फरक क्षमताका दिपेश

फरक क्षमताका दिपेश

सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको प्रशिक्षण केन्द्रमा आसन्न १८औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) लाई लक्षित गर्दै खेलाडीहरु प्रशिक्षणमा व्यस्त छन्। केन्द्रमा राष्ट्रिय टोलीका खेलाडीदेखि एसियाडका लागि छनोट भएका खेलाडीले नियमित प्रशिक्षण गर्दै आइरहेका छन्। कोही आगामी अगस्टमा इन्डोनेसियामा आयोजना हुने एसियाडको विशेष तयारी गरिरहेका छन् भने कोही नियमित प्रशिक्षणमा छन्। त्यही भीडमा अपाङ्गता भएका १०÷११ जना खेलाडीले पनि प्रशिक्षण लिइरहेका छन्। उनीहरुमध्ये कसैको एउटा त कसैको दुवै हात छैन। शारीरिक रुपमा अपाङ उनीहरु पारा तेक्वान्दो खेलाडी हुन्।

सपाङ राष्ट्रिय खेलाडी एसियाड र अर्को वर्ष नेपालमै आयोजना हुने भनिएको दक्षिण एसियाली खेलकुद (साग) का लागि तयारीमा व्यस्त रहँदा पारा खेलाडीले भने त्योभन्दा ठूलो प्रतियोगितालाई आफ्नो लक्ष्य बनाएका छन्। सन् २०२० मा जापानको राजधानी टोकियोमा आयोजना हुने ३२ औं गृष्मकालीन ओलम्पिकमा सहभागी हुने मात्र होइन, राष्ट्रका लागि ऐतिहासिक पदक भित्र्याउने तयारीमा छन्, पारा खेलाडी। नियमित प्रशिक्षणमा व्यस्त हुने तिनै खेलाडीमध्येका एक हुन्- दिपेश महत। जन्मँदै दुवै हात गुमाएका १३ वर्षीय दिपेश विगत तीन वर्षदेखि तेक्वान्दो सिक्दै छन्।

आमाबुवाको सपना

काठमाडौं स्वयम्भूमा बस्दै आएका छन्, दिपेश। त्यहाँको सनसाइन बोर्डिङ स्कुलमा कक्षा आठमा पढ्दैछन् उनी। लेख्ने दुवै हात छैन। तर खुट्टाले उनी राम्रो अक्षर लेख्न सक्छन्। पढाईमा पनि उनी अब्बल छन्। लजालु स्वभावका दिपेश आमा बुवाको सपना पूरा गर्न र राष्ट्रका लागि केही गर्न खेलकुदमा लागेको बताउँछन्। ‘मबाट आमाबुवाले धेरै सपना देख्नु भएको छ। ती सपना खेलकुदबाटै पूरा गर्छु,’ उनले भने।

काठमाडौंको चमतीमा २०६१ सालमा जन्मिएका दिपेश तेक्वान्दो खेल्न पाउँदा निकै खुसी छन्। भन्छन्, ‘पहिले साथीहरुले खेलेको हेरेर मात्रै बस्थें। अहिले आफै खेल्न पाउँदा खुसी लागेको छ।’

यसरी बाटो फेरियो

साथीसँग स्वयम्भू घुम्न जाँदा ह्विलचेयरमा बसेका एक व्यक्तिले दिपेशलाई भेटे। उनले दिपेशसँग सामान्य सोधखोज गरेपछि तेक्वान्दो खेल्न सुझाव दिए। उनलाई खेलकुदमा लाग्न प्रोत्साहित गर्ने व्यक्ति ह्विलचेयरका तेक्वान्दो खेलाडी राजु कट्वाल थिए। १० वर्षे जनयुद्धमा स्पाइनल कर्ड गुमाएका कट्वाललगायतका आर्मीका खेलाडीलाई पनि प्रशिक्षक कल्याण कुँवरले तेक्वान्दो सिकाउथे। कल्याण खेलाडीको खोजीमा रहेको थाहा पाएपछि कट्वालले दिपेशका बारेमा उनलाई बताए। त्यसपछि उनीहरु दुवै दिपेशलाई खोज्न थाले। तीन महिनासम्म खोज्दा पनि उनी भेटिएनन्।

दुवै हात नहुँदा शरीरलाई ब्यालेन्स राख्न गाह्रो हुने भए पनि दिपेशलाई त्यो समस्या छैन। शरीरलाई ब्यालेन्स राख्न सकेकै कारण उनले माथिसम्म ‘किक’ हान्न र ‘स्पाइरिङ’ गर्न सक्छन्।

एक दिन तिनै राजुले दिपेशलाई फेरि भेटे। दिपेशको घरमै पुगेर आमाबुवासँग कुरा गरे। छोराको भविष्य राम्रो हुन्छ भने किन नखेलाउने भनेर उनीहरु पनि छोरालाई खेलाउन राजी भए। त्यसपछि कल्याणले हरेक दिन दिपेशलाई ट्रेनिङका लागि घरबाटै मोटरसाइकलमा सातदोबाटो लैजाने र ल्याउन थाले। कल्याणले नभ्याउँदा अर्का प्रशिक्षक कविराज नेगी लामाले त्यो काम गर्छन्। उनी दिपेशलगायतलाई प्रशिक्षण पनि दिन्छन्।

