आकर्षणमाडौं

आकर्षणमाडौं

प्रश्नहरूको नदी बनेको छ काठमाडौं। बर्खामा मात्र होइन, हिउँदमा पनि बगिरहने नदीजस्तै बनेको छ। गाडाको भारीले लड्न लागेको गोरुजस्तै प्रश्नहरूको तनावले थचक्कै हुन लागेजस्तै लाग्छ काठमाडौं। उत्तरै नभएजस्तो गरी मौन धारण गर्ने गरेजस्तो पनि लाग्छ काठमाडौं। काठमाडौं एक्लै काठमाडौं होइन। काठमाडौंले भन्दैन पनि तर आरोप लाग्ने गर्छ यस्तै। काठमाडौंसँग धरहराको उचाइ छ, टुँडिखेलको मैदान छ, जीवित देवीको परम्परा छ। पशुपतिको आस्था छ, मच्छिन्द्रको लामो संस्कृति छ, बिस्केटको जात्रा छ। पर्वहरूको गौरव छ। मल्लकालको कला छ। चोकैपिच्छे मन्दिर छ। विश्वास छ। आस्था छ। भने पनि नभने पनि सबै कुरो छ काठमाडौंसँग। त्यसैले सबैको आकर्षण बनेको छ, काठमाडौं।

काठमाडौंको कला, परम्परा, पुरातत्व र संस्कृति विश्वकै सम्पदा बनेको छ। त्यसैले नै होला, काठमाडौं सभ्य बनेको, शिष्ट भएको र शालीन बनेको। सिकाएको पनि यही हो, काठमाडौंले काठमाडौंवासीलाई। त्यही भएर होला, काठमाडौंको माटोे आफ्नो बनाएर पनि काठमाडौं बन्न नजान्नेहरूसँग पनि दुःख मान्दैन। चिने पनि नचिने पनि सँगै बास बस्छ। बलात्कारै गर्न खोजे पनि प्रतिवाद गर्दैन। छातीमै छाद्नेहरूलाई औषधि दिन्छ। लात्ता हान्नेहरूलाई अँगालो मार्छ। व्यंग्यवाण हान्नेलाई ताली पड्काउँछ। कुनै गुनासो गर्दैन।

काठमाडौंले नै जन्माएका, काठमाडौंले नै बोल्न सिकाएका, काठमाडौंले नै हिँड्न सिकाएका, काठमाडौंले नै काम दिएका, अवसर दिएका, नाम दिएका, प्रतिष्ठा दिएका, सम्पन्न बनाएकाहरू नै बढी आक्रमण गर्ने गर्छन्। दुखाउने कुनै चित्त छैन काठमाडौंको। तर, काठमाडौंको हृदय देखेर पग्लिनेहरू पनि मौन दर्शक बनेर दुख्छन् मात्र। काठमाडौं भने मात्र स्वयम्भूका दुई आँखा भएर हेरिरहन्छन् टुलुटुलु। कसैप्रति दुर्भाव नराख्ने काठमाडौं, सबैप्रति सद्भाव राख्ने काठमाडौं। काठमाडौं हुनुको परिचय पनि यही हो र महानता पनि यही नै। तर पनि लाग्छ, विचरा काठमाडौं।

काठमाडौं, काठमाडौंको मात्र होइन, भन्दैन र व्यवहारले पनि देखाउँदैन। नेपालकै हो र नेपालीकै हो। नबुझ्ने कोही छैनन्। मेचीकाली सबैको हक लाग्छ, अधिकार लाग्छ। काठमाडौंको कतै अंश लाग्दैन र लाग्ने ठाउँ पनि छैन। आफ्नो भन्ने केही छैन, आफन्त भन्ने कोही छैनन्। सबैका साझा र सधैंका साझा। हो, साझा सबैको हुन्छ तर कसैको पनि मनको हुँदैन। मुटुमा बस्दैन। हुन्छ, सबैको गुनासो र असन्तुष्टि मात्र।

