सिँचाइ अभावमा खेत बाँझै
बैतडी : बैतडीका अधिकांश ठाउँमा गहुँ भिœयाउने चटारो सुरु भएको छ। तर, दशरथचन्द नगरपालिका १० तीरखडेनीका बासिन्दा भने बाँझो जमिन हेरेर बसेका छन्। गाउँमा सिँचाइ अभावमा गहुँ छर्न नपाएपछि किसानहरू जमिन बाँझो छोड्न बाध्य भएका हुन्। यो वर्ष आकाशे पानी समयमै नपर्दा खेत बाँझै रहेका हुन्। तीरखडेनीको पारिपट्टि भारतीय गाउँ हरियाली भए पनि नेपालतिरको भूमि भने सुक्खा जमिनको रूपमा परिणत भएको छ। ‘सिँचाइ सुविधा छैन, नजिकैबाट महाकाली नदी बगेको छ तर हाम्रा खेत बाँझै छन्।’ दशरथचन्द नगरपालिका १० तीरखडेनीका रामसिंह बुडालले भनिन्, ‘खडेरीका कारण खेत बाँझै छन्, परिवार कसरी पाल्ने चिन्ता छ।’
‘प्रगति भारतले ग¥यो क्याकी माण्नी रीस, मुखैनी महाकाली बग्दी मइ पानीकी तीस’ स्थानीय धाना बुडालले देउडा गीतमार्फत आफ्नो भनाइ राख्दै छेउमै महाकाली बगे पनि आफूहरूले खेत बाँझै छोड्नुपरेको बताइन्। उनले भनिन्, ‘आकाशे पानीको भरमा खेती गरिरहेका छौं। आकाशे पानी समयमै नपर्दा खेत बाँझै छोडेका छौं। हाम्रै पारिपट्टि भारतीय गाउँमा गहुँ भिœयाउने चटारो बढेको छ।’
सिँचाइको अभावमा महाकाली नदी किनारसँग जोडिएका तीरखडेनी र सिम्तडीका अधिकांश खेत बाँझै रहेका स्थानीय हरिना पन्तले बताइन्। उनले भनिन्, ‘सरकारले चाहे महाकालीबाट मोटर ल्याएर पनि सिँचाइ गर्न सकिने अवस्था थियो तर समस्या कसले बुुझ्ने, सिँचाइकै अभावमा धेरैले बसाइँ सरिसके पारिका भारतीयहरूले कति सुविधा पाएका छन्, तर हामीले भने आकाशतिर फर्केर बस्नुपरेको अवस्था छ।’
खेतीयोग्य जमिन सिँचाइ अभावमा बाँझै रहेपछि स्थानीयलाई भोकमरीको चिन्ता परेको छ। ‘गाउँका हुनेखाने परिवार सबै बसाइँ हिँडे। हामी गरिब गाउँमै बस्छौं, तीनखेती हुने ठाउँमा सिँचाइ अभावमा बर्खामा मात्रै खेती लगाउन बाध्य छौं।’ पार्वती बुडालले भनिन्, ‘स्थानीय सरकार, प्रदेश सरकार के–के भयो भन्छन्। जे भए पनि हाम्रा दुःख हामीसँगै छन्।
‘पारिका खेत हरिया र आफ्ना बाँझै रहँदा सरकार कहाँ गएको होला भन्ने लाग्छ। गाउँका किसानका समस्या बुझ्ने सरकार कहिले आउला ? भन्ने लाग्छ।’ स्थानीय पशुपति बुडालले भनिन्, ‘सीमा क्षेत्रबासीका पीडा सरकारले बुझ्नुपर्ने हो। हामीजस्तै भारतीय नागरिक विभिन्न सुविधा उपभोग गरिरहेका छन्। तर, हाम्रोमा सिँचाइ सुविधा पनि नहुँदा खेत बाँझै छोड्नुपरेको छ।’
‘चुनावका बेला नेताहरूले सबै समस्या समाधान गर्ने आश्वासन दिन्छन्। तर कहिले पनि पूरा गर्दैनन्।’ जयन्ती बुडालले भनिन्, ‘खेत बाँझै छन्। खानेपानीको समस्या उस्तै छ, हाम्रा लागि खोइ सरकार ? ’
सरकारले सीमा क्षेत्रबासीका पीडालाई समाधान गर्नुपर्ने स्थानीयको माग छ। ‘हामी भारतको सीमासँग जोडिएका बासिन्दा हौं। भारतीय सरकारले सीमा क्षेत्रका नागरिकलाई थप सुविधा दिएको छ। हामी समस्या नै समस्यामा छौं। हाम्रा समस्या समाधान गर्ने सरकार खोइ ? ’ स्थानीय तुलसी पन्तले भनिन्, ‘हाम्रा समस्या समाधान गर्ने सरकारको पर्खाइमा छौं। हामीले सीमामा सम्मानपूर्वक बाँच्न पाउने वातावरण हुनुप¥यो।’
बैतडीमा २० हजार ९ सय हेक्टर जमिनमा गहुँ खेती गरिन्छ। त्यसमध्ये १० हजार ५ सय हेक्टरमा मात्रै सिँचाइ पुगेको छ। सिँचाइ सुविधा नभएका ठाउँका अधिकांश खेतीयोग्य जमिन बाँझै छन्।
सिँचाइ अभावमा दशरथचन्द नगरपालिका १० तीरखडेनीको खेतीयोग्य जमिन