गोक्यो तालमा २४ घन्टा
शब्द : छेटु शेर्पा
फोटो : समीप मैनाली
क्यानडाका नागरिक मेरी म्याकी चार हजार नौ सय ९० मिटरको पाँचौं गोक्यो ताल पुगेर क्याम्प खडा गर्दा उनका आँखामा हर्षको आँसु टप्कियो। उनले त्यहाँको प्राकृतिक सुन्दरताको बखान गर्न सकिनन्। शिक्षिकासमेत रहेकी उनले भनिन्, ‘फर्किएर मेरा विद्यार्थीलाई यहाँको प्रकृतिको बखान गर्नेछु।’
दूधकोसीको मुहान रहेको गोक्यो तालको रूप दिन, रात र साँझबिहानमा फरकफरक देखिन्छ। यसै विविध रूपले मोहनी लगाएर होला, म्याकीले एक दिन त्यहीँ रात बिताइन्।
३० वर्षअघि अन्नपूर्ण राउन्डको पैदलयात्रा गरेर क्यानडा फर्केका जिम म्याकीले आफ्नो दोस्रो नेपाल यात्रा निकै उपलब्धिपूर्ण भएको बताए। क्यानडामा इन्जिनियरिङ पेसामा आबद्ध उनमा खुम्बुको गोक्यो तालसम्म पुगेर फर्किंदा खुसीको सीमा थिएन।
खुलेको आकाश, चहकिलो घाम, खुला डाँडाकाँडा अनि सेताम्मे हिमाल देख्दा जोकोही पनि रमाउँछ, गोक्यो तालमा। गाइडको भूमिकामा रहेका समीप मैनाली आफै दंग परेर वरपर नियाल्दै विदेशीलाई त्यहाँको बखान गर्दै थिए।
नाम्चे–गोक्यो हँदै चोला पास गरेर आधार शिविरसम्म पुगेर पैदलयात्रीहरू फर्कंदा संसारै नियालेको अनुभूति गर्छन्। गोक्यो ताल हुँदै सगरमाथा आधार शिविर पुग्नु निकै चुनौतीपूर्ण बाटो पनि हो। तर, यो सबैको रोजाइमा पर्नाले मुख्य टे«किङ रुट मानिन्छ। गोक्यो भ्याली, गोक्यो री, गोक्यो चोला पास हुँदै सगरमाथा आधार शिविर जानुपर्ने भएकाले यो पैदल बाटो विश्वकै खतरामध्ये एक मानिन्छ। यो बाटोको यात्रामा सगरमाथा, ल्होत्से, नुप्त्से, मकालुलाई उत्तरतिर देखिन्छ भने छ्यो यु, अमादब्लम, थामसेर्कु, ल्होत्सेसार, खांतेका, खंल्यामु पिकलगायत चारैतिर हिमालै हिमाललाई देख्दाको मज्जा बयान गर्न सकिँदैन।
लुक्ला, फाक्दिङ, मोन्जो, जोरसल्ले, नाम्चे, मोङ्ला, डोले, मर्छेमु, डोले, फोर्से गाउँका बासिन्दाको मौलिक संस्कृति नियाल्दै गोग्यो लेक पुगिन्छ।
्