पहाडबाट दुःख घटाउन तराई ओर्लने हाम्रो परम्परा नै छ देशैभरि। तराईमा बलियो छाना लागेपछि तेस्रो घरको सपना काठमाडौंभन्दा पर बन्दैन, कसैको। देशभित्र सबैको रहर, आवश्यकता र बाध्यता पनि काठमाडौं नै बनेको छ। भने पनि नभने पनि आकर्षणमाडौं बनेको त्यत्तिकै होइन, काठमाडौं।

पढ्नका लागि काठमाडौं र जागिरका लागि काठमाडौं

अवसरका लागि काठमाडौं र चर्चाका लागि काठमाडौं

चाकरीका लागि काठमाडौं र उपचारका लागि काठमाडौं

मागका लागि काठमाडौं र आन्दोलनका लागि काठमाडौं

शान्तिका लागि काठमाडौं र सुरक्षाका लागि काठमाडौं

व्यापारका लागि काठमाडौं र बदमासीका लागि काठमाडौं

बेइमानीका लागि काठमाडौं र जेका लागि पनि काठमाडौं

हो, काठमाडौंको छाती जे गर्न पनि अटाउने गरी ठूलो बनिसकेको छ। आकाशजस्तै र आकाशै जत्रै। सबैलाई स्वीकार गर्न सक्ने र सबै कुरा सहन सक्ने। काठमाडौं खाल्डेहरूका छाती पनि टुँडिखेलजस्तै सम्म मैदान बनिसकेका छन्। काठमाडौं बनिसकेकाहरूको भने छातीको आकार किन बढाउन सक्दैन काठमाडौं ? अचम्म लाग्छ।

सिमानाले देशको रेखांकन गरिएको छ। तर, काठमाडौंमा सबै सीमा अटाएको छ। काठमाडौंको निधारभरि ताप्लेजुङदेखि महेन्द्रनगरसम्मका साइनबोर्ड छन् जतासुकै। देशैभरिका गाउँ, सहर र जिल्लाको नाममा कित्ताकाट गरिएको छ। पटक्कै मतलब राख्दैन, काठमाडौं। यति शालीन काठमाडौंको हावापानी पचाइसकेर पनि काठमाडौंको हकाधिकार हुने तर काठमाडौंको नबन्ने किन होला हगि ? त्यसैले त हो नि हामी आफैंले बनाएको समस्यामा धारेहात लगाएर सराप्ने अरू कोही नभएर काठमाडौंका नै हुन्छौ। मानौं, काठमाडौं नम्बरी गुण्डा हो र उसले जबर्जस्ती अपहरण गरेको छ। मानौं, काठमाडौं खुल्ला कारागार हो। उसले अन्त जान नपाउने गरी ठूलो पर्खाल लगाइदिएको छ।

के गर्नु विचरा काठमाडौंले ? हुनसम्मको प्रदूषण यहीँ थुप्रिएको छ। माछा खेल्ने नदीहरूमा ढल बग्न थालेका छन्। सासैपिच्छे धूवाँधूलो नलिए पाइताला अगाडि बढाउन सकिँदैन। बाह्रैमासे हाहाकार छ पानीको, किनेर पनि स्वस्थ पाइने हैन। एकनासले डसिरहने अजिंगरजस्तो छ महँगी। ज्यान हत्केलामा राखेर हिँड्नुपर्ने बाटा छन्। कालोबजार छ, अपराध छ, आन्दोलन छ, घेराउ छ, फोहर छ, अव्यवस्था छ। नभएको केही छैन, नहुने पनि केही छैन, काठमाडौंमा।

