राजनीतिमा प्रेम

राजनीतिमा प्रेम

सन् २०१६ को जुन २३ मा बेलायती जनताले जनमतसंग्रहमार्फत आफ्नो मुलुक ‘युरोपेली युनियन’ (ईयू)मा नरहने निधो गरे। अहिलेकै राजनीतिक वातावरण कायम रहिरह्यो वा अन्यथा भएन भने ‘लिस्वन सन्धि’को दफा ५० को विधिवत् कार्यान्वयनसँगै सन् २०१९ को मार्च २९ मा बेलायत र युरोपेली युनियनको सम्बन्ध सदाका लागि तोडिने छ। बेलायत झन्डै ४५ वर्ष लामो आफ्नो आबद्धताको इतिहासलाई उल्ट्याएर ‘ईयू’बाट बाहिरिने छ।

चर्चित उपन्यासकार अलि स्मिथद्वारा लिखित सातौं उपन्यास ‘अटम’ले विश्वमै तरंग निम्त्याएको बेलायतको पेचिलो र ऐतिहासिक राजनीतिक विकासलाई जस्ताको तस्तै समात्ने जमर्को गरेको छ। स्मिथको न्यारेटर सन् २०१६ को राजनीतिक उत्तारचढाव र त्यसको सामाजिक असरलाई देखाउने क्रममा उपन्यास उठानको समयलाई ‘अहिलेसम्मकै खराब’ समयको रूपमा चित्रित गर्छ। उसले कथा वाचनमा अग्रसरता देखाइरहँदा यो किताब दमदार हुनुका गुण पक्ष र मूल्य सारको भेउ पाठकले पाउँदै जान्छ। त्यसो त दमदार भन्नलाई एक मात्रै होइन, धेरै गुण छन्। अनि, थुप्रै उल्लेख गर्नलायक विशेषता हुने भइहाले। सन् २०१७ को ‘म्यान बुकर प्राइज’का लागि मनोनयनको अन्तिम सूचीमा परेको स्मिथको यो उपन्यास पुरस्कार जित्ने प्रतिस्पर्धी लेखक जर्ज सन्डर्सको ‘लिंकनइन द बार्डो’भन्दा कुनै कोणबाट पनि कमजोर छ भन्न नमिल्ला। पुरस्कार जित्नुसित किताबी गुणलाई निरपेक्ष भएर दाँज्नु बुद्धिमत्तापूर्ण पनि नहोला।

०००

साहित्य लेखनमा काजुओ इसिगुरो वा अलि स्मिथ, वाहिलारी मेन्टल, यी एकै छिमलका लेख्य चेत भएका होनहार प्रतिभाका रूपमा विश्व साहित्यले चिन्दै आएको छ। स्मिथको लेखनले बेलायती सांस्कृतिक उचाइलाई बढाउन धेरै योगदान गरेको छ। सन् १९६२ मा स्कटल्यान्डमा जन्मिएर क्याम्ब्रिज विश्वविद्यालयबाट अंगे्रजी साहित्यमा विद्यावारिधि लिने स्मिथको जादुयी लेखनले जोसुकैलाई पनि एकपटक झक्झकाउने हैसियत राख्छ। यसैको एक नमुना उनको ‘अटम’ हो, जसले मौसमी पतझडलाई संकेत गर्छ। तर, खास राजनीतिक आयामलाई औपन्यासिकीकरण गरेको छ।

बेलायत युरोपेली युनियनबाट अलग्गिने निधो गरिसकेपछिको समयमा लेखिएकाले स्मिथको आख्यानमा उही तहको राजनीतिक परिवर्तनको गन्ध आएको हुन सक्छ। पर्यावरणीय विम्बलाई च्याप्प समात्न सक्ने खुबीमात्रै भएकी होइनन् स्मिथ, चार ऋतुमध्ये एक शरदयामलाई विम्बात्मक रूपमा प्रयोग गरेर मुलुकको अर्थराजनीतिक रूपान्तरणको रेखो खिच्ने उनको लेख्य खुबी लरतरो लाग्दैन। उनले चयन गरेका पात्रद्वय एसिलावेथ र डेनियलको अनौठो लाग्ने प्रेमसम्बन्धको जरो स्मिथको कथा–शिल्पको जरो पहिल्याउन काफी छ। उपन्यासको थालनीमै पात्रले ‘खराब समयप्रति जनाउ घन्टी’ दिन्छन्। बहुस्तरीय राजनीतिक शासनको तहभित्रबाट एउटा महत्वपूर्ण खण्डलाई पक्डेर उनले कथा बुन्ने चर्खा बनाएकी हुन्। संख्यात्मक रूपमा थोरै उपन्यास लेखेकी भए पनि स्मिथका सबैजसो उपन्यास बलिया छन्।

