कवितामा अफसाइड गोल !
उनी अल्लारे थिए। अल्लारे हुनुमै उनलाई रमाइलो लाग्थ्यो। जीवनमा के गर्नुपर्छ र के गर्नुहुन्न भन्ने कुरामा उनलाई खासै मतलब थिएन। आफूलाई जे मन लाग्छ उनी त्यही गर्थे।
अल्लारे जीवनमै एकपटक उनी जुम्रापीडित बने। कपालमा पनि जुम्रा, कपडामा पनि जुम्रा, जीउमा पनि जुम्रा। सबैतिर जुम्रैजुम्रा ! उनलाई लाजमात्र लागेन, दिक्क पनि लाग्यो। शरीरभरि कतिखेर यति धेरै जुम्रा पर्यो, उनलाई पत्तै भएन। गरिबीका कारण जीवनमा अरू नै अनगिन्ती समस्याहरू झेलिरहेको अवस्थामा फेरि जुम्राको समस्या !
त्यसरी जुम्राले सताउन लागेपछि उनी एक दिन लुसुक्क एउटा सुनसान ठाउँमा पुगे। आफ्ना सबै कपडा खोलेर नांगो बने। त्यसपछि फटाफट जुम्रा मार्न थाले। लाउनका लागि अर्को जोर कपडा उनीसँग थिएन। त्यसैले उनी नांगै जुम्रा मारिरहेका थिए। त्यही बेला एउटी किसान महिला आइपुगिन्। उनी लाजले रुँदै लुक्न खोजे तर ती महिलाले स्नेहका साथ उनलाई बोलाइन्। घरमा लगिन्। बच्चालाई झैं उनलाई पनि माया गरिन्। खान दिइन्। सुताइन्। उनले आफ्नो दुःख अरूलाई बताएमा अरूले सहयोग गर्ने कुरा पनि गरिन्। किसान महिलाको मायाले उनको मन पग्लियो। त्यसपछि जीवनलाई बुझ्ने कुरामा उनलाई लाग्यो, ‘यस संसारका हरेक मूल्य सन्देहास्पद छन्, जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा सहृदयता मात्र हो।’
किसान महिलाको सहृदयताबाट प्रभावित बनेपछि उनी जीवनमा केही गर्नुपर्ने हो कि भन्नेमा पुगे। तर, उनले गर्ने वा गर्न पाउने काम केही थिएन।
उनी बच्चैदेखि नाच्न सिपालु थिए। सातआठ वर्षको उमेरमा उनलाई विभिन्न विवाहहरूमा लगिन्थ्यो र नाच्न लगाइन्थ्यो। उनी नाच्थे। त्यसबापत उनलाई दुइटा रोटी दिइन्थ्यो। अरूलाई भने एउटा। अथवा रोटीको बदलामा एउटा आलु। तर, नाच्ने काम उनलाई त्यति राम्रो लागेन। उनले सोचे, ‘यसरी विवाहहरूमा नाचेर हिँड्नुभन्दा त खेलकुदतिर लाग्नु नै राम्रो होला। त्यो पनि फुटबल !’