खेतबारीहरू भरिसकेका छन्। खाली छैन ठाउँ कतै पनि। नदी किनारामा घर बनेका छन्। घाटमा घर छन्। मन्दिरमा घर जोडिएका छन्। पाटीपौवामा घर, डाँडामा घर, पोखरीमा घर, बाटो मिचेर घर, टुकुचामाथि घर हुँदाहुँदा टुँडिखेलमा पनि घरैघर बनिसकेका छन्। मिल्ने ठाउँमा पनि ,नमिल्ने ठाउँमा पनि बनाउनुपर्ने ठाउँ रहेछ, काठमाडौं। हुँदैन भन्ने कोही छैनन्। नियम कानुन सुपारी टुक्र्याउन नसक्नेहरूका लागि भनेर लेखिएको मात्र छैन। कतै पनि देख्ने आँखाहरू साक्षी बस्दैनन्, मौन बस्छन्। भद्रकाली र मण्डलाका अनशनकारीजस्तै। इतिहास, कला, संस्कृति र गौरवमा प्रदूषण फाल्नेहरूका विरुद्ध बोल्ने विषय बन्दैन कसैको। काठमाडौं सबैको भएर पनि कसैको नभएकोजस्तो। विचरा बनेको छ, टुहुरो बनेको छ र मायालाग्दो पनि बनेको छ। पहिलेपहिले दसैं आएपछि काठमाडौं देखिन्थ्यो स्वरूपमा। अहिले पनि केही हदसम्म देखिन्छ। त्यसो पनि भन्न मिल्दैन अब त। पुरानाहरूको मात्र भएर हुँदैन, अब काठमाडौं। सबैको भएपछि मात्र काठमाडौं काठमाडौंजस्तो हुन्छ।

एकपटक स्वीकारेपछि सधैं आफ्नो ठान्छ काठमाडौंले, कहिल्यै पराई ठान्दैन काठमाडौंले कसैलाई। बहत्तरको भूकम्पले नयाँ पनि भनेन र पुरानो पनि भनेन। काठमाडौंले सुख र सुविधामा मात्र होइन, दुःख र समस्यामा पनि समानता अपनाउँछ भन्ने देखाएको छ। मरेकाहरू मरे मरे, भत्केकाहरू भत्किए भत्किए। बाँचेकाहरू बाँच्नलाई झन् समस्या भएको समय थियो त्यो। दुःखमाथि दुःख थपिरहेको बेला काठमाडौंलाई महामारी लाग्ने हल्ला फैलियो। त्यसपछि काठमाडौं मात्र नहुनेहरू आआफ्ना मूल आँगनतिर फर्किए। बाँच्नुभन्दा ठूलो काठमाडौं होइन पनि। हुनेले नै जाने हो ठाउँ हँदा। दुखेको ठाउँमा सुमसुम्याउने हातहरू क्रमशः घट्दै गए।

काठमाडौं भएर काठमाडौं छाड्न सक्नेहरू धेरै छन् तर काठमाडौं नै हुनेहरूको कुनै विकल्प छैन। जे भए नि, जस्तो भए नि जाने अर्को ठाउँ छैन, भाग्ने कुनै गाउँ छैन। बाध्यता नै बन्छ, काठमाडौं यस्तो बेला, लाग्छ कहिलेकाहीँ। यही भएर उनीहरू आक्रोश पोख्न सक्दैनन्, काठमाडौंसँग। वेश्या भन्दैनन्। ज्यानमारा भन्दैनन्। कोर्रा हान्दैनन्। धारेहात लाउँदैनन्। गाली गर्दैनन्। किनकि उनीहरूलाई थाहा छ, काठमाडौंलाई गाली गर्नु भनेको आफैंलाई नै गाली गर्नु हो। भकुण्डोमा खुकुरी हानेजस्तै। आकाशमा फर्केर थुकेजस्तै।

काठमाडौंले धेरैलाई उठाएको छ, बसाएको छ र बनाएको छ। गाँस दिएको छ, बास दिएको छ र कपास दिएको छ। आश दिएको छ। नेतालाई सेल्टर दिएर ज्वाइँ बनाएको छ।

काठमाडौंको जग जग्गावालाहरूकै होला। भए पनि त्यसमाथि बनेका भवनहरू सबैका हुन् र हुनुपर्छ पनि त्यस्तै। न्याय नै हो यो प्रकृतिको। माटो देशको मात्र हुन्छ, सधैं आफ्नै भइरहँदैन कहिल्यै, भनिएको त्यत्तिकै होइन। काठमाडौंले गर्दा नै गाउँलाई रित्तो बनाउँदै पनि लगेको छ। एक्लिँदै गएका गाउँहरूका यथार्थ पनि बिर्सिनसक्नु बनेको छ। दुखाउने दृश्य छन् गाउँका जतासुकै।

