दाहिने आँखो
कथा
त्यस दिन मेरो दाहिने आँखो फर्फराएथ्यो, भएको त्यति नै हो।
स्त्रीको देब्रे आँखो फर्फराउँदा शुभ हुन्छ, दाहिने फर्फराउँदा अशुभ हुन्छ भन्ने सोझा, गाउँले भारतीयहरूको विश्वासप्रति मलाई कहिल्यै पनि विश्वास भएन। पुरुषहरूका लागि विपरीत विधान छ, दाहिने फर्फराए शुभ, देब्रे अशुभ। यस्ता नचाहिँदा कुरामा मलाई एकरत्ति पनि विश्वास छैन।
जहिलेदेखि मैले आमाबुवाभन्दा बाहिरको संसारबारे थाहा पाएँ, स्वच्छन्द जीवन बाँचे। एउटी हिँडडुल गर्न सक्ने संस्कृति नै बनिसकेकी आफ्नी आमाको मूल स्वभावको ठीक उल्टो मैले हरेक परम्पराहरूबाट आफ्नो कन्सिरीलाई जोगाइरहेँ। भत्भती पोल्ने र झरी पर्ने सयौं सल्लाहपछि पनि मेरो दिमाग आस्था र अन्धविश्वासहरूका सामु झुक्न सकेन। कलेज पढ्दाताकाका क्रान्तिकारी उमेरमा त मैले ईश्वरको अस्तित्वप्रति नै पनि औंला ठड्याइदिएँ, विभिन्न व्याख्याहरू गरेर। विवाहपछि सबैले मलाई आधुनिक गृहिणीकै रूपमा स्वीकार गरे। काँचका छनछन बज्ने चुरासँग पतिको दीर्घायुको सम्बन्ध, टीका सिन्दूरको रंग पत्नीत्वको अनिवार्य सर्त र अरू अझै के के के के। मैले किचलोबाट आफ्नो ऊर्जालाई जोगाइराख्न अथवा कहिलेकहिले फेसनका लागि मात्र पनि गरेजस्तो गरेँ, बस्।
गर्भवती हुँदा पनि अदृश्य रक्षाहरूबाट जोगिई नै रहेँ। नाडीमा कालो कपडामा बेरेर हिङ बाँध्नु, कतै टाढा हिँड्दा सलाई लिएर हिँड्नु, अत्तर, फूल, मेहदी प्रयोग नगर्नु जस्ता अन्धमान्यताहरू मलाई सुनाइरहियो। म केवल आफ्नो गाइनोक्लोजिस्टको भरमा चलिरहेँ। अनि जब छोरो जन्मियो, अरूको आँखा लाग्नबाट जोगाउने विभिन्न उपाय भनियो। मैले केही नमानेर आफ्नै तरिकाले स्याहारेँ। ऊ राम्रो स्याहारसुसारले स्वस्थ, तन्दुरुस्त र रह्यो। यद्यपि, बूढी भइसकेकी मेरी विधवा सासूलाई त्यस घोर नास्तिकताले धेरै आहत गर्यो। उहाँ सहर छाडेर सधैंका लागि आफ्नो पुख्र्यौली गाउँ जानुभयो, जहाँ देउता, पुर्खा र पुराना चलनहरूले पाइलापाइलामा रचेका परिवेशमा उहाँको जीवन कुनै हारमा जडिएको मोतीसरह सहज भयो।
