उमेर र समयलाई चुनौती दिने उनको प्रस्तुति मैले सधैं मन पराएर आएको हुँ।
नेपालमा ब्यान्डका गीतहरू कत्तिको सुनिन्छन् ?
सुनिन्छन्, अहिले पनि। घरैमा प्रोग्रेसिभ्रक गायक गिरीश सुवेदीबाट पछिल्लो समयका रक गायकहरूमाझ रोलिङ स्टोन्स कति प्रिय छन् भन्ने थाहा पाउँछु। गिरीशको भनाइमा रोलिङ स्टोन्स अहिले पनि ऊर्जावान् छन्।
अन्य ब्यान्डभन्दा यो के मानेमा फरक छ ?
भनिहालेँ यो ब्यान्ड प्रस्तुतिको हिसाबले ऊर्जावान् छ। तर, यो ब्यान्ड १९६२ मा लन्डनमा स्थापना भयो। त्यसयता कतिले छाडे, कति बसिरहे। तर यो ब्यान्ड फरक हुने कारण यसको नैरन्तर्य र शाश्वत अपिल हो।
‘लाइभ पर्फमेन्स’मा नहिँडेको भए यो ब्यान्ड यत्तिको चर्चित बन्थ्यो ? ब्यान्डलाई लाइभ पर्फमेन्सको कत्तिको जरुरी पर्छ ?
लाइभ पर्पmमेन्स यिनीहरूको उत्पत्तिको कथा हो। तर त्यो बेला निस्केका रक ब्यान्ड वा व्यक्तिगत गायन गर्नेहरू सबैको सामथ्र्य भनेको लाइभ पर्फर्मेन्स हो। त्यो बेलाको संस्कृति नै यही थियो। रेकर्ड बिक्री हुनेमा त्यो एउटा आधार थियो। अर्को कुरा त्यो बेला यस्ता गायक र ब्यान्डहरूले लाइभ पर्फमेन्स दिनु भनेको एउटा मिसन थियो, साधारण प्रचारमात्र थिएन। रोलिङ स्टोन्स त्यसमा सबैभन्दा अगाडि रहेको हो।