खनजोत गर्ने हातहरू नभएर बाँझा भएका छन् खेतबारीहरू। यता कौसीमा तरकारी रोप्नु परेको छ। उता हिमाल र पहाड ठोकिएर आएका हावा त्यत्तिकै बत्तिँदै गइरहेको छ। यता बाग्मती र टुकुचा सुँघिरहनु परेको छ। उताको जाँगरिला ज्यान यता डाक्टरका ट्याब्लेटहरूमा बाँच्नु परेको छ। यता घाँटी रसाउन बोतलपानी किन्नु पर्छ, उता कञ्चन पानी बगेर घटिरहेको छ। यताका महँगा तरकारीहरू उता गाईबस्तु अघाइरहेका छन्। सुखको नाममा किन जीवन संघर्षको मैदानमा कवाज खेलिरहेको होलाजस्तो लाग्छ कहिलेकाहीँ।

खासमा काठमाडौं बिगार्ने त काठमाडौंकै भोटका हाकिम त हुन् नि। ‘स्वच्छ, सुन्दर, हरियाली’को सुन्दर नारा चुनाव जित्ने हतियारभन्दा केही हुन सकेको छैन। सधैं बिक्री हुने नारा हो यो होलसेलको। नपत्याउँदा पनि केही नहुने भएपछि पत्याएकैजस्तो हुने। धेरै निराशामा पनि गर्नैपर्ने अलिअलि आशाजस्तै। दिनेहरूले पनि मतमा छाप हान्न कहिले कञ्जुस्याइँ गरेनन्। मतले नै कुर्सीवाला बनाउने र मत हाल्नेहरू पानीको छायाँजस्तै बन्दै जाने परम्परा नै हो हाम्रो। पदको कुर्सीलाई घुमिरहने बनाउने र घुम्न थालेपछि आँखामा पट्टी बाँधेर आफ्ना र आफन्तबाहेक कसैलाई नदेख्ने बन्ने। यो पनि बलियो जग भएको प्रचलन हो हाम्रो।

जनतालाई र जनताले नदेख्ने आँखा बन्द भएपछि भित्री आँखाले मात्र देख्न थाल्ने त झन् भगवान्कै पालादेखिका भए। एक प्रकारले ब्रह्मज्ञान हुने रहेछ कि क्या हो यो। नगर भनेको कुर्सीमा बसेपछि खुरुखुरु गर्दै नगर्ने। गर्नुपर्ने गर्‍यो भने कुर्सी भागिहाल्छ जस्तो ठान्छन् बा। त्यही भएर होला पहिले जे गर्छु भनेको भए पनि सफा बनाउनेतिर नलागेर सफा गर्नेतिर मात्र लाग्ने गरेका। सहरलाई सफा र स्वच्छ बनाउँदा कमजोर फाइदा हुने र भएका फोहर सफा गर्दा भने आफ्नो भाग बलियो हुने रहेछ। त्यसैले त होला ठाउँठाउँका फोहर उठाएर लैजाने ट्रकले सडकमा खसाल्दै लैजाने गरेका रहेछन्। यसले एकातिर डम्पिङसाइट नभरिने र अर्कोतिर मूलसडकको फोहोरमा दाताको आँखा परिहाल्ने। अनि जनस्वास्थ्यको नाममा सजिलै दान पनि आइहाल्ने। सर्प पनि नमर्ने र लट्ठी पनि नभाँचिने योभन्दा सजिलो तरिका अरू के पो हुन सक्ला र ?

काठमाडौं त्यत्तिकै बिग्रेको हो र भन्या ? कुरो अहिलेको मात्र होइन। मेरो प्यारो ओखलढुंगा गीतमा कविवर सिद्धिचरणले त्यही बेला नै यो मरुस्थलमा आएँ भनेर काठमाडौंलाई भनेका छन्। भए पनि कविजीले यो माटोलाई जीवनै छोडेपछि मात्रै छाडे। यति माया गर्ने माटोलाई किन त्यस्तो भनेको होला ? नेताको बोली र कविको कलममा यस्तो समानता नहुनुपर्ने। भन्नु, लेख्नु र गर्नु सबै फरक भएका छन् इतिहासदेखि। बोलेजस्तै लेख्नसक्ने र लेखेजस्तै गर्नसक्ने बहादुर कति पो होलान् हामीकहाँ ? भइरहेको नै यस्तै छ अहिलेसम्म र भई नै रहनेछ भोलिभोलिसम्म पनि।