अँ, त्यस दिन मेरो दाहिने आँखोे फर्रफराएथ्यो, जुन एकरत्ति पनि वास्ता गर्नुपर्ने कुरो थिएन। मेरा श्रीमान् अफिसियल कामको सिलसिलामा एक हप्ता अघिदेखि कतै बाहिर गएका थिए। र, आजै साँझ घर फर्किने कुरो थियो। म र मेरो पाँचवर्षे छोरो नैवेद्य घरमा थियौं। छोरा रामायणको एनिमेसन मुभी हेर्दै थियो र म बेलुकीको खानाको तयारीका लागि चना भिजाउँदै थिएँ। धेरै दिनदेखिको थकाइ बिसाउन रमाउँदै घर फर्किने श्रीमान्को साँझलाई हार्दिकताले सजाउने तयारी लगभग पूरा हुनै लागेको थियो। ओछ्यानमा प्राकृतिक दृश्यको बुट्टा भएको नयाँ नरम तन्ना ओछ्याएँ। बेलुकीको खानामा छोलाभटुरा बनाउने सोचेँ। भान्सामा भएका बेलामा झ्यालबाट बाहिर हेर्दा टुक्रिँदै जोडिँदै गरेका बादल देखिएपछि मेरा ओठबाट एकाएक एक गजल उच्चारित हुन पुग्यो,
जब तिमी आउने खबर मगमगाउँछ
तिम्रो सुगन्धले यो घर मगमगाउँछ
त्यही बेला अचानक ! सेलफोनको प्रिय पाश्चात्य रिङ्टोन बज्यो। हामीले व्याकुल संयमताका साथ एकअर्काको खबर बुझ्यौं। र, उनले आफ्नो हाकिमले एउटा जरुरी फाइल मगाएको कुरा बताए, जो घरमै छुटेको थियो। मैले त्यो फाइल उनको अफिसमा पुर्याइ दिनुपर्ने थियो। त्यसमा मैले ‘हवस्’ भन्नुपर्ने थियो, र मैले भनेँ पनि। त्यसै पनि तरकारी किन्ने, बिजुलीको बिल तिर्न जाने, गहुँ पिसाउनेदेखि लिएर बैंकको लकरबाट गहना ल्याउने र फेरि राख्ने जस्ता सम्पूर्ण कामहरू म एक्लै नै गर्दै आएकी छु। मसँग एउटा टिलिक्क परेको स्कुटी छ र म अनुशासित ड्राइभरमा गनिन्छु।
फोन राख्नेबित्तिक्कै जाने तर्खर गर्न थालेँ। छरितो जिन्स, टिमिक्क परेको कुर्तीमा हिँड्न तयार। यस्तो बेलामा छोरो हेर्दिने पल्लाघरे साइँली काकी काइदाकी छिमेकी ठहरिन्थिन्। उनका छोराबुहारी सुदूरदक्षिणको कुनै सहरमा इन्जिनियर छन्। काकीकी प्रौढ भइसकेकी एउटी छोरी पनि छन्, जो पति र छोराछोरीसँगै कतै विदेशमा ‘सेटल’ भएकी छन्। साइँला काका जागिरबाट रिटायर भइसकेका छन्। उनको साँझबिहान लामो हिँडाइ र क्लबबाट पनि समय नसकिएपछि आफ्नो अनन्त वैराग्यबाट भाग्दै वृद्धा श्रम, अनाथालाय, मन्दिर या रेल स्टेसनहरूमा घन्टौंसम्म जीवनको खोजीमा भौंतारिन्छन्। तर काकी चाहिँ दिनभरि घरैमा बसिरहन्छिन्। थाइराइड उनको त्यति खतरनाक रोग हैन, जति भयावह छ उनको सामाजिकता। उनी दिनभर आफ्नो घरको बार्दलीमा भएको स्थायी कुर्सीमा बसिरहन्छिन् र छरछिमेकका भएभरका घरका भएभरका गतिविधिहरूमाथि दृष्टि लगाइरहन्छिन्। कहिलेकाहीँ त आधा रातसम्म पनि यी एक्ली बूढी बाटाको निशब्द अँध्यारालाई एकतमासले हेरेर टोलाइहेकी देखिन्छिन्।
