किशोरी साहस

किशोरी साहस

उनी भर्खरै ६ वर्षकी भइन्। अरू बालिकाभन्दा फरक छिन्। आत्तिएको बेला उनी भगवान् सम्झँदै ‘गड सेभ मी’ भन्छिन्। पहिले उनी पनि अरू बालिकाझैं पुतली समात्न फूलको बगैंचामा कुद्थिन्। अरू बालिकाझैं नाच्थिन्। सबैसँग बोल्थिन्।

अचानक एउटा हुन्डरी आयो र उनको जीवन तहसनहस गरिदियो। साढे ४ वर्षकी हुँदा उनकै मामा पर्नेले बलात्कार गरे। यो घटनाले आमा विक्षिप्त भइन्। नावालिक छोरीलार्ई अढाई वर्ष अस्पतालमा राख्नुपर्‍यो। आमाले आफ्नै भाइलार्ई १० वर्ष जेल चलान गर्न सफल भए पनि पहिलेजस्तै छोरी फर्काउन सकिनन्।

केही महिनाअघि पर्साकी आठ वर्षकी बालिका बलात्कारको सिकार भइन्। अहिले बलात्कारी जेलमा छ। काठमाडौंको ग्रिन सिटी अस्पतालमा जब राम्रोसँग होश आयो तब उनले रक्षा नेपालमा काम गर्ने दुर्गालार्ई देखिन्। अस्पतालको बेडदेखि अहिलेसम्म पनि उनी दुर्गाको कुर्ताको एक छेउ समातेर हिँड्छिन्, अरू कसैलाई विश्वास गर्दिनन्। अरूझैं उफ्रिन खोज्छिन् तर उनको भित्रको घाउ अझै निको भएको छैन। डाक्टरले उनलाई धेरै चल्न नदिनू भनेको छ तर उनी ‘अब जितना दर्द था गया, मै नाचुंगी’ भन्दै खेल्न खोज्छिन्।

काभ्रे बेथानचोककी एक युवती। जब उनी १४ वर्षकी थिइन्, ५० वर्षको बूढोसँग बिहे गरियो। २४ की हुँदा बूढा ६० का भए। उनको एउटा छोरा पनि जन्मियो। उनको दैनिकी ६० वर्षको श्रीमान्लाई स्याहार्नु, बच्चा स्याहार्नु र गोठपात गर्नुमै बित्यो। उनकी आमाले केटा बूढो भए पनि सुरक्षित हुन्छे भनेर सानै उमेरमा विवाह गरिदिएका थिए। तर, आफ्नै देवरबाट पटकपटक बलात्कारमा समेत पर्नुपर्‍यो। पीडा बिसाउने ठाउँ कहीँ मिलेन।

एक १३ वर्षकी नाबालिका आमा। अहिले उनकी छोरी नौ महिनाकी भइन्। जब उनी छोरीलाई दूध चुसाएर आफ्नो छातीमा लगाउँछिन्, हातबाट छोरी खसेको पत्तै हुँदैन। उनी भन्छिन्, ‘यसको अनुहार त्योसँग मिल्छ। यसलाई समात्ने बित्तिकै पापीको अनुहार सम्झन्छु।’ बुवाआमा २०६३ सालको तराईको बाढीमा बगेर मरे। आफ्नै दाइबाट बलात्कारमा परिन्। पेटमा बच्चा बसेको उनलाई थाहा भएन। पेट बढ्दै गएपछि जब अरूले थाहा पाए, उनले बच्चा जन्माउनुबाहेक उपाय थिएन। अहिले न उनी राम्रोसँग आमा बन्न सकिरहेकी छन्, न त आफ्नो बालापनमा रमाउन सकिरहेकी छन्।

अचानक एउटा हुन्डरी आयो र उनको जीवन तहसनहस गरिदियो। साढे ४ वर्षकी हुँदा उनकै मामा पर्नेले बलात्कार गरे। यो घटनाले आमा विक्षिप्त भइन्। नावालिक छोरीलार्ई अढाई वर्ष अस्पतालमा राख्नुपर्‍यो।