काठमाडौंले धेरैलाई उठाएको छ, बसाएको छ र बनाएको छ। गाँस दिएको छ, बास दिएको छ र कपास दिएको छ। आश दिएको छ। नेतालाई सेल्टर दिएर ज्वाइँ बनाएको छ। सिंहदरबार पुर्‍याएको छ। झन्डा दिलाएको छ र आफू भने सधैं शासित भएको छ। कुरा पृथ्वीनारायणदेखिकै हो। ठिहिर्‍याउने जाडोमा खर्पन बोकेर साग बेच्ने ज्यापू पञ्चायतदेखि गणतन्त्रसम्म साग नै बेचिरहेका छन्। पाँच पुस्तादेखि असने साहू तमाखु नै बेचिरहेका छन्। पाटनमा तेल व्यापार गर्नेले विकल्प खोजेका छैनन्। केही गर्न नसकेर गरिरहेका हुन् र यिनीहरूले ? के काठमाडौंवालाका सपना हुँदैनन् र ? के सपना बिनाको रात हुन्छ र काठमाडौंको ? सपना मात्रै हो, जसको कहीँ कतै पनि प्रतिबन्ध लाग्दैन। त्यसैले नभनियोस् सपनामा पनि कसैले। केही गर्न नसक्ने काठमाडौं कठै होइन र छैन पनि।

भानुभक्तको अलकापुरी नगरी कंक्रिट नगरी बनाउने अरू होइनन्, हामी नै हौं। सफा र स्वच्छ काठमाडौं फोहर गर्ने बाहिरका कोही पनि होइनन्, हामी नै हौं। सांस्कृतिक बस्तीलाई अव्यवस्थित बनाउने हात पनि हाम्रै हुन्। घन्टाघरको समय बनाउने पनि र बिगार्ने पनि हामी नै हौं। काठमाडौंमा जून देखाउने पनि हामी र जून धपाउने पनि हामी नै। बाग्मती बिगार्ने पनि हामी र सफा गर्ने पनि हामी। हामी नै हौं सबैका प्रश्न पनि र जवाफ पनि। हामी नै हौं नेपाल, हामी नै हौं नेपाली। हामी नै हौं काठमाडौं र काठमाडौं नै हौं हामी।

थाहा छ, कुराको जत्तिको दुःख अरूमा हुँदैन। प्रश्नमा जत्तिको समाधान पनि अरूमा हुँदैन। तर पनि दोहरिइरहन्छ, एकनासले मसँग किन ? सपनामा आउने धेरैको काठमाडौं किन विपनामा बिटुलिरहन्छ ? सुधो भएर काठमाडौं किन बांगोटिंगो बनिरहन्छ ? मायालु काठमाडौं किन संवेदनाहीन बन्दै गइरहेको छ ? पवित्र काठमाडौं किन बिटुलो बनिरहेको छ ? शान्त काठमाडौं समुद्री किनारजस्तै किन छचल्किरहन्छ ? उज्यालो काठमाडौं किन अन्धो कुवाजस्तो अँध्यारो बनिरहेको छ ? स्वतन्त्र काठमाडौं किन चिडियाखानाजस्तै थुनिएको छ ? शिष्ट काठमाडौं किन विद्रोही आवाज ओकलिरहेको छ ? निरोगी काठमाडौं किन चहर्‍याइरहेको छ ? प्रश्नहरू तमाम छन्। सोध्नेहरू सोधिरहेका छन्। उत्तरहीन भएर चुपचाप उल्टै प्रश्नमाथि नै प्रश्न जन्माइरहेको छ, काठमाडौं।

सधैं म पनि आफैंलाई प्रश्न गरिरहेको छु— सबैको भएर पनि किन बन्न नसकेको होला सबैको काठमाडौं ? सबै भएर पनि किन केही नभएजस्तो बनेको होला काठमाडौं ? सबै पाएर पनि किन सधैं गुमाएजस्तो बनिरहेको होला काठमाडौं ? सबैको मनभित्र बसेर पनि किन बाहिर बसिरहेजस्तो गरिहन्छ काठमाडौं ? के भनौं खोइ ? धन्य छ, तेरो भाग्य काठमाडौं।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.