क्लब छाड्दै आर्सनलका सारथि

क्लब छाड्दै आर्सनलका सारथि

लन्डन : दुई दशकभन्दा लामो समयदेखि इङ्लिस प्रिमियर लिग क्लब आर्सनल समाल्दै आएका प्रशिक्षक आर्सने वेंगरले अन्तत: क्लबसँग सम्बन्ध विच्छेद गर्ने निर्णय लिएका छन् । जारी सिजनको घरेलु लिगको समाप्तिसँगै ६८ वर्षीय वेंगरले आर्सनल छाड्न लागेका हुन् । वेंगरले आर्सनल छाड्न लागेको समाचार सार्वजनिक हुनासाथ यसले विश्व क्लब फुटबलमा ठूलै चर्चा पायो । स्वाभाविक पनि हो, कुनै प्रशिक्षकले लगातार २२ वर्ष एउटै क्लब समाल्नु सामान्य विषय पक्कै होइन ।

फ्रान्सेली नागरिक वेंगरले आर्सनलसँगको सम्झौता सकिन एक वर्ष बाँकी रहे पनि त्यसअघि नै क्लब छाड्न लागेका हुन् । जारी सिजनको घरेलु लिगमा क्लबले गतिलो प्रदर्शन गर्न नसकेपछि उनी आफ्नै क्लबका समर्थक र पूर्वखेलाडीहरूबाट आलोचित बन्दै आएका थिए । जारी सिजनको घरेलु लिगमा केवल पाँच खेल खेल्न बाँकी रहँदा आर्सनल ५४ अंकसहित तालिकाको छैटौं स्थानमा आसीन छ ।

आर्सनल आगामी सिजनको च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना पनि निकै कम छ । अघिल्लो सिजन पनि आर्सनल च्याम्पियन्स लिगमा छनोट हुन असफल भएको थियो । वेंगरले आफ्नो लामो आर्सनल बसाइमा क्लबलाई केवल तीनवटा घरेलु लिगको उपाधि चुमाएका छन् । यसैगरी उनले हालसम्म आर्सनललाई सातपटक एफए कपको उपाधि जिताएका छन् । सन् १९९८ र सन् २००२ मा भने उनले क्लबलाई दोहोरो उपाधि दिलाएका थिए ।

‘लामो समयसम्म मलाई विश्वास गरेकोमा क्लबप्रति म आभारी छु’, प्रशिक्षक वेंगरले भनेका छन्, ‘आर्सनल बसाइ मेरो मानसपटलमा सधैं जीवन्त रहनेछ । क्लबमा रहँदा मैले सधैं इमानदार र प्रतिबद्ध भएर आफ्नो जिम्मेवारी निर्वाह गरेको छु ।’ आर्सनलले पनि वेंगरले क्लब छाड्न लागेको समाचारको पुष्टि गरेको छ । आर्सनलले छिट्टै नै वेंगरको उत्तराधिकारीको टुंगो लगाउने पनि जनाएको छ।

‘आर्सनलका लागि यो निकै कठिन क्षण हो’, वेंगरले क्लब छाड्ने विषयमा आफ्नो प्रतिक्रिया दिँदै आर्सनलका सबैभन्दा ठूला सेयर होल्डर स्टान क्रोन्कले भनेका छन्, ‘क्लबको हरेक आरोह अवरोहमा उनी (वेंगर) हाम्रो साथमा रहे, वेंगरले आर्सनललाई मात्र होइन, सिंगो इङ्लिस फुटबललाई गुन लगाएका छन् ।’ वेंगर सन् १९९६ को अक्टोबर १ मा आर्सनलको प्रशिक्षक नियुक्त भएका थिए । उनी प्रिमियर लिग फुटबलमा सबैभन्दा लामो समयदेखि सक्रिय प्रशिक्षक हुन् ।

वेंगरको प्रशिक्षकत्वमा आर्सनलले हालसम्म आठ सय २३ खेल खेलेको छ । पछिल्ला दुई सिजनयता भने उनको प्रशिक्षकत्वमा आर्सनलले घरेलु लिगमा निराशाजनक प्रदर्शन गर्दै आएको छ । गत आइतबार खेलिएको खेलमा पनि आर्सनललाई न्युक्यासल युनाइटेडले २-१ गोलले हराएको थियो । यो सिजनको लिगमा आर्सनलले भोगेको यो ११औं हार हो ।

यो सिजन प्रिमियर लिगको उपाधि जितिसकेको म्यानचेस्टर सिटीभन्दा आर्सनल अहिले ३३ अंकले पछाडि छ । आर्सनलमा वेंगरको सुरुआती यात्रा भने निकै प्रभावशाली थियो । उनले आफू प्रशिक्षक भएर आएको अघिल्लो नौ वर्षको कार्यकालमै आर्सनललाई तीनवटा प्रिमियर लिग र चारवटा एफए कपको उपाधि दिलाएका थिए । उनी सन् २००३÷०४ सिजनको प्रिमियर लिगमा सन् १८८८÷८९ पछि क्लबलाई सबैभन्दा बढी खेलमा अपराजित राख्ने पहिलो प्रशिक्षक पनि बनेका थिए ।

तर, सन् २००५ को एफए कप जितेपछि भने उनको प्रशिक्षकत्वमा अर्को उपाधि चुम्न आर्सनलले करिब नौ वर्ष लामो प्रतीक्षा गर्नु प¥यो । सन् २००५ पछि एकैपटक सन् २०१४ मा आएर आर्सनलले एफए कपको उपाधि जित्न सक्यो । त्यति बेला आर्सनलले फाइनलमा हल सिटीलाई हराएको थियो । वेंगरको प्रशिक्षकत्वमा आर्सनलले अघिल्लो सिजनमा सातौंपटक एफए कपको उपाधि चुमेको थियो ।

सन् २००६ को च्याम्पियन्स लिगको फाइनलमा स्पेनिस क्लब बार्सिलोनासँग पराजित भएपछि भने युरोपियन क्लब फुटबलमा आर्सनलको ओरालो लाग्ने यात्रा सुरु भएको थियो । सन् २०१७ मा पनि आर्सनल च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएको थियो । त्यसअघि पनि लगातार ६ पटक आर्सनल च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलबाटै बाहिरिएको थियो । सन् २०१७ को च्याम्पियन्स लिगमा जर्मन ‘पावर हाउस’ बायर्न म्युनिखले आर्सनललाई १०-० कुल गोल भिन्नतामा हराएको थियो ।

वेंगरले जिम्मेवारी छाडेपछि जर्मन क्लब बोरुसिया डर्टमन्डका पूर्वप्रशिक्षक थोमस टुचेलले उक्त पद पाउनसक्ने सम्भावना छ । प्रशिक्षक थोमस लामो समयदेखि आर्सनलको सम्पर्कमा छन् । वेंगरले भने प्याट्रिक भियरा आफ्नो उत्तराधिकारीका लागि उपयुक्त पात्र हुनसक्ने सुझाव क्लबलाई दिएका छन् । तर, यस विषयमा आर्सनलले भने हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

आर्सनल र वेंगर

प्रशिक्षकमा नियुक्त : सन् १९९६

प्रशिक्षकको भूमिका : ८२३ खेल

जितेको खेल : ४७३

हारेको खेल : १५१

गोल गरेको : १५४९

घरेलु लिग उपाधि : ३

एफए कप उपाधि : ७


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.