लन्डन विश्वविद्यालयमा कला विषय अध्यापन गर्ने र उमेरको जम्मा ३२ वसन्त टेकेकी एलिसा वेथको १०१ नाघिसकेको डेनिय लग्लकसितको रोमान्टिक प्रेमसम्बन्ध मात्रै होइन यो उपन्यासको गुदो। समानान्तरीय रूपमा अघि बढ्ने इतिहास वाचनको पाटो पनि उत्तिकै महत्वपूर्ण हो। एलिसावेथ आठ वर्षकी हुँदा ‘पहिलो माया’ बसेको हुन्छ। माया बसेको त हुन्छ तर उसलाई थाहा हुँदैन त्यो माया नै थियो वा अरू केही। जे भए पनि आखिर उसको मनमा प्रौढ छिमेकी डेनियलको चित्र थियो। अनि, उसको आँखामा हरेक पल झल्किरहने डेनियलको झझल्को। जब आठको दोब्बर वर्षकी हुन्छे उसले यसपटक त सहजै भेउ पाउँछे कि डेनियलप्रतिको उसको भावना त माया पो रहेछ। उसलाई उक्त भावना बुझ्न ठ्याम्मै आठ वर्ष खर्चिनु पर्‍यो।

यसको प्रमुख मध्येको पात्र डेनियलले आफ्नो अतीत र वर्तमान अनि स्वर्ग र वास्तविक धरातलको वरिपरि आफ्नो मगज चलायमान बनाइरहँदा आर्थिक–राजनीतिक रूपले बहुचर्चित बनेको समकालीन समयको गर्तमा ऊ भासिइसकेको हुन्छ। त्यही भएर पनि उसले जोन किट्स सम्झन्छ, सम्झने मात्रै होइन। किट्सका गुण उसका आफ्ना अधिकांश गुणसित हुबहु मिलेको ठान्छ। ऊ मृत्युलाई नजिकैबाट नियाल्दै गरेको पात्र हो। यसबीच, स्मिथको पात्र चयनभन्दा अलि पल्तिर जाने हो भने समाजशास्त्रीय आँखाबाट सामाजिक यथार्थको पत्रपत्र केलाउन सक्ने उनको क्षमता नै बिछट्टै खालको हो। यही क्षमता हावी भएरै उपन्यासको वजनमा थप तौल बढेको होला। अनि, लागेको होला— उपन्यासका पाना अधैर्यका साथ उल्टाऊँ उल्टाऊँ जस्तो।

सन् २०१७ को ‘म्यान बुकर प्राइज’को मनोनयन सूचीमा परेको स्मिथको यस उपन्यास पुरस्कार जित्ने पुस्तक ‘लिंकन इन द बार्डो’भन्दा कम छैन।

सन् २०१७ को ‘म्यान बुकर प्राइज’को मनोनयन सूचीमा परेको स्मिथको यस उपन्यास पुरस्कार जित्ने पुस्तक ‘लिंकन इन द बार्डो’भन्दा कम छैन।

‘ब्रेग्जिट’ सवालमा लेखकका केही आग्रह हुन पनि सक्छन्, नहुन पनि। जे जस्तो भए पनि त्यसलाई एकै क्षण पन्छाउँदा एलिसावेथ र डेनियलको सघन प्रेममा राजनीतिक रोगन दल्नसक्ने स्मिथको खुबी कुनै तुलोमा राखेर तौलिन सकिने खालको वा कोहीसित दाँज्न सकिने खालको भने पटक्कै होइन। हुँदै होइन। स्मिथ समकालीन यथार्थमा अलिकति काल्पनिकी मिसाएर फरकफरक समय र पुस्ताका पात्रहरू छान्दै अति सामान्य कथा बुन्नसक्ने जादुयी लेख्य शिल्प भएकी उपन्यासकार हुन्। सायद बेलायती जनमतसंग्रह पछिको समय भएर हुनसक्छ बाटो हिँड्ने कसैको आँखामा निराशा र कसैको आँखामा विजयको झन्डा फहराइरहेको देख्छिन्। धेरैले सुस्केरा हाल्छन्। तर, ती सुस्केरा अब बेलायतको भविष्य कस्तो होला भन्ने भन्दा बढी लामो थकान मेटाउने माध्यम भएको जिकिर उनका पात्रले गर्छन्। उही मौसम, उही थलो र पात्र तर फरक इतिहास सहितको सामयिक पृष्ठभूमिमा लेखिएको छ। स्मिथको कथानकभन्दा बढी उनले प्रयोग गरेका नयाँनयाँ र फरक औजारले उपन्यासलाई थप बलियो बनाइदिएको हो कि जस्तो पनि नलाग्ने होइन।