उनी फुटबल खेल्न थाले। त्यसमा उनले राम्रो प्रगति गरे। हरेक दिन दिनभरि फुटबल मैदानमा घस्रिँदा घस्रिँदै उनी छोटो उमेरमै सानोतिनो फुटबल खेलाडी बन्न पुगे। फुटबल खेलाडीका रूपमा स्थानीय स्तरमा उनको चर्चा तीव्रतर ढंगले बढिरहेको थियो। फुटबलसँगै उनलाई कविता लेख्ने इच्छा पनि बढ्यो। उनी कविता पनि लेख्न थाले।
फुटबल खेल्ने र यदाकदा कविता लेख्ने कामसँगै उनी सानोतिनो नोकरी गरेर अलिअलि कमाउन पनि थाले। उनी महिनाको तीन सय पचास रुबल कमाउँथे। उनकी आमाले कविहरू जँड्याहा हुने कुरा बताएकी थिइन्। कविहरू जँड्याहा हुन्छन् भन्ने कुरा उनी आफैंले पनि विभिन्न पुस्तक र लेखहरूमा पढेका थिए। उनी पनि कवि बन्ने धुनमै थिए। कवि बन्नलाई रक्सी पनि पिउनुपर्ने रहेछ भन्ने उनलाई लाग्यो। त्यसैले आफ्नो कमाइ रक्सी पिउनमै उडाउने निधो गरे।
एक दिन खानपिनको कामलाई कसरी रमाइलो बनाउने भन्ने बारेमा उनले एउटा साथीसँग सल्लाह गरे। त्यो साथीले हेयर ड्रेसरमा काम गर्ने एउटी र मिलिङ मेसिनको हेरचाह गर्ने अर्की गरी दुइटी केटीसमेत लिएर रेस्टुरामा जाने कुरा गर्यो। चार जना रेस्टुराँमा गए। उनले ज्यादै रक्सी खाए। भोलिपल्ट बिहान १० बजे उनले फुटबल कोचलाई भेट्नुपर्ने थियो। उनलाई गोलकिपरका रूपमा लिने उद्देश्यले ट्रायलका लागि बोलाइएको थियो। तर, उनलाई बिहान पनि चर्कैसँग रक्सी लागिरहेकै थियो। तैपनि हल्लिँदै हल्लिँदै फुटबल मैदानमा पुगे। ट्रायल सुरु भयो।
उनी रक्सीमा मात्तिइरहेकै थिए। उनमा कुनै सुर थिएन। तैपनि उनी फुटबल ग्राउन्डमा गोलपोस्टको बीचमा उभिए। ट्रायल सुरु भयो। कसैले बल प्रहार गर्यो। त्यहाँ बल त एउटै थियो तर उनले रक्सी लागिरहेको सुरमा एकैपटक दुईवटा बल आफूतिर आइरहेको देखे। उनले बल रोक्न सकेनन्। उनी ट्रायलमा असफलमात्र भएनन्, खेलप्रति अनुशासनहीन पनि ठहरिए। उनीप्रतिको एउटा राम्रो फुटबल खेलाडीको विम्ब समाप्त भयो। उनी अनुशासनहीन र भयानक जँड्याहा घोषित हुन पुगे। फुटबल खेलाडीका रूपमा उनको करिअर यहीँबाट अन्त भयो।
उनी अर्थात् एब्गिनी एब्तुसेन्को ! सुरुमा राम्रा फुटबल खेलाडी। पछि आधुनिक रुसी कवितामा मायाकोब्स्कीपछिका बहुचर्चित कवि।
०००
एब्गिनी एब्तुसेन्को बाल्यकालमा आफ्ना आमाबाबुसँग परेड हेर्न पुग्थे। उनका बाबु उनलाई काँधमा बोकेर परेड देखाउँथे। ‘कति धेरै मान्छे , कति ठूलो भीड !’ उनी अचम्म मान्थे। जति ठूलो भीड देख्यो त्यति उनको उत्सुकता बढ्थ्यो।
‘ओहो, लालझन्डाहरू ! ती पनि कति धेरै। हरेक मान्छेका हातमा लालझन्डा !’ परेडमा फहराइरहेका लालझन्डाहरूले पनि उनलाई आकर्षित गर्थे। बाबुको काँधमा बसेका उनी आफैं पनि अन्य बालकझैं हातमा लाल झन्डा बोकेर फहराउन थाल्थे।