यी दम्पती आफूसँग मात्र हैन, एकापसबाट पनि अघाएका छन् र त्यही भित्री शून्यताले उनीहरूको सामाजिक व्यक्तित्वलाई सुमधुर बनाइदिएको छ। छरछिमेकका हरेक घरबेटी र भाडावाला परिवारलाई उनीहरूको अभिभावकत्वले झरनाझैं छमछम छम्किरहन्छ। काकी कतै तीर्थ गएर फर्किंदा भएभरका छिमेकीहरूलाई सिन्दूर, चूरा, फलाम तामाका बाला ल्याइदिन कहिल्यै बिर्सन्नन्। होली, तिहार, करवाचौथमा म पनि यी अतृप्तालाई ढोग्ने गर्छु, आन्टी भन्छु, छोरोलाई हजुरआमा भन्न सिकाएकी छु र त्यसको सट्टामा भरिपूर्ण उपकृत साहिँली काकी परेका बेलामा मेरो छोरोलाई यस्तो स्नेहले हेर्छिन्, जस्तो कुनै साख्खे हजुरआमाले आफ्ना वंशजका लागि मात्र गर्छन्।
त्यसैले नैवेद्यका लागि त कुनै गाह्रो थिएन। उसलाई लुगा फेरिदिएर साहिँली काकी कहाँ पुर्याउन तयार गर्दागर्दै दाहिने आँखोे बेस्सरी फर्फरायो।
सम्झिएँ, आमा दाहिने आँखोको अपशकुनसँग कति धेरै डराउनु हुन्थ्यो, विशेष गरेर हामी केटाकेटीलाई केही अनिष्ट भइहाल्छ कि भनेर।
‘छोरालाई त सँगै लिएर जान पनि सकिन्छ।’ मेरो अन्तरबाट कसैले भन्यो।
‘त्यस्तो अपशकुन सपशकुन भन्ने केही हुँदैन।’
म फेरि छोराको केश कोरिदिन थालेँ। सधैंझैं उसको निधारमा म्वाइँ खाएँ र उसको अनुहारमा हेरेर मुस्काउन लागेकी मात्र के थिएँ, परेलामा फेरि फर्रफराइ उफ्रियो।
‘सँगै लिएर जाँदा के बिग्रन्छ ? ’
यसपल्ट आँखो झिम्किँदाको जस्तो निन्याउरो स्वरको कम्पन थियो र मैले निक्र्यौल गरेँ, ‘नैवेद्यलाई लिएरै जान्छु।’
बाहिर निकै बेरदेखि परिरहेको पानी भर्खर रहेको थियो र बादलका टुक्राहरू आकाशबाट पन्छिँदै थिए। भर्खर आइपुगेको कडा घाममा एक प्रकारको घोचाइ थियो। मैले स्कुटी कम्पाउन्डबाट बाहिर निकालेँ र स्टार्ट गर्न नपाउँदै नैवेद्य कुद्दै आयो। उ अगाडिपट्टि चढेर उभियो। दाहिने आँखोे दिक्कलाग्दो गरी फुर्फुरराइरहेकै थियो। दिमागमा एउटा कुरूप कल्पना आइपुग्यो– कतै स्कुटी केहीसँग ठोक्कियो भने, चिप्लियो भने अथवा लड्यो भने त अगाडि उभिएको नैवेद्यलाई मलाईभन्दा बढी चोट लाग्छ। क्रूर कल्पनाले मानौं मेरो शरीरलाई निचोरिरहेको थियो। पिँडुला र नाडीमा यति बिघ्न कमजोरी अनुभूत भयो कि म स्कुटीलाई स्ट्यान्ड लगाएर चुपचाप छोरालाई हेर्न थालेँ। मनको अवस्था निल्नु न ओकल्नुको जस्तो भएको थियो। मैले छक्क परेर आफैंलाई सोधेँ, ‘किन आज म छोरालाई साहिँली काकीसँग छोड्न चाहिरहेकी छुइनँ ? ’ भित्रबाट तुरुन्त उत्तर आयो, ‘साहिँली काकीको के भर ? बुढेसकालको शरीर हो। छोरो उम्किएर दौडिँदै गाडी कुदिरहेको सडकमा पुग्यो भने ? कुनै गरुंगो चिज झरेर टाउकामा लाग्यो भने ? एक्लै छततिर दौडियो भने ? ’ यसरी मेरो लागि साहिँली काकी पहिलोपल्ट केटाकेटीलाई सम्हाल्न नसक्ने भइन्।