स्याहार केन्द्रमा बसेको डेनियल एक्लै छ। उसको स्मृतिमा अतीत एकपछि अर्को गर्दै आउँछ र उसलाई लपेट्छ। स्मिथले चयन गरेका पउलिन बोटी, बेलायती कलाकार हो। उसैको सहयोगमा बेलायती राजनीतिक सांस्कृतिक पाटोसित सिंगो कथानकलाई जोड्न हरतरहको प्रयत्न गरेकी छन्। उपन्यासले यति धेरै त्यस्ता राजनीतिक सवाल उठाएको छ कि तिनको जवाफ खोज्नै पनि उच्चस्तरको राजनीतिक मन्थनले भ्याउँदैन। संकटमा परेको र अलिकति तंग्रिने आशा देखाएको राष्ट्रियता, फितलो बन्दै गरेको राजनीतिक तथा सांस्कृतिक पहिचान (पात्र एलिसावेथले एक प्रसंगमा आफ्नो पुरानो राहदानीले आफू को हँ भन्ने सवालको जवाफ दिन नसक्ने तर्क गर्छे)। त्यस्तै एकजना १९ वर्षे मोडल क्रिस्टिन केलर जसमार्फत सामाजिक लैंगिक अभ्यासलाई खुइल्याउने इच्छा लेखकको छ। राजनीतिक दल आबद्ध जोन प्रोफुमो राज्य दर्शन र सार्वजनिक नीतिको आलोचक हो। यस्ता पात्रको सहारामा स्मिथले बेलायती सामाजिक–आर्थिक आयामका पत्रलाई थप खुलाउन चाहेकी छन्।

खासमा उपन्यास ‘अटम’ बेलायतमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमले जन्माएको असर बीच फरक धारको प्रेमसम्बन्ध सितको समानान्तर कथा हो। यस उपन्यासलाई बेलायती राजनीतिक आख्यान लेखनको एउटा कोशेढुंगा नै पनि मान्न सकिएला। यो उपन्यासले बोकेको समय यति जटिल हो कि जोकोही आख्यानले सहजै बोक्नसक्ने खालको होइन। त्यसो त, प्राकृतिक वातावरण र राजनीतिक वातावरणलाई अन्तर्घुलन गराएर बेलायतको राजनीतिक इतिहासको एउटा कालखण्डलाई नै अभिलेखीकरण गर्नेतर्फ आख्यानलाई केन्द्रित गर्नु स्मिथका लागि भन्दा बढी समग्र बेलायती पाठकको मूल्यसित गाँसिएको कुरा हो। जुन अत्यन्तै विशिष्ट किसिमको लेख्य खुबी, राजनीतिक चेत अनि अभिव्यक्तिजन्य कला र सीप भएकाले मात्रै गर्नसक्ने काम हो।

सरसर्ती हेर्दा सन् ८० को दशकतिर बेलायती साहित्य लेखनको धारमा राजनीतिले अलि बढी नै प्रश्रय पाएको थियो। त्यसयता साहित्य लेखनको सामाजिक आर्थिक रंगलाई राजनीतिक रंगले उछिन्न खोजेको जस्तो पनि लाग्छ। अलि बढी सघनता, अनि अलि बढी प्राथमिकता पनि पाउन थालेको हो, राजनीतिक विकासक्रमले त्यसयता। यही धारलाई पछ्याउँदै २०१६ सम्म आइपुग्दा स्मिथले मूलधारको राजनीतिलाई खास आधार मानेर आख्यान रचिन्। यहाँ भन्नैपर्ने के पनि हो भने राजनीतिक रुपान्तरणकै केन्द्रमा रहेर आख्यान लेख्दा पनि पट्यारलाग्दो कत्ति पनि छैन। उनले राजनीतिको रोगन दलेर चलाखीपूर्ण तवरबाट प्रेमको चाखलाग्दो कथा बुनेकी छन्, जसले बेलायती साहित्य लेखनको धारलाई पुनर्बोध गरिदिएजस्तो लाग्छ। एकै हरफमा भन्ने हो भने यसले नयाँ राजनीतिक दर्शन र पुरानो सैद्धान्तिक प्रेमसम्बन्धलाई दाँजेर एक खालको समानान्तर उचाइ निर्माण गरिदिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.