उनको एउटा धोको हुन्थ्यो— जसरी पनि स्टालिनलाई देख्ने। त्यसैले उनी उत्सुकता र जोशका साथ लालझन्डा माथि उठाउँदै स्टालिनतिर हेर्न थाल्थे। टाढैबाट भए पनि स्टालिनलाई देखेपछि उनको हाउभाउ बदलिन्थ्यो। उनको जोश बढ्थ्यो। उनी लाल झन्डालाई अझै जोडका साथ हल्लाउँथे। त्यसलाई उनी जीवनकै एउटा रोमाञ्चक क्षण मान्थे। त्यति ठूलो भीडमा उनी ठान्थे, ‘स्टालिनले मलाई पनि देखे होलान्।’ यस्तो ठान्दा उनको मन आनन्दित हुन्थ्यो।
स्टालिनलाई भेट्ने अवसर पाएका आफूसरहका केटाकेटीलाई देख्दा उनी ईष्र्याले जल्ने गर्थे। ती केटाकेटी जसले स्टालिनलाई भेटेनन् मात्र, आदरका साथ फूल पनि दिए। तिनलाई स्टालिनले प्रेमपूर्वक टाउकामा हात राखेर थपथपाए। आफ्ना चर्चित जुँगा नै फर्फर गर्ने गरी चर्चित मुस्कानका साथ ती केटाकेटीलाई स्टालिनले माया गरेका थिए। त्यस्तो ठाउँमा अरू केटाकेटी नभएर आफू हुनुपर्ने उनी ठान्थे।
त्यस बेला कापी महँगो पथ्र्यो। लेख्ने कागज पाउन गाह्रो थियो। उनी स्कुलमा अखबारको कागजमा, सरकारी सूचनाहरूको खाली ठाउँमा लेख्थे। उनले उपन्यास लेखनको योजना बनाइरहेका थिए तर लेख्ने कुरा थिएन। उनले हजुरआमाकहाँबाट माक्र्स र एंगेल्सका पुस्तकहरू चोरे। उनले ती किताबका सबै खाली ठाउँ भरे। पछि हजुरआमाले थाहा पाइन्। उनले नातिलाई माफी दिँदै र शिरमा थपथपाउँदै भनिन्, ‘यसबाट त तिमी सच्चा माक्र्सवादी बन्नुपर्ने।’
रुसी जनतामा राष्ट्रवादको भावना बढ्दै गएको थियो। त्यो भावनाको नेतृत्व गरिरहेका थिए स्टालिनले। मान्छेलाई सम्मोहित गर्ने आकर्षण स्टालिनमा थियो। त्यसैले स्टालिनका पक्षमा मान्छे थिए। अरू स्टालिनबाट प्रभावित रहेझैं उनी पनि प्रभावित भए। उनी प्रभावित मात्र भएनन्, स्टालिनका भक्त नै बन्न पुगे। उनी स्टालिनलाई यस युगका महानायक देख्न पुगे। उनले तिनै महानायकको प्रशंसामा कवितासमेत लेख्न पुगे। अरूजस्तै एब्गिनी पनि भन्न थाले, ‘कमरेड स्टालिन दीर्घायु रहून्।’
सुरुसुरुमा कविता छाप्ने रहर उनमा औधी थियो। कविता छाप्नका लागि उनी विभिन्न ठाउँमा पुगे। विभिन्न साहित्यिक पत्रिकाका कार्यालयहरूमा धाए। तर, कतै पनि उनको कविता प्रकाशित भएन। बल्लबल्ल एउटा पत्रिकामा उनको कविता आउने भयो। त्यो पनि खेलकुद पत्रिका। तैपनि उनी खुसी नै भए। उनी व्यग्रतापूर्वक त्यसको प्रतीक्षामा रहे। पत्रिका निस्किएको दिन बिहानै उनले पत्रिका हेरे। त्यसमा उनको कविता थियो। सम्पादकले उनको कविताको बीचमा स्टालिनको प्रशंसामा एक लाइन थपिदिएछन्। त्यसबाट उनी अप्रसन्न भने भएनन्। उनी त्यति बेला स्टालिनलाई धेरै मन पराउँथे। थप उनलाई के लाग्यो भने स्टालिनको प्रशंसामा एकदुई लाइन राखेपछि मात्र कविता छापिने रहेछ।
उनले त्यहाँ उपलब्ध पचास प्रति पत्रिका आफैंले किने। उनले आफ्नो हिँडाइमा चारैतिर जमिन घुमिरहेको अनुभव गरे। नचिनेका मान्छेसँग पनि उनी ‘यी यो पढ है’ भन्दै पत्रिका देखाउँदै हिँडे। उनी विजयोल्लासका साथ घर पुगे र आमाका अगाडि पत्रिका फिँजाए। तर, उनकी आमाको प्रतिक्रिया उनका लागि उत्साहजनक रहेन। उनकी आमाले निराशापूर्वक भनिन्, ‘ठीकै छ, तँबाट अब कुनै आशा रहेन।’
उनलाई स्टालिनको मृत्युको कल्पना गर्नु नै असम्भव लाग्थ्यो। उनलाई लागिरहेको थियो— स्टालिन जीवनका अविभाज्य हिस्सा बनेका थिए। सबैको हेरविचार उनैले गरिरहेका थिए। एब्गिनी भन्छन्, ‘स्टालिनको मृत्युमा सम्पूर्ण रुस रोयो। म पनि रोएँ।’
स्टालिनको मृत्युपछि कतिपय प्रशंसकहरूसमेत उनको निन्दा गर्न लागे। स्टालिनको प्रशंसा गरेर कविता लेख्दै आएका एब्गिनीले पनि स्टालिनमाथि नै आक्रमण गरेर कविता लेख्न थाले। उनको ‘स्टालिनका उत्तराधिकारी’ भन्ने कविता सन् १९६१ मा ‘प्राभ्दा’मा प्रकाशित भयो। स्टालिनवादीहरूबाट त्यसको व्यापक विरोध भएपछि १९८७ सम्म त्यसको पुनर्प्रकाशन हुन सकेन। विरोधकै कारण एब्गिनीले उक्त कविता पुनप्र्रकाशन गर्ने आँट गर्न सकेनन्। त्यसपछि उनले प्रेमका कविता लेख्न थालेका थिए।
०००
कविता लेखनसँगै एब्गिनीको साहित्यिक समझ पनि बढ्दै गयो। उनी हेमिंग्वे, जेम्स ज्वायस, फ्रायड, नित्से, थोमस मन, वाल्ट ह्विटम्यान, रबर्ट फ्रस्ट, टीएस इलियट, तोलस्तोय, चेखब, दोस्तोएब्स्की, पुस्किन, मायाकोब्स्की, पास्तरनाक आदिका रचनाहरूसँग परिचित भए। साहित्यिक बहसहरूमा पनि उनी सहभागी हुन थाले। सस्तो भावुकता र असत्यका विरोधमा उनी बोल्न थाले। यद्यपि मान्छेका बीचमा भाषण दिने अनुभव भने उनमा थिएन। एकपटक भाषण गर्दागर्दै उनी रोकिए। उनको आवाज नै बन्द भयो। अर्थहीन आवाजमा उनी पाल्तु कुखुरा कराएझैं कराइरहे। सबै श्रोताहरू गलल्ल हाँसे। उनी लाजले भुतुक्कै भए र भाषण समाप्त गरे।
एब्गिनी मान्छेको ठूलो भीडमा, सार्वजनिक ठाउँहरूमा पनि कविता सुनाउन थाले। युवाहरूबीच उनी लोकप्रिय बन्दै गए। वर्गदम्भीहरूले ‘शुद्ध कला’को कुरा उठाउँदै उनको भत्र्सना गर्न थाले। स्टालिनवादीहरूले उनलाई ‘निहिलिस्ट’को आरोप लगाए। तर, उनी आफ्नो यात्रामा अगाडि बढिरहे।
एब्गिनी कवि मात्र थिएनन्; उपन्यासकार, निबन्धकार, नाटककार, स्क्रिन राइटर, सम्पादक, अभिनेता, निर्देशक र शिक्षक पनि थिए। तथापि उनको मूल परिचय भने कवितामै रह्यो।
०००
एब्गिनी एब्तुसेन्कोको जन्म सावबेरियास्थित जिमा जक्सन भन्ने सानो सहरमा सन् १९३३ मा भएको थियोे। उनी स्वच्छन्दता चाहन्थे। अल्लारे हुनु र रमाउनु उनको सोख थियो। उनले चारवटा विवाह गरे। रमाउनकै लागि उनी स्वाभाविक मात्र होइन, अस्वाभाविक अराजकतासमेत प्रदर्शन गर्थे। ‘कविहरू अराजक हुन्छन्’ भन्नेका लागि अन्य केही चर्चित कविहरूझैं उनी पनि एउटा उदाहरण बने।
रुसका चर्चित कवि एब्गिनी नेपालमा धेरै चर्चित रहेनन्। असीको दशकमा उनी नेपाल आएका थिए तर त्यो कुरा पनि उति चर्चामा रहेन। उनी स्टालिनका भक्त हुँदा होस् वा स्टालिनका विरोधी हुँदा, कुनै पनि अवस्थामा उनी र उनका कविताको चर्चा नेपालमा भएन।
उनको परिवार गरिब थियो। उनी आठ वर्षका हुँदा उनका आमाबाबुको पारपाचुके भइसकेको थियो। बाबु नयाँ पत्नीका साथ कजाकिस्तानतिर गए। आमा काममै व्यस्त रहन्थिन्। युद्धका बेला जन्मेकी बहिनी र एब्गिनीलाई हुर्काउनका लागि आमाले धेरै कष्ट सहिन्। तैपनि एब्गिनीको शिक्षादीक्षामा कसैको वास्ता रहेन। यसै बेला उनले चुरोट तान्न सिके, पिच्चपिच्च थुक्न सिके, मुट्ठी बटार्न र निडर हुन सिके। जुन बानी उनमा पछिसम्म रह्यो। बाल्यकालमा उनी हेपिए, पिटिए, घाइते भए तर पनि हार मानेनन्। उनमा अराजक स्वभावको विकास भयो। यसै बेला बलियासँग डराउनु हुन्न, बलियालाई हराउन जान्नुपर्छ भन्ने कुरा पनि उनले बुझे।
फुटबल छोडेर कवितामा लागिसकेपछि पनि उनी रमाउने कुरामै बढी व्यस्त हुन थाले। उनको रमाउने विषय भनेकै रक्सी खाने थियो। त्यसैले अत्यधिक रक्सी खाने र हल्लिँदै हिँड्ने वा कहिलेकाहीँ ढल्ने कुरा उनका लागि सामान्य थियो। यहाँसम्म कि उनी बुल्गेरियाको एउटा गाउँमा विवाहमा जाँदा पनि खल्तीमा भोड्काको बोतल नै बोकेर गएका थिए। उनले त्यो बोतल अरूलाई पनि दिन थाले। सोभियत संघका हरेक मान्छे खल्तीमा भोड्का बोकेर हिँड्छन् भन्ने प्रभाव बुल्गेरियाका मान्छेमा पर्छ भनेर उनलाई उनकै साथीहरूले नराम्ररी गाली गरे। तर, उनले कसैका कुरा सुनेनन्।
उनी चर्चित कवि भइसकेपछि र स्टालिनविरोधी बनिसकेपछि कविता सुनाउन अमेरिका पनि पुगे। त्यहाँ कविता वाचनमा जाँदा पनि उनी टिल्ल रक्सी खाएरै पुगेका थिए। उनी कविता वाचनका लागि मञ्चतिर जाँदै थिए तर मञ्चमा पुग्नै सकेनन्। उनी बीचमै ढले।
०००
जुन बेला रुसमा राष्ट्रवाद प्रमुख बनेको थियो, त्यही बेला एब्गिनी भने राष्ट्रवादलाई ‘तुच्छ’ मान्न पुगे। उनले भने, ‘म राष्ट्रवादलाई तुच्छ मान्छु। मेरा लागि दुनियाँमा दुईवटा मात्र देश छन्। ती हुन् राम्रा र नराम्रा। म राम्रो देशको राष्ट्रवादी हुँ।’ एब्गिनीका लागि राष्ट्रको सीमाको पनि कुनै अर्थ थिएन।
रुसका चर्चित कवि एब्गिनी नेपालमा भने धेरै चर्चित रहेनन्। उनको नाम धेरैले सुनेका पनि छैनन्। जंगब चौहानका अनुसार असीको दशकमा उनी नेपाल पनि आएका थिए तर त्यो कुरा पनि त्यति चर्चामा रहेन। उनी स्टालिनका भक्त हुँदा होस् वा स्टालिनका विरोधी हुँदा, कुनै पनि अवस्थामा उनी र उनका कविताको चर्चा नेपालमा भएन। पुस्किन, च्युतचेभ, मायाकोब्स्की, बोरिस पास्तरनाक आदिको व्यापक चर्चा हुँदा पनि उनको चर्चा भएन। मर्गारिता अलिगेर, अलेक्सान्द्र मेजिरोव, लेनिन पुरस्कारबाट सम्मानित रसुल हमजातोव, समुइल गल्किन, निकोलाई जाबोलोत्स्की आदि चर्चित आधुनिक रुसी कविहरूमध्येमा अग्रणी मानिएका छन्— एब्गिनी एब्तुसेन्को। युवाहरूका बीच यिनी अत्यधिक लोकप्रिय रहे। ‘नागरिक उत्तरदायित्वको चेतना’ र ‘उग्रतम सामयिक समस्याहरूमा दृष्टि–संकेन्द्रण’ उनको लेखन र कृतित्वका केन्द्रबिन्दु रहे। पुराना रूप र मान्यताप्रति विद्रोह गर्दै आएका उनलाई केही पुँजीवादी पत्रपत्रिकाले साम्यवाद विरोधी ‘क्रुद्ध युवा विद्रोही’को रूपमा पनि चित्रण गरे तर उनले त्यस्तो प्रचारको सधैं सामना गरिरहे।
कवितामा उनी मायाकोब्स्कीको शैलीका प्रशंसक थिए। मायाकोब्स्कीको शैलीको विकासमा उनको पनि योगदान रह्यो। त्यसैले पनि होला उनी मायाकोब्स्की पछिका अर्को चर्चित कविका रूपमा रुसमा स्थापित भए।
राम्रा कवि भए पनि एब्गिनी कविता सम्बन्धमा समालोचकहरूको धारणा र मूल्यांकनमा सन्तुष्ट रहेनन्। कवितामा वास्तविक ‘गोल’भन्दा पनि ‘अफसाइड गोल’ले महत्व पाउने गरेकोमा उनी निकै नै असन्तुष्ट रहे। पछिल्लो समय उनी कविता लेखनलाई ‘अस्वच्छ’ र फुटबल खेललाई ‘स्वच्छ’ मान्न पुगे। उनको विचारमा धेरै किसिमले फुटबल कविताभन्दा सजिलो छ। साहित्यका क्षेत्रमा व्याप्त आग्रह, पूर्वाग्रह, दूराग्रह र षड्यन्त्रको अनुभवपछि कविताभन्दा फुटबल खेल नै राम्रो भएको महसुस उनले गरे। उनी भन्छन्, ‘तपाईं गोल गर्नुहुन्छ भने तपाईंसँग ठोस प्रमाण हुन्छ। बल नेटभित्र हुन्छ। यो तथ्य अविवादित हुन्छ। रेफ्रीले अन्ततः गोल अस्वीकृत गर्न पनि सक्छ तर यस्तो अपवादस्वरूप मात्र हुन्छ। तर, तपाईं कवितामा कुनै गोल गर्नुहुन्छ भने त्यसलाई अस्वीकृत गर्नका लागि हजारौं रेफ्रीले जोडसँग सिट्ठी बजाउने सम्भावना हुन्छ, कुनै प्रमाण साबित गर्न सकिन्न। कतिले त कयौंपटक अफसाइडलाई गोल भनिदिन्छन्। सामान्यतः कति जालझेल र गन्धा खेलका बीच फुटबल खेल कविताभन्दा ज्यादा स्वच्छ व्यवसाय हो। फुटबल खेलाडी बन्न नपाएकोमा मैले दुःख मान्दै आएको छु।’
धेरै कुरा बुझिसकेपछि एब्गिनीले निष्कर्ष निकाले— हाम्रो अगाडि संघर्ष छ, नमरुन्जेलसम्मको संघर्ष, तिनका विरुद्ध जो सिद्धान्तमा साम्यवादका उपदेश दिन्छन् र व्यवहारमा चाहिँ त्यसप्रति सन्देह प्रकट गर्छन्। तिनीहरू, जो साम्यवादलाई लगभग आफ्नो निजी एकाधिकारका रूपमा सोच्छन् अनि विकृतिविरुद्ध लड्दा सिद्धान्तकै विरुद्ध लडेको दोषारोपण गर्छन्।
चित्रकलाका अनेकौं वादहरू— यथार्थवाद, अभिव्यञ्जनावाद, अतियथार्थवाद, तŒववाद आदिमध्ये सबैभन्दा राम्रो यथार्थवादलाई मान्छन्— एब्गिनी। यथार्थवादका पनि विभिन्न स्वरूपहरू हुन्छन्। यद्यपि यथार्थवादले कसैको प्रतिनिधित्व गर्नुपर्छ भन्ने छैन। उनी भन्छन्, ‘म जीवनबाट सिर्जित र मानवीय उत्साहलाई बढाउने हरेक वास्तविक कुरालाई यथार्थवादको रूपमा हेर्छु, जहाँ मान्छेको कुनै प्रतिविम्ब नहोस्। अर्को कुरा, तस्बिर मान्छेको छ तर जीवनरहित छ, त्यसमा मसँग संवाद स्थापित गर्ने शक्ति छैन भने त्यो मात्र अमूर्त हो, अरू केही होइन।’
०००
उत्तर–स्टालिन कवि पुस्तामा एब्गिनी एब्तुसेन्को सर्वाधिक चर्चित मानिन्छन्। उन्नाइस वर्षको उमेरमा उनको पहिलो कवितासंग्रह ‘द प्रस्पेक्टस अफ द फ्युचर’ (१९५१) प्रकाशित भएको थियो। उनको दोस्रो कवितासंग्रह ‘द थर्ड स्नो’ (१९५५) जस्तो रचनाबाट उनी कम्युनिस्टविरोधी युवा पुस्ताका प्रवक्ता बन्न पुगे। कम्युनिस्टहरूबाट यस संग्रहको प्रशंसाभन्दा निन्दा नै बढी भयो। त्यसपछि उनले आफ्ना कवितालाई बदल्ने प्रयत्न गरे। त्यही प्रयत्नस्वरूप उनले ‘जिमा जक्सन’ लेखे जसमा उनको विद्रोही स्वभाव मुखरित त भयो तर स्टालिनवादको विरोधका कारण यो कृति पनि आलोचनामुक्त रहेन।
उनको पहिलो लामो कविता ‘जिमा जक्सन’ १९५६ मा प्रकाशित भएको थियो। उनलाई अन्तर्राष्ट्रिय प्रसिद्धि भने ‘बाबियार’ शीर्षकको कविताबाट प्राप्त भयो जुन कवितामा उनले नाजीहरूको भत्र्सना गर्दै ‘इन्टरनेसनल’ सन्देश बिर्सिंदै गएकोमा आफ्ना देशका नागरिकको पनि आलोचना गरे। बाबियार नरसंहार सन् १९४१ मा भएको थियो, जसमा ९६ हजार मानिसको हत्या गरिएको थियो र तिनमा सबैजसो यहुदी थिए। त्यही विषयमा लेखिएको आवेगपूर्ण अभिव्यक्ति हो ‘बाबियार’ कविता।
ख्रुस्चेव र ब्रेझनेभकालमा उनी राज्यसत्ताबाट धेरै नै सम्मानित रहे। सोभियत संघको स्टालिनपछिको बदलिँदो अवस्थाका बारेमा उनले लेखेका कविता विशेषतः स्टालिनविरोधी र गैरकम्युनिस्टका बीचमा प्रशंसित रहे। उनले केही स्टालिनवादी कविलाई ‘अफसाइड गोल’को आरोप लगाइरहेका बेला स्टालिनवादीहरूले उनलाई कम्युनिस्ट नाममा ‘अफसाइड गोल’को संज्ञा दिन थाले। उनले स्टालिनवादीलाई कवि मान्न छोडे भने स्टालिनवादीहरूले पनि उनलाई कवि मान्न छोडे।