तर छोरोलाई स्कुटीमा अगाडि उभ्याउनु पनि त सुरक्षित छैन ? मन बोझिल हुन थाल्यो। जाबो एउटा काम्दै गरेको परेलाले मेरो १० वर्षको ड्राइभिङ दम्भलाई खरानी बनाइदियो। अनि सोचेँ, श्रीमान्लाई फोन गरेर ‘सक्दिनँ’ भन्दा के हुन्छ ? तर यो कमजोर विचार एउटा पलको पँखेटा चढेर आयो र अर्को पलको पखेटा चढेर उड्यो। एक त मलाई थाहा थियो, काम साँच्चै जरुरी थियो। अर्को कुरा एक हप्तापछि घर फर्किँदै गरेको आफ्नो जीवनसाथीलाई म निराश बनाउन चाहन्नथेँ।
छोरालाई मैले स्कुटीमा आफ्नो पछाडि बसाएँ। उसका साना कोमल हातलाई आफ्नो कम्मरमा बाँधेँ र स्वरलाई सकेसम्म आदेशात्मक बनाएर भन्दै मात्र थिएँ,
‘नानु, मलाई कस्सेर समात्नु है।’
छेउको बाल्कोनीबाट साहिँली काकीको मन नलगेको स्वर हामी भए ठाउँ आइपुग्यो, ‘ओई ! आज नानुलाई पनि सँगै लिएर गएकी ? ’
‘हजुर, यसो सोचेँ, डुलेर आयो भने यसलाई पनि रमाइलो हुन्छ।’
‘मसँग पनि रमाउँछ यो।’ एक पलमा उनले नराम्रो मानेको जस्तो आवाजमा भनिन्। फेरि सम्हालिएजस्तै गरेर विवश प्रार्थनाजस्तै गरेर मेरो छोरोलाई बोलाइन्, ‘नानु, आउ हामी चोर पुलिस खेलौंला।’
‘नाई, म मामुसँगै जान्छु,’ उसले मेरो कम्मरमा कस्सेर समाउँदै भन्यो।
‘ल त, डुलेर आऊ तर सुन, तिम्रा हजुरबाले एक पकेट बेलुन ल्याउनुभएको छ। चाहिन्छ भने आऊ, एउटा अहिले नै फुकिदिन्छु।’
‘हैन, म फर्केर आएपछि लिन्छु। हजुर थुप्रै बेलुन फुकेर राखिराख्नु है हजुरआमा।’ उसले ठूलो र मक्ख गरेको आवाजमा भन्यो।
मेरो छोराले साहिँली काकीलाई हजुरआमा भनेर बोलाउँदा, विशेष गरेर सडकबाट जुन बेला छिमेकीका घरमा भित्रसम्म उसको मोहक सम्बोधन सुनिन्छ। साहिँली काकीका चाउरी परेको अनुहारमा कुन भाव आउँछ खै कुन्नी। तिनी एकाएक सुन्दर देखिन थाल्छिन्।
‘बाई नानु, छिट्टै आउनु है।’
पछाडिबाट उनको स्वर आयो र नैवेद्यले बाई गर्न आफ्नो हात मेरो कम्मरबाट झिकेको मात्र के थियो, मैले हत्तपत्त स्कुटी रोकेँ, ‘हेर, छोरा, तिमी राम्ररी समात्दैनौ भने लग्दिनँ म तिमीलाई ! जाऊ तिम्री साहिँली हजुरआमाकोमा।’
‘हैन, मामु, प्लिज ! अब छोड्दिनँ। प्रमिस।’
उसको अनुहारमा डर देखेर मलाई आफैंसग रिस उठ्यो। के भएको छ मलाई ? मैले उसलाई निधारमा म्वाइँ खाएँ र फेरि स्कुटी स्टार्ट गरेँ।
अब हामी मूल सडकमा थियौं। दाहिने आँखो नराम्ररी फर्फराइरहेको थियो। मुटु ठूल्ठूलो स्वरमा धड्किरहेको थियो। नाडीमा रिक्तता अनुभूत भइरहेथ्यो र म यस्तो आत्मविश्वासले स्कुटी चलाइरहेथेँ, जसरी मैले केटाकेटी छँदा साइकल पनि चलाएकी थिइनँ होला।
त्यतिबेलै नैवेद्य करायो,
‘मामु, घोडा।’
अगाडिबाट लुखुरलुखुर आइरहेको घोडालाई उसले हातका पाँचैं औंलाले देखायो। अरू कुनै दिन भएको भए म पनि केही बेर त्यो अरबी घोडालाई हेर्ने थिएँ। पहिले एकदुई चोटी मैले घोडाबालालाई पाँच, दस रुपैयाँ दिएर नैवेद्यलाई घोडा चढाएकी पनि थिएँ, सेलफोनको क्यामेरामा त्यस राजषी दृश्यको रमाइलो स्मृतिलाई कैद पनि गरेथेँ। त्यस्तो कमजोर क्षणमा, जुनबेला मेरो दाहिने आँखो फुर्फुराइरहेथ्यो, मेरो स्वतन्त्र दिमागले आफूलाई एउटी भीरु आमाका रूपमा फेरिदिएको जस्तो लाग्यो र मलाई थाहै भएन सानो चरो जस्तो चिरबिराएको आफ्नो सानो छोरोलाई कसरी कराएँ, ‘राम्ररी समात।’
गर्भवती हुँदा पनि अदृश्य रक्षाहरूबाट जोगिई नै रहेँ। नाडीमा कालो कपडामा बेरेर हिङ बाँध्नु, कतै टाढा हिँड्दा सलाई लिएर हिँड्नु, अत्तर, फूल, मेहदी प्रयोग नगर्नु जस्ता अन्धमान्यताहरू मलाई सुनाइरहियो।
उसको पकड फेरि कसिलो भयो र अनुहार मेरो पिठ्यूँमा टाँसियो, ऊ डराएको थियो भन्ने स्पष्ट थियो। म आफैंसँग फतफताएँ र आफ्नो होसहवास ठीक पार्नेबारे सोच्न थालेँ। यी पाँचसात मिनेटमा आँखो एकपल्ट पनि फर्फराएको थिएन। मैले गति बढाएँ र आफूमै फर्किएर छोरालाई सोधेँ,
‘नानु, रमाइलो लागिरहेछ नि, हैन ? ’
‘हजुर मामु, मज्जा भइरहेछ,’ ऊ फक्रिँदै गरेको कोपिला जसरी बोल्यो।
त्यसबेला म करिबकरिब सहज भइसकेकी थिएँ। यो अर्कै कुरा थियो, मैले भरिएको बजारको बाटो नरोजेर तलाउ किनारको भीआईपी सडक रोजेकी थिएँ, जुन दिउँसो करिबकरिब चकमन्न रहने गर्छ।
मौसम भोपालमा प्रायःजसो हुनेजस्तै सौम्य थियो। घाम कालो बादलका पाखुरामा डुबुँलाझैँ गर्दै थियो। तलाउका किनारामा युवायुवतीहरू थुम्काथुम्का जोडी बाँधेर बसेका थिए। पर पानीमाथि नाउमा एउटा माझी देखियो, जलसुन्दरीहरूलाई जाल हान्दै गरेको।
मन सहज भयो। मैले कम्मरमा कस्सिएको छोराको हातलाई बिस्तारै थप्थपाएँ। मेरो शरीरको भाषा बुझे जसरी ऊ फेरि फट्फट बोल्न थाल्यो।
‘मामु, बाबाको काम कतिबेरमा सकिन्छ ? ’
‘एक्कैछिनमा।’
‘त्यसपछि हामी के गर्ने ? ’
‘घर जाने।’
‘हैन मामु, हामी भारत भवन जाने।’ उसले भन्यो।
सपनाको जस्तो भीआईपी सडक सकियो। अब हामीलाई अति व्यस्त चौक पार गर्नु थियो। ठीक त्यसैबेला दाहिने आँखो फर्फरायो र निधार खुम्च्याइमा फेरियो। म अगाडि सडकमा दौडिँदै गरेका अन्य सवारीलाई ध्यानपूर्वक हेर्न थालेँ। स्कुटी हुइँक्याउन खोज्दै अडिँदै गर्न थालेँ। आत्मविश्वास एक एक गरेर भत्किँदै थियो र म अगाडि बढ्ने बित्तिक्कै यिनैमध्येको एउटा ठूलो ट्रक बेगले आउँछ र मलाई धूलोपीठो पार्दै जानेछ जस्तो लाग्न थालेको थियो। मेरा गोडा स्कुटीको दुईतिर भुइँमा टेकिएका थिए। के त्यो म नै थिएँ ? जो सधैं भन्ने गर्थें, स्कुटी चलाउँदा घरिघरि भुइँमा खुट्टा टेक्नेहरू काँचा ड्राइभर हुन्। ती त्रसित क्षणमा मेरो व्यवहार सिकारु स्कुटीचालकको भन्दा पनि खराब थियो। म कैयोँ चोटी अगाडि बढेँ र डर र व्यग्रताले रोकिएँ। थाहा छैन, म त्यसैगरी त्यहाँ तमासा भएर कतिञ्जेल उभिइरहने थिएँ ?त्यस मोडमा, जसलाई मैले सयौं चोटी पार गरिसकेकी थिएँ। तर, त्यस कार ड्राइभरको भलो होस्, जसले पछाडिबाट आएर सडक पार गर्ने इन्डिकेटर बाल्यो। मैले हत्तपत्त आफ्नो स्कुटीलाई त्यो ठूलो कारको ओतमा पुर्याएँ र त्यसैसँग समानान्तर हुँदै गएर सडक पार गरेँ।
अब हामी कमला पार्क भएको व्यस्त सडकमा थियौं। सडक चौडा बनाउन हुँदै गरेको काम, भर्खर परेको पानीको ग्याजग्याज र जुधुँलाझैँ गरेर जथाभावी दौडिँदै गरेका गाडीहरूका बीच मैले पहिलोपल्ट सोचेँ, यस सडकमा गाडी चलाउनु कुनै ठट्टा हैन। हामी शनि मन्दिरको अगाडिबाट निस्क्यौं र एकछिनका लागि मेरो मनले भगवान्को सम्मुख पुगेर घुँडा टेकेर हात जोड्यो, ‘हे भगवान्, रक्षा गर।’
स्कुटीको गति कति कम भएथ्यो भन्ने मलाई त्यसबेला मात्र थाहा भयो, जब पछाडिबाट आउँदै गरेका स्कुले केटाकेटीका साइकलले मलाई उछिनेर गए। छोरालाई अरू एकदुई पल्ट हकारेँ, अथवा त्यो मेरो तनाव थियो, जुन शब्दमा परिणत भएको थियो।
‘चुपचाप टाँसिएर बस, नभए अबदेखि सँगै ल्याउँदिनँ।’
आमा डराएको थाहा पाएपछि केटाकेटीहरू ऊभन्दा धेरै डराउँछन्। नैवेद्य बाँकी भएभरको आफ्नो शक्तिले मसँग टाँसियो। उसको निश्वास पनि डराएको जस्तो थियो र म विचारहीन मन, काम्दै गरेका अपशकुन आँखो, खुम्चिएको निधार र हदैसम्मको सजग दिमागले स्कुटी चलाइरहेकी थिएँ।
अफिस आइपुग्यो। मनले थकित जितले जसरी सास फेरियो। स्कुटी पार्क गर्नै लागेकी थिएँ, छोरो बिल्डिङतिर दौडियो।
‘नैवेद्य !’
