झ्यालबाट छिरेको चितुवाले वृद्धालाई घाइते बनायो
बैतडीः तल्लोसोराड क्षेत्रको मेलौली नगरपालिकामा चितुवाको आक्रमणबाट एक महिला घाइते भएकी छिन् । घाइते हुनेमा मेलौली नगरपालिका–८ कोटिगाउँ जोगीझाडकी ६७ वर्षीया डिगरीदेवी विष्ट रहेकी जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
बिहीबार १ बजे घरमै सुतिरहेकी वृद्धालाई झ्यालबाट पसेको चितुवाले आक्रमण गरेको हो । घाइते डिगरीको टाउकोमा गम्भीर चोट रहेको छ । उनलाई उपचारका लागि उप–क्षेत्रीय अस्पताल डडेल्धुरा लगिएको प्रहरीले जनाएको छ ।
चितुवाले वि.सं. २०६८ साल यता तल्लोस्वराड क्षेत्रमा २३ जनाको ज्यान लिइसकेको छ । स्थानीय प्रशासनले धेरैपटक चितुवा मार्न तल्लोस्वराडमा प्रहरी र बनरक्षक पठाए पनि फेला पार्न सकेको छैन ।
गत फागुन १४ गते राति मेलौली नगरपालिका–९ रोकटाका डेढ वर्षीय बालक गणेशबहादुर चन्दलाई आफ्नै घरकै भुइँतले भान्छा कोठामा रहेका बेला चितुवाले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो ।