जहाँ पितृ पनि मदिरामा रम्छन्
आज चोकमा छिमेकी भाइको बिहे छ।बिहेसँगै भोजको निम्तो, अनि निम्तोसँगै कडक अय्लाःको चुस्की। मंगलमान ठाट्टिएर बिहेभोजतिर लागे। बेलुकी साढे पाँच बजे बिहेघर पुगे। चोकलाई वरिपरि पालले ढाकिएको थियो। भित्र भने भ्वय ९भोज० को मगमग बासना चलिरहेको थियो।
एकैछिनमा सुकुभ्वय ९सुकुलभोज० खान आउनेको लर्को चल्यो। हात धोइदिन एकजना दिदी पित्तलको बाटा र अम्खरामा पानी लिएर आइन्। अर्को दाइले लप्टे 'टपरी' बाँड्दै आए। लगत्तै सलीँ 'रक्सी राख्न माटोको सानो बटुका' पनि बाँडियो। त्यसपछि चिउरा, तरकारी, गेडागुडी, मासु सबै लहरै आयो। अब मंगलमानलाई एकै चीजको प्रतीक्षा थियो। त्यो हो भम्चा 'नयाँ दुलही' को। केही समयको प्रतीक्षापछि नयाँ दुलही तासको सारीमा सजिएर सासूसँगै झुल्किन्, हातमा भरिभराउ अय्लाःको अन्टी 'पित्तलको करुवा' बोकेर। सबैका आँखा उतै तेर्सिए।
गुठियारको एक लहरलाई सलीँमा अय्ला हाल्दै नयाँ दुलही मंगलमान भएसम्म आइपुगिन्। दुलहीले शिर निहुराउँदै अय्लाः तेला 'रक्सी राखुँ' रु को भाव देखाइन्। मंगलमानले जुठो हातले सलीँ अलि अगाडि सारिदिए। दुलहीले सलीँको भुइँ छुँदै अन्टीको टुटी आफ्नो कुमसम्म उचालेर सलीँमा अय्लाः भरिदिइन्। फिँजदार अय्लाः। न्हूँ भम्चाको अय्ला पिलाउने कुशलता देखेर मंगलमान मक्ख परे। एकै घुट्कोमा अय्ला पिउन खोजे तर साह्रै कडा, सकेनन्।
नेवार समुदायका हरेक भोजभतेरमा अय्लाःको चलन अनिवार्य जस्तै छ। त्यसमा पनि नयाँ दुलहीले आगन्तुक पाहुनालाई अन्टीबाट सलीँमा खन्याएको रक्सी नेवार समुदायमा नयाँ दुलहीको मान्यजनहरूसँग परिचय गराउने संस्कार हो।
नेवार समुदायमा अय्लाःसँग जोडिएका रोचक संस्कारहरू छन्। जस्तै घरमा कोही पाहुना आउँदा चियाभन्दा पहिले अय्ला अफर गरिन्छ।अय्लाः र अन्डा दिएर पाहुनाको सत्कार गरिन्छ। आजभोलि पाहुना रक्सी हत्तपत्त खाँदैनन् तर अय्लाः अनिवार्य रूपमा नेवार परिवारको घरघरमा हुन्छ।
स्वर्गलोकका देवताहरूले 'सोमरस' सेवन गर्थे। इसाई धर्मका प्रवर्तक येशु ख्रिष्ट पनि वाइनका पारखी थिए। येशु धर्मालम्बीहरूले येशुलाई वाइन नै चढाउने गर्छन्। धेरै धर्म संस्कृतिमा आफूलाई जे मीठो लाग्छ, पितृलाई त्यही चढाउने चलन छ।
अय्लाः विशेषतः नेवारी महिलाले नै बनाउँछन्। पाहुनालाई सत्कार गर्नुका साथै बिक्री गरेर केही पैसा कमाउन नेवार महिला अय्लाः बनाउथे। विवाहमा दाइजोको रूपमा अय्लाः बनाउने भाँडाकुँडा परिवारले दिन्थे। ४१ वर्षीय कृष्णमाया व्यञ्जनकार समयसमयमा च्यासलस्थित आफ्नै घरमा अय्लाः बनाउँछिन्। बेलाबेला भइरहने भोजभतेर र पाहुनाका लागि अय्लाः अनिवार्य बनाउनुपर्ने उनले बताइन्।