मेरो स्वर यति ठूलो भएर निस्कियो, छेउछाउका मानिसहरूको सहज गति नै रोकियो। गल्ती महसुस हुने बित्तिक्कै मलाई संकोच लागेर आयो। छोराका छेउमा गएर सानो स्वरमा हकारेँ। र, मलाई उसको यति भयंकर असुरक्षा महसुस भयो, मैले उसलाई जुरुक्क उचालेर बोकेँ। पाँच वर्षको स्वस्थ बालकलाई बोकेर भर्याङ उक्लिँदै गरेकी देखेर मान्छेहरू विस्फारित आँखोले हेर्दै थिए मलाई। मैले छोरालाई काँधमा टाँसेकी थिएँ र कुनै पनि खतरनाक स्थिति आएमा म अगाडि हुनेछु, अनिष्टले मेरो छोरालाई एक रौं जति पनि छुन सक्ने छैन भन्ने मेरो दिमागमा तय भइसकेको थियो। मनको स्थिति त्यो माउ गाईको जस्तो भएको थियो, जो आफ्नो बाच्छाको रक्षाका लागि ब्वाँसाजस्ता कुकुरको सामना गर्न पनि तम्तयार हुन्छे।
हामी तेस्रो तलामा रहेको अफिसको प्यासेजमा पुग्यौं। आफ्नो परिचय दिएर मैले फाइल अधिकृत अनुहार परेको एउटा मान्छेलाई दिएँ। काम गर्दै गरेका क्लर्कले मलाई बीचैमा रोकेर फाइल त्यहीँ छोडिदिनका लागि भने र हाकिम कहाँ उनले पुर्याइदिने बताए। तर म त्यहीँ उभिइरहेँ, नबुझ्ने ढीठ मान्छे जसरी। उनले गर्दै गरेको काम छोडे, विचित्रसँगले मलाई हेरे र फाइल टिपेर आफ्नो हाकिमको क्याबिनतिर गए। उनलाई फाइलसँगै क्याबिनमा छिरेको देखेपछि मात्र मलाई फाइल उनको बोसका हातमा सही सकुशल पुग्छ भन्ने भयो। छोरालाई कस्सेर हातमा समात्दै भर्याङ ओर्लिंदै गर्दा मैले फर्फराइरहेको परेलाको एउटा रौं उखेलेर फ्याँकिदिएँ। त्यसो गर्दा अनिष्ट टर्छ भन्ने सुनेथेँ।
मन पहिलेभन्दा केही हलौं भएको थियो। एक त आधा काम निर्विघ्न पूरा भइसकेको थियो। अर्को, कुनै कष्टप्रद अवस्थामा परेका बेलामा ढिलो भयो भने हामी परिस्थितिको सामना गर्न स्वाभाविक रूपमा तयार भइसकेका हुन्छौं। हामी नदीमा भिजेका गोडाले घाटका चिप्ला खुड्किला चढ्दा कति धेरै सतर्क रहन्छौं। एकछिन पनि हाम्रो ध्यान भंग हुँदैन, म त्यही मनस्थितिमा पुगेकी थिएँ।
छोरालाई पछाडि बसाएँ, स्कुटी स्टार्ट गरेँ चारैतिर हेरेर सोचेर अगाडि बढाएँ। अफिसबाट निस्किनेबित्तिक्कै व्यस्त सडक पार गर्नु थियो। मैले पर्खिएँ। एउटा जिप निस्कियो र त्यसैको आडमा अर्को सडकमा निस्कियौं हामी। त्यसपछि हामी एकदम बायाँ किनारबाट बिस्तारैबिस्तारै बढ्दै थियौं। म आफैंलाई लगातार आश्वस्त पारिरहेकी थिएँ, सब चिज सामान्य छ।
‘मामु, बाबाको काम भयो ? ’
‘भयो छोरा।’
‘त्यसो भए अब हामी भारत भवन जाने।’ धेरबेरपछि ऊ खुसी देखियो।