एब्गिनी अमेरिकामा पनि निकै नै मन पराइए। उनले कविता पाठ गर्नका लागि मात्र अमेरिका भ्रमणको मौका पाएनन्, अमेरिकाकै ओक्लाहोमको द युनिभर्सिटी अफ तुल्सामा कविता र युरोपेली सिनेमाका बारेमा प्राध्यापनको काम गर्ने मौका पनि पाए।
उनले लेखनमा आफू विचारप्रति प्रतिबद्ध रहेको बताउँदा बताउँदै लेखकीय स्वतन्त्रताको कुरा पनि गरे। माक्र्सवादप्रति प्रतिबद्धताको कुरा उठाउने समालोचकहरूलाई उनले कट्टरपन्थीको आरोप लगाए। यस प्रसंगमा उनले कलाका क्षेत्रमा पूर्ण स्वतन्त्रताको माग गरे। सन् १९६० को दशकमा स्टालिनवाद माथिको आक्रमणकै कारण उनी रुसमा युवाहरूका नेता बन्न पुगेका थिए। सन् १९६८ मा उनले ‘परागुवामा रुसी ट्यांक’ भन्ने कविता लेखे। चेकोस्लोभाकियामा रुसी आक्रमणको निन्दा गरिएको यो कविताले उनको चर्चालाई अझै बढायो।
उनी राजनीतिमा पनि खुलस्त ढंगले लागे। स्टालिनको पक्षधर हुँदा पनि र विरोधी हुँदा पनि उनले आफूलाई ‘क्रान्तिकारी कम्युनिस्ट’ नै ठाने र राजनीतिमा उनको स्वर मुखर बनिरह्यो। नोबेल पुरस्कार विजेता सोल्जेनित्सिनलाई १९७४ मा गिरफ्तार गरेर देश निकाला गरिएपछि उनी त्यसको विरोधमा उत्रिए। उनले तत्कालै ब्रेझनेभलाई टेलिग्राममार्फत विरोधपत्र नै पठाए। उनले केजीबीका प्रमुख तथा सोभियत कम्युनिस्ट पार्टीका भावी महासचिव युरी आन्द्रोपोभलाई समेत कडा शैलीमा पत्र लेखेर भने, ‘सोल्जेनित्सिनलाई स्वीकार गर। उनको लेखक संघको सदस्यता फिर्ता गर। अनि ‘क्यान्सर वार्ड’ प्रकाशित हुँदैछ भनेर तुरुन्तै घोषणा गर।’ उनले यसका साथै अर्को सुझाव पनि दिँदै भने, ‘बोरिस पास्तरनाकले पाएको नोबेल पुरस्कार, जसलाई सोभियत सरकारको दबाबमा लेखकले लिएका थिएनन्, मृत्युपछि त्यो पनि उपलब्ध गराउने काम गरियोस्।’
०००
एब्गिनीको पहिलो उपन्यास ‘वाइल्ड बेरिज’ (१९८१) धेरै नै आलोचित रह्यो। विशेषगरी माक्र्सवादीहरूबाट आलोचित यो उपन्यास अन्यबाट भने प्रशंसित नै रह्यो। उनी १९८७ मा ‘अमेरिकन एकेडेमी अफ आर्ट्स एन्ड साइन्सेज’को सदस्यमा मनोनीत गरिए। यो मनोनयनबाट उनी निकै ठूलो विवादमा परे। रुसका अर्का चर्चित कवि तथा उनका मिलनसार साथी जोसेफ ब्राँडस्की एब्गिनीसँग रिसाए। सन् १९९३ मा एब्गिनीलाई ‘स्वतन्त्र रूसका रक्षक’ भन्ने पदक दिइयो। यो पदक सन् १९९१ अगस्टको हार्डलाइन कम्युनिस्ट विद्रोहको विरोध गर्नेहरूमध्येका अग्रणीलाई दिइएको थियो।
रुसमा गोर्भाचोभ सत्तामा आएपछि एब्गिनीको महत्व अझै बढ्न पुगेको थियो। उनले स्टालिनद्वारा सताइएका व्यक्तिको नाममा केजीबी हेडक्वाटर अगाडि एउटा स्मारक बनाउने योजनाको समर्थन गरेपछि उनलाई कम्युनिस्टबाट पतन भएको आरोप लगाइयो। यसपछि उनी कम्युनिस्टहरूको चर्चामा रहेनन्। उनको चर्चा कम्युनिस्टविरोधीका बीचमा भने झनै बढ्दै गयो।