अात्मनिर्भर बन्दै दलित महिला
दार्चुला : वर्षौंदेखि चुलोचौको र घाँस दाउरामा सीमित दार्चुलाका दलित महिला लुगा सिलाएर आत्मनिर्भर बन्न सिलाइकटाइ सिकिरहेका छन्।जनचेतना अभाव र विभिन्न समस्याका कारण सानै उमेरमा विवाह गरेर पढाइ छोडेका महिलाले सिलाइकटाइबाटै आत्मनिर्भर बन्न सिलाइ सिकिरहेका छन्।घाँस दाउरा गर्दै जीवन जीउँदै आएका दार्चुलाका दलित महिला तथा युवती अहिले सिलाइ कटाइसम्बन्धी सीप आर्जन गरेर आत्मनिर्भरतिर बन्न खोज्दै छन्।
विगतदेखि समाजमा पछाडि परेका दलित समुदायका युवतीले सानै उमेरमा विवाह गरेर पढाइ छोड्ने गरेका छन्। बेरोजगारी, अशिक्षाका कारण उनीहरुले अहिलेसम्म समाजमा अगाडि बढ्न नसकेको अवस्था छ। तर अहिले विभिन्न संघसंस्था तथा कार्यालयको सहयोग पाउन थालेपछि उनीहरु स्वरोजगारबाटो रोज्न थालेका हुन्।
जिल्ला घरेलु तथा उद्योग विकास कार्यालयको दलित लक्षित वार्षिक कार्यक्रम भगत सर्भिस सीप विकास प्रवर्द्धन कार्यक्रमको आयोजनामा सञ्चालित सिलाइकटाइ तालीममा उनीहरु व्यस्त छन्।
सानै उमेरमा विवाह गरेर १० कक्षामै पढाइ छोडेकी महाकाली नगरपालीका ४ बंगाबगडका कलावति पार्कीको दुई बच्चासहित ४ जनाको परिवार छ। तर परिवारमा कमाउने कोहि नभए पछि उनको रोजाइमा सिलाइकटाइ परेको हो।सिलाइ सिकेर यसैलाई व्यवसाय बनाउने उनको उठोट छ।
महाकाली नगरपालिका ८ धापका १९ वर्षीय कमला लुहारले पनि कक्षा १० बाटै पढाइ छोडिन। सानै उमेरमा विवाह गरेका कारण उनले थुप्रै समस्यासँग पैठेजोरी खेल्नुपर्यो। अशिक्षा र गरिविका कारण दलित महिला पछि परेको भन्दै अब केही गर्ने दिन आएको उनले बताइन्। अरुसँग सहयोग माग्नुभन्दा पनि आफै स्वरोजगार एवं आत्मनिर्भर बन्ने उनको इच्छा छ।
फागुन ८ गतेदेखि सञ्चालित उक्त ३ महिने सिलाइकटाइ तालीममा महिला मात्रै हैन विद्यार्थी र युवतीले समेत सिलाइकटाइ सिकिरहेका छन्। कक्षा १२ मा अध्यनरत लक्ष्मी ओखेडाले सिलाइ सिकेर स्वरोजगार बन्ने उदेश्य लिएको बताइन्। दलित महिलाले परिवार समाजबाट सहयोग नपाउँदा पछि परेको उनीहरुको बुझाइ छ। आफैबाट सुरु गरेर समाज परिवर्तनको अभियानमा लाग्न सके देशकै मुहार फर्न सकिने तालिमका सहभागीले बताए।