आममाफी
भएन लाठीचार्ज कसैमाथि पनि
भएन धरपकड कसैमाथि पनि
बस् उनीहरूले
अलिकति होहल्ला मात्र गरेका हुनपिएका हुन् अलिकति रक्सी
तानेका हुन् अलिकति गाँजा
बाटोमा हिँडिरहेकी युवतीलाई सिट्ठी मात्र
बजाएका हुन् गरेका होइनन् केही
उनको घाँटीबाट सल मात्र तानेर मिल्काइदिएका हुन्
रात छिप्पिँदै गएपछि
झगडा झाँगिँदै गएपछि
एकअर्कालाई
एकदुई मुक्का मात्र हानेका हुनएकदुई लात मात्र बजारेका हुन्
केही भएकै होइन
वरिपरिकाले मध्यरातमा एकछिन
निदाउन मात्र नपाएका हुन्
एकदुई जनाको हात मात्र भाँचिएको हो
प्रधानमन्त्रीको घरको गेट भाँचिएको होइन
एकदुई जनाको नली हाड मात्र चर्केको हो
राष्ट्रपतिको घरको पर्खाल चर्केको होइन
एकदुई जनाको करङ मात्र फुस्केको हो
सभामुखको घरको रेलिङ फुस्केको होइन
किन गर्नुपर्यो लाठीचार्ज
किन गर्नुपर्यो धरपकड
लाठीचार्ज त
बलात्कार गरी फालिएकी बालिकाको
न्यायका निम्ति
नारा लगाइरहेका
निहत्था महिलामाथि गर्नुपर्छ
लाठीचार्ज त
ज्याला नपाएर धर्ना बसिरहेका
भोका मजदुरमाथि गर्नुपर्छ
लाठीचार्ज त
भ्रष्ट मन्त्रीको सवारीअगाडि
कालो झन्डा देखाउने आन्दोलनकारीमाथि गर्नुपर्छ
अनि गिरफ्तारी
गिरफ्तारी त
महँगीको विरोध गर्दै
सडकमा उत्रेका
झुत्रेझाम्रेहरूको गर्नुपर्छ
गिरफ्तारी त
हस्पिटलको गेटअगाडि
उपचार पाऊँ भन्दै अनशन बसेको
बिरामी छोराको निर्धन बाउको हुनुपर्छ
गिरफ्तारी त
मोटो होटल मालिकको होइन
लालीको सट्टा ओठमा भातको माड लगाउन
देहव्यापार गर्ने कंकाल शरीरको हुनुपर्छ
लाठीचार्ज र गिरफ्तारीजस्तो
मूल्यवान् कुरा
जो कोहीमा कहाँ लागू हुन्छ
यो त
सचेततापूर्वक आवाज उठाउने
सचेत युवाहरूलाई शोभा दिन्छ
रातिराति मसाल बालेर
उज्यालो खोजी हिँड्ने
बागी मान्छेलाई सुहाउँछ
यसैले
अलिकति रसरङ गर्ने
साथीभाइसँग अलिकति नै झैझगडा गर्ने
अलिकति सार्वजनिक सरसामान तोडफोड गर्ने
भट्किला गँजडीहरूमाथि
बेवकुफ बबुराहरूमाथि
आफ्नै भाइछोराको छाया देख्ने
ठूलो मान्छेबाट आएको
आममाफीको घोषणा मुताविक
भएन लाठीचार्ज कसैमाथि पनि
भएन धरपकड कसैमाथि पनि।