मुख्यमन्त्रीको घोषणाः प्रदेश २ मा अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान
जनकपुरधाम: जनकपुरमा शुक्रवारबाट तेस्रो दीपक गुप्ता मेमोरियल टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । क्रिकेट प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै यो प्रदेशका मुख्यमन्त्री मो. लालबाबु राउतले जनकपुरमा अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने घोषणा गरेका छन् ।
उनले यही प्रदेश सरकारले क्रिकेट मैदान बनाउने प्रतिवद्धता जनाए । क्रिकेट मैदान नहुँदा क्रिकेट खेलाडीहरुले समस्या भोग्न बाध्य भएकोतर्फ चिन्ता व्यक्त गरे । उनले क्रिकेट खेलकै लागि विशेष खेल मैदान जसरी पनि बनाउने बताए ।
कार्यक्रममा जनकपुर उप–महानगरपालिकाका मेयर लालकिशोर साहले यूवाहरुले अध्ययनसँगै खेल पनि खेल्न आवश्यक रहेका बताए । उनले स्वस्थ रहन पनि खेल खेल्नुपर्ने बताउँदै खेलकुदको विकासका लागि कार्ययोजना पेश गर्न खेलाडीहरुसँग अनुरोध गरे । उनले भने, ‘तपाईहरु कार्ययोजना पेश गर्नुस् । हामीले गर्न सक्ने हरेक खालको सहयोग गर्न तयार छौं ।’
क्रिकेट प्रतियोगिताका संयोजक सरोज मिश्रले खेलकुदका लागि स्टेडियम बनाउन प्रदेश सरकारसँग माग गरेका थिए । उनले १५ लाख रुपैया खर्चेर क्रिकेट पिच तयार पारेको बताउँदै यसको संरक्षण गर्न पनि उपमहानगरपालिका र प्रदेश सरकारसँग माग राखे । उनले स्टेडियम नहुँदा धनुषाले खेलाडी जन्माउन नसकेर लज्जित हुनु परेको गुनासो गरेका थिए ।