म रक्षा नेपालले नयाँ वर्ष २०७५ को उपलक्ष्यमा आयोजना गरेको कार्यक्रममा थिएँ। त्यहाँ नौ महिनाकी नावालिकादेखि २१ वर्षसम्मकी युवतीहरूको यस्तैयस्तै मन कँुडिने कथा सुनेर मन बोझिलो भइरहेको थियो। उता उनीहरू नयाँ वर्षको उमंगमा संगीतको तालमा समाहित हुँदै भन्दै थिए, ‘अब कति दुख्छस् घाउ दुख। अहिले म नाच्छु। म नाच्छु।’ जब संगीतको तरंगले छोड्थ्यो। उनीहरूको खुसी सकिन्थ्यो र अर्को कुनामा टोलाएका देखिन्थे। यही बीचमा काभ्रे, मकवानपुर, सिन्धुपाल्चोक, ललितपुर र नुवाकोटबाट एक सय २५ जना बालिका, किशोरी र अपरिपक्व आमाहरूसमेत आएका थिए। उनीहरूका पनि आफ्नै पीडा थिए। हामीले हिंसा सहनु हुँदैन भन्ने अन्तरमनको द्वन्द्वसँग लडिरहेका थिए।

त्यो उत्सव बीचमा साना नानीहरू अरू नानीहरूको उत्तरदायित्व सम्हाल्दै आमाको भूमिकामा थिए। म सोचिरहेकी थिएँ, ‘आमा भनेको जीवनमा सबैभन्दा ठूलो कुरा हो, अझ नाबालकमै आमा हुनु सबैभन्दा अप्ठ्यारो पनि।’ रक्षा नेपालकी अध्यक्ष मेनुका थापालाई त्यहाँ बस्नेहरूले आमा सम्बोधन गर्दै पीडा सुनाइरहेका थिए। तिनका कुराले मसँगै गएकी सिर्जना योञ्जनका आँखाका डिलमा आँसु भरिइसकेका थिए। मैले पनि आँसु थाम्नै सकिनँ।

यही बीचमा अध्यक्ष थापाले मलाई शुभकामना मन्तव्य दिन अनुरोध गर्दा म झसंग भएँ। उनीहरूका कथामा यति शून्य भइसकेकी थिएँ कि मेरो बोली नै फुटेन। वास्तवमै ती साहसी छोरी र आमाहरूको बीचमा बोल्ने शब्द मसँग थिएन। म के शुभकामना दिन्थेँ ? उनीहरू आफैंमा एउटा मिसाइल थिए। एउटा किताब थिए। मात्र उनीहरूलाई दुई शब्दको शुभकामनासम्म भन्न सकेँ। सम्झेँ, ती आमाहरूको चित्कार ‘बलात्कारीलाई फाँसी दे।’ सायद उनीहरूका पीडा नजिकबाट नियाल्ने जोकोही पनि यही फाँसी सजाय माग्छ होला। अहिले रक्षा नेपाल सहरमा मात्र होइन, गाउँगाउँमा २५/२५ जना छोरीहरूबाट लडाकु दस्ता तयार पारिरहेको छ। जसले भोलि आफू वा अरूलाई हिंसा पर्दा आफैं प्रतिकार गर्न सक्षम होस्।

नयाँ वर्षको अवसरमा रक्षा नेपालको सेल्टर हाउसमा जान थालेको दुई वर्ष भयो। नयाँ वर्षमा त्यहाँ जाँदा एक किसिमको ऊर्जा प्राप्त हुन्छ। हारेर पनि जित्न खोजिरहेका मुहार, लडेर उठ्न खोजिरहेका पाइला, मुर्छाएर पनि फुल्न खोजिरहेका नावालिका र सेतो हिमाल जलवायु परिवर्तनको असरले कालो पहाडमा फेरिए पनि म हिमाल हुँ भनेर शिर उच्च पार्न खोजिरहेका किशोरीबाट विश्वका युनिभर्सिटीमा सिक्न नसक्ने व्यावहारिक जीवनका पाठ यिनीहरूबाट सिकिरहेजस्तो लाग्छ। त्यसैले होला, नेपाली महिलाको जीवनकथा बेलायतको लिभरपुल जोन मुर्स विश्वविद्यालयले आफ्नो पाठ्यक्रममा समावेश गरेको। भोलि यिनै किशोरीहरूको साहसको कथा विश्वले सुन्नेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.