बहिनीको सहयोगले सहज

दुवै हात नभएका कारण दिपेशले दैनिक नित्य कर्ममै धेरै समस्या बेहोर्नु पर्छ। उनका धेरैजसो काममा बहिनी दीपाले सहयोग गर्छिन्। उनकै स्कुलमा कक्षा ६ मा पढ्ने बहिनीले मुख धोइदिने, भात पस्केर खुवाइदिने, जुत्तामा पालिस गर्ने, मोजा र टाई लगाइदिने, पानी खुवाइदिने गर्छिन्। त्यही भएर उनी बहिनीलाई निकै माया गर्छन्। दिपेशले खुट्टाले खान भने सक्छन्। उनी खुट्टाले नै मोवाइल चलाएर फेसबुकमा साथीसँग च्याट पनि गर्छन्। घरमा आफैले खाने गरे पनि बाहिर भने खुवाउन गुरु तथा साथीले सहयोग गर्ने गरेको उनी बताउँछन्।


दिसापिसावमा समस्या

घरमा धेरै काममा बहिनीले सहयोग गरे पनि दिपेशलाई दिसापिसाव गर्न निकै समस्या बेहोर्नुपर्छ। त्यसैले उनी संधै ट्राउजर मात्र लगाउँछन्। चाहे स्कुल जाँदा होस् या अन्त घुम्न जाँदा उनी ट्राउजरमै हुन्छन्। ‘पाइन्ट लगाउँदा दिसापिसावका लागि खोल्न सक्तिनँ। ट्राउजर भने खुट्टाले पछाडिबाट खोल्न सक्छु। त्यही भएर संधै ट्राउजर मात्रै लगाउँछ,’ दिपेशले आफ्ना समस्या सुनाउँदै भने।

उमेर कम भए पनि दिपेश परिपक्व देखिन्छन्। हाम्रा समाजमा अपाङ्गता भएका व्यक्तिलाई अहिले पनि हेयको दृष्टिले हेरिन्छ। दिपेश पनि पटकपटक यसको सिकार भएका छन्। धेरैले ‘विचरा’ भन्ने गरे पनि केहीले भने हेप्ने गर्छन्। ‘हामीले आफ्नो काम गर्ने हो, अरुले के-के कुरा गर्छन्, म त्यसको वास्ता गर्दिनँ,’ दिपेश भन्छन्।

छोटो समयमै खेलमा सुधार

पारा तेक्वान्दो प्रशिक्षक कल्याण कुँवर छोटो समयमै दिपेशले धेरै राम्रो प्रदर्शन गरिरहेको बताउँछन्। हातका कारण वामअप (दौड्न, पुसअप गर्न) समस्या भए पनि स्ट्यान्स र ब्यालेन्स भने उत्कृष्ट रहेको उनले बताए। दुवै हात नहुँदा शरीरलाई ब्यालेन्स राख्न गाह्रो हुने भए पनि दिपेशलाई त्यो समस्या छैन। शरीरलाई ब्यालेन्स राख्न सकेकै कारण उनले माथिसम्म ‘किक’ हान्न र ‘स्पाइरिङ’ गर्न सक्छन्।

सीएनएन हिरो पुष्पा बस्नेतले सञ्चालन गर्दै आएको ईसीडीसी डोजाङका खेलाडी दिपेशबाट अन्तर्राष्ट्रिय पदकको आशा गर्न सकिने प्रशिक्षक कल्याण बताउँछन्। ‘काठमाडौंमै आयोजना भएको काठमाडौं इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा दिपेशले रजत पदक जितेका थिए। पहिलो सहभागितामै उत्कृष्ट प्रदर्शन गरेकाले उसबाट आगामी दिनमा पनि पदकको आशा गर्न सकिन्छ,’ प्रशिक्षक कल्याण भन्छन्। दिपेशजस्तै खेलाडीका लागि विश्व तेक्वान्दो संघले छुट्टै विधा छुट्याएको छ। उनीहरुले के-४१ विधामा प्रतिस्पर्धा गर्दै आएका छन्।

हाफ ब्ल्याकबेल्ट खेलाडी दिपेश चाँडै नै ब्याकबेल्ट लिने तयारी गर्दैछन्। ग्रेडिङका लागि काता (क्योगोरी) गर्नुपर्छ। तर दिपेशजस्ता पारा खेलाडीको भने स्ट्यान्स र ब्यालेन्स हेरेर ग्रेडिङ गर्ने गरिएको अर्का प्रशिक्षक नेगीले बताए।

लक्ष्य २०२० पारा ओलम्पिक

कल्याण पारा तेक्वान्दो खेलका एक्ला प्रशिक्षक हुन्। सन् २०१४ मा पारा तेक्वान्दोको मास्टर्स कोर्ष पूरा गरेका कुँवरले २०७० सालदेखि पारा तेक्वान्दो प्रशिक्षणमा हात हालेका हुन्। स्वयंमसेवक रुपमा काम गर्दैै आएका उनले विभिन्न स्थानमा पुगेर खेलाडी खोज्नेदेखि उनीहरुलाई नियमित प्रशिक्षण दिँदै आएका छन्। अहिले ११ जनालाई प्रशिक्षण दिँदै आएका प्रशिक्षक कल्याण र सम्पूर्ण खेलाडीको एउटै लक्ष्य छ-२०२० को पारा ओलम्पिक। गृष्मकालिन ओलम्पिक सम्पन्न भएको एक महिनापछि सुरु हुने यही ओलम्पिकमा मुलुकका लागि ऐतिहासिक पदक भित्र्याउन उनीहरु हरदिन पसिना बगाइरहेका छन्।

‘सपाङ्ग खेलाडीको ओलम्पिकबाट पदकको आशा गर्नु हाम्रा लागि निकै टाढाको कुरा हो तर पारा ओलम्पिकबाट हामीले निकै ठूलो आशा राखेका छौं। हाम्रा खेलाडीले वल्र्ड च्याम्पियनसिपलगायत थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितिसकेकाले पारा ओलम्पिकमा पनि पदकको आशा राखेका हौं’ प्रशिक्षक कल्याण भन्छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.