अय्लाः बनाउन खप्पिस व्यञ्जनकार कहिले कोदो त कहिले जौ, मकै, चामल र फलफूल प्रयोग गर्छिन्। 'मैले बनाएको अय्लाः गज्जबको हुन्छ।' उनी टुटेफुटेको नेपाली बोल्दै हाँस्छिन्। शताब्दी पुरानो विरासत उनी अझै धान्दैछिन्। ताइचिन चामल, मर्चा, सक्खर र सफा पानीको प्रयोग गर्दै उनी दिनभरि अय्लाः बनाउँछिन्। अय्लाः जाँड बनाएर बाँकी रहेको चामलको कटलाई उमालेर बनाइन्छ। उक्त कटलाई फोसीमा राख्ने, फोसीमाथि हासी 'प्वाल परेको माटोको घैँटो', त्यसमाथि डुबुली 'रक्सी जम्मा हुने भाँडो' र माथि पानी राख्ने भाँडो अर्थात् बाटाको प्रयोग गरिन्छ।
वेदमा उल्लेखित 'सोमरस' को अर्थ सायद मदिरा नै हुनुपर्छ। जसको सेवन स्वर्गलोकका देवताहरूले गर्थे। इसाई धर्मका प्रवर्तक येशु ख्रिष्ट पनि वाइनका पारखी थिए। येशु धर्मालम्बीहरूले येशुलाई वाइन नै चढाउने गर्छन्। धेरै धर्म संस्कृतिमा आफूलाई जे मीठो लाग्छ, पितृलाई त्यही चढाउने चलन छ। नेवारी समुदायमा पनि पितृकार्यमा अय्लाः अर्पण गरेर पूजा गरिन्छ। अर्थात् पितृ पनि मदिरामा रम्छन्।
अय्लाः नेवार समुदायमा सगुनमध्येको एक हो। नेवार संस्कारबारे जानकार सञ्चारकर्मी सुरेश किरण भन्छन्, ‘रक्सी, अन्डा, माछा, मासु, बारा नेवार समुदायको हरेक शुभकार्यमा सगुनको रूपमा प्रयोग हुन्छ। यो पञ्चतत्व हो।' तन्त्रप्रधान नेवार धर्मअनुसार पञ्च ‘म’कारको संस्कारमध्ये रक्सी, मांस—मासु, मीन—माछा, मुद्रा—बारा र मैथुन —अन्डा पञ्चतत्वलाई सगुन भनिन्छ।
वेदमा उल्लेखित 'सोमरस' को अर्थ सायद मदिरा नै हुनुपर्छ। जसको सेवन स्वर्गलोकका देवताहरूले गर्थे। इसाई धर्मका प्रवर्तक येशु ख्रिष्ट पनि वाइनका पारखी थिए।
यो पाँच तत्व काम, क्रोध, लोभ, मोह र अहंकारको प्रतीक हो। पाँच इन्द्रिय वशमा राख्न सके संसार जितिन्छ भन्ने धार्मिक मान्यता छ। सुरेश किरण मान्छन् कि अय्लाः मादकपदार्थ अन्तर्गत नै पर्छ तर यसको सांस्कृतिक महत्व निकै चाखलाग्दो छ।
कवि अभय श्रेष्ठ भन्छन् 'अय्लाः धेरै खाए विष र थोरै खाए औषधि हो।' अय्लाःलाई नेवारहरू वास अर्थात् औषधि पनि भन्छन्। श्रेष्ठ रक्सीमा पनि औषधीय गुण हुने बताउँछन्, जुन विज्ञानले प्रमाणित गरिसक्यो। अझै नेवारी अय्लाः त संस्कृतिको प्रारम्भदेखि नै बनाउन थालिएको हो। यसको प्रयोग दम, खोकी र बाथका बिरामीले पनि गर्ने उनी बताउँछन्।
अल्कोहल, मदिरा, रक्सी या अय्लाः जे भन्नुस्। यो पिउनुको मज्जा र यसले चढ्ने मात गज्जब छ। आलोचित बन्दै आएको मदिरा नेवारी समुदायमा भने बर्जित छैन। घरमै बनाइएको रक्सीलाई लामो समयसम्म सुरक्षित र त्यसको स्वादलाई बचाइराख्न पनि केही विधि अपनाइन्छ। जस्तै अय्लाः बनाइसकेपछि माटोको भाँडामा राखिन्छ, ताकि अन्य धातुका भाँडाबाट रासायनिक प्रतिक्रिया उत्पन्न नहोस् र अय्लाःको स्वादमा फरक नआओस्।
खाँदा पनि माटोको नै बटुका प्रयोग गरिन्छ। अय्लाः जति पुरानो भयो, त्यत्ति नै मीठो र कडा हुन्छ।अझै पनि यसका पारखीहरू कुन समयमा बनाएको अय्लाः हो, खाएरै पत्ता लगाउन सक्छन्। विशेषतः जाडो यामको पानीले बनेको अय्लाः मीठो हुने बताइन्छ।सीएनएनले गरेको एक सर्वेअनुसार विश्वका ५० उत्कृष्ट पेयपदार्थमध्ये नेवारी अय्लाः पनि पर्छ।