अतिक्रमणको चेपुवामा जितगढी

अतिक्रमणको चेपुवामा जितगढी

बुटवल : अंग्रेजलाई पराजित गरेको वीरताको प्रतीक जितगढी किल्लाको ९० प्रतिशत भाग अतिक्रमणमा परेको छ। दुई सय तीन वर्षअघि कर्णेल उजिरसिंह थापाको कमान्डले अंग्रेजलाई पराजित गरेपछि बुटवलको तिनाउ नदी किनारमा रहेको किल्लाको नाम जितगढी रहेको हो। दुई हजार फिटमा पूर्वपश्चिम फैलिएको किल्ला अहिले २ सय ५ फिटमा सीमित छ। विसं १८७१–०७२ मा भएका पटक–पटकका युद्धपछि गढीको पुनर्निर्माण गरिएको इतिहास छ। त्यसयता कुनै पनि निकायले त्यसमा चासो देखाएको छैन।

सरकारी निकायले किल्लाको संरक्षणमा ध्यान नदिएपछि सय वर्षअघिदेखि अतिक्रमण सुरु भएको बटौली संरक्षण समितिका अध्यक्ष रवीन्द्र गोपाल लाकौलले बताए। ‘किल्लामाथि सय वर्ष पुराना घर निर्माण भएका छन्। सुरुङका ढोका कहाँ पुगे पत्तो छैन’, लाकौलले भने। किल्लामा ५ वटा ब्लक रहेकामध्ये एक र आधामात्रै देखिने हालतमा छन्। नेपाली सेनाले प्रकाशित गरेको ‘नेपालका किल्ला’ भन्ने खोज पुस्तकमा जितगढीमा पाँच ब्लक रहेको बताइएको छ।

संरक्षणमा चासो नपु¥याउँदा दुई वटा ब्लक तिनाउले बगाएको छ भने बाँकी ब्लकमाथि घर निर्माण गरिएका छन्। जितगढी किल्लाको पहिलो पटक २०५० सालमा उत्खनन गरिएको थियो। उत्खनन गर्दा मणिमुकुन्द सेन दरबारतर्फ जाने सुरुङमार्ग रहेको आकलन गरिएको थियो। कतिपय ऐतिहासिक दस्तावेजमा समेत सुरुङको लम्बाइ, गहिराइ उल्लेख गरेको भेटिएका छन्। जितगढी संस्कृति संरक्षण अभियन्ता लाकौल बाल्यकालमा जितगडीको सुरुङको ढोका नजिकै खेलेको स्मरण गर्छन्। ‘हामी गुहे खोला छेउ सुरुङको ढोका नजिकै खेल्थ्यौ’, ७२ वर्षीया लाकौलले भने, ‘अहिले त्यहाँ होटल बनेका छन्।’

यो गढीको निर्माण कस्ले र कहिले बनाए भन्ने प्रमाण अझै फेला परेको छैन। पाल्पाका राजा प्रथम मुकुन्द सेन, विनायक सेन र अम्बर सेनमध्ये एकजनाले बनाएको अनुमान संस्कृतविद्को छ। अध्ययनकर्ता प्राडा टेकबहादुर श्रेष्ठ भन्छन्, ‘मानवनिर्मित सुरुङ रूपको किल्ला नेपालको पहिलो र उल्लेखनीय किल्ला प्रमाणित हुन्छ, तर यसको उत्खनन, पनर्निर्माण र जीर्णोद्वार आवश्यक छ।’

जितगढी बनोटबारे लन्डनको ब्रिटस लाइब्रेरीमा अध्ययन गरेका श्रेष्ठले किल्लाको पूर्वपश्चिम लम्बाइ १ हजार १ सय हात रहेको बताए। सो दस्तावेजमा ज्यामा हात भने दुई हजार उल्लेख गरिएको छ। तत्कालीन चलनचल्तीको भाषा लेखिएकाले अध्ययनपछि मात्रै तथ्य पत्ता लाग्ने उनले बताए। पुरातत्व विभागले ०५० पछि ०५४ र ०७२ मा गढी उत्खनन गरेको थियो। उत्खननमा किल्लाको भाग त्यहाँ निर्माण भएका मन्दिर तथा निजी घरमुनि परेको भेटिएपछि रोकिएको थियो। तर। पुरातत्व विभागले झारा टार्ने काम गरेको स्थानीयको आरोप छ। ऐतिहासिक र वीरताको प्रतीकका रूपमा लिइने जितगढी केही समयअघिसम्म गौचरन र खुला शौचालयजस्तो थियो। पछिल्लो समय स्थानीय सरकार र नेपाली सेनाले पनि संरक्षणमा चासो दिएका छन्।

बुटवल उपमहानगरपालिकाले हरेक वर्ष वैशाख ७ गते जितगढी उत्सव मनाउने निर्णय गरेको छ। ऐतिहासिक दस्तावेजका आधारमा विज्ञको टोलीले वैशाख ७ गतेलाई विजयको दिन रहेको टुंग्याएको संयोजक विमलबहादुर शाक्यले जानकारी दिए। बुटवल उपमहानगरका मेयर शिवराज सुवेदीले अतिक्रमित बस्ती हटाएर उत्खनन सुरु गरिने बताए। ‘यो विश्वभरका पर्यटक ल्याउन सकिने सम्भावना बोकेको क्षेत्र हो। त्यसैले स्थानीय सरकारले मुख्य प्राथमिकतामा राखेर यहाँको विकास गर्दै छ’, उनले भने।

बुटवलको जितगढी किल्लामा भएको विजयोत्सवको नाममा पाल्पामा सिन्दुर जात्रा चलिरहे पनि जितगढीमा भने कुनै उत्सव भएको थिएन। जितगढीदेखि मणिमुकुन्द सेन दरबारसम्मको क्षेत्रमा सुरुङ रहेको र त्यसको उत्खननलाई प्राथमिकतामा राख्ने स्थानीय सरकारले जनाएको छ। तोप, हतियार राख्ने स्थान, सैनिक हिँडने सुरुङ (आकाशतर्फ खाली भएको खाडल) रहेको विश्वास गरिएको छ।

संरक्षण अभियन्ता लाकौल किल्ला संरक्षणको जिम्मा नेपाली सेनालाई दिनुपर्ने बताउँछन्। तर, जितगढी किल्लाको सुरुङद्वार छेउमै भारतीय स्थायी सैनिक क्याम्प राख्ने निर्णय भएकोमा उनी खिन्न भएका छन्। ‘जसलाई नेपाली सेनाले पराजित ग¥यो, उही किल्लाको क्षेत्र ओगटेर भारतीय सेना बस्दै छ’, उनले भने। पुष्पकमल दाहाल नेतृत्वको सरकारको पालामा भारतीय सैनिक क्याम्पलाई जग्गा दिने निर्णय भएपछि आन्दोलन पनि भएको थियो।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.