भारतभवन नैवेद्यलाई अति मनपर्ने ठाउँ हो र घरिघरि त्यहाँ जान कर गरिरहन्छ। लामोचौडा क्यानभासजस्तै परिसर, सजावटमा राखिएका ढुंगाका मूर्ति, सेरामिक वर्कसपका आश्चार्यजनक शिल्प र तलाउको मनमोहक किनार, जहाँ जंगली फूलमा पुतलीहरूको एउटा बस्ती बसेको छ। मानौं ती सबैले उसलाई बोलाइरहेका हुन्छन्। त्यहाँ जाँदा ऊ प्रायः आफ्नो ड्रइङकपीमा किरिङमिरिङ पेन्टिङ बनाउने गर्छ। त्यसैले, छोराको मुहारको खुसी हेर्न उसलाई त्यहाँ लैजाने अवसर कहिले पनि छुटाउँदिनँ।
‘हैन नानु, आज हैन।’
‘किन नजाने ? ’ ऊ स्कुटी लर्खराउने गरी हल्लियो।
डरले मैले स्कुटी रोकेँ र गोडाले भुइँ टेकेँ। ऊ जिद्दी गरिरहेको थियो र म सकेसम्मका कुराले उसलाई हुँदैन भनिरहेथेँ। ऊ कसै गरी मानेन, र मैले ग्लानीपूर्ण एउटा झूट बोल्नुपर्यो।
‘नानु, स्कुटीमा पेट्रोल सकिन लागेको छ, हामीलाई घर पुग्ने जति मात्र बाँकी छ। भारत भवन गयौं भने बीचैमा पेट्रोल सकिन्छ। अनि घर कसरी जानु ? बाबा पनि यहाँ हुनुहुन्न अनि हामीलाई लिन को आउँछ ? ’
उसका साना आँखोले मेरो व्याकुल अनुहारलाई शतप्रतिशत पत्याए र स्कुटी स्टार्ट गर्दैगर्दा मैले आफ्नो दाहिने आँखोलाई गह्रौँ मनले गाली गरेँ, जसका कारण मैले आफ्नो अबोध छोरालाई ढाँट्नुपर्यो।
अब हामी घरतिर लागेका थियौं। छेउबाट मेरै उमेरकी जस्ती देखिने एउटी स्त्री कार चलाउँदै अगाडि गइन्, छेउको सिटमा नैवेद्यजत्रै एउटा बालक बसेको थियो र ड्राइभिङ गर्दै गरेकी आफ्नी आमासगँ खुसीसाथ कुरा गर्दै थियो। त्यसबेला मैले थाहा पाएँ कि डर, आस्था र अन्धविश्वासको गच्छे र शक्तिसँग कति गहिरो नाता छ भन्ने। यदि म यसबेला यो साधारण दुईपांग्रेमा हुन्नथिएँ, जसलाई चारैतिरबाट आउने वाहनहरूसँग त्यसैगरी सतर्क रहनुपर्छ, जसरी तलाउमा एउटा सानो, एक्लो माछालाई ठूला माछा र गोहीहरूसँग। यदि म कुनै लक्जरी कारमा भएकी भए दाहिने आँखोको अपशकुनले मलाई यति धेरै त्रसित गराउने थिएन कि त ? ईश्वर, धर्म र अन्धविश्वास भनेका कमजोरहरूले बनाएका गुफाहरूका नाम हुन्।
हामी जति जति घर नजिक पुग्न लाग्यौं, मेरो आफूसँगको भर फर्किन थाल्यो। हेन्डिलमा नाडीको शक्ति बढ्न थाल्यो र कोलोनी पुग्नुभन्दा पहिलेको फोरलेन हाइवेलाई इन्डिकेटर बालेर मैले सहजताका साथ पर गरेँ।
रात हुनेबित्तिकै भरभरका नास्तिकहरू आस्तिक बन्दछन्। मनले यो प्रसिद्ध भनाइलाई दोहोर्याथयो र मुस्कुरायो। मैले स्कुटी आफ्नो घरअगाडि रोकेँ। हातमा फुकेका बेलुन लिएर बालकोनीमा उभिएकी साहिँली काकी सम्भवतः नैवेद्यकै प्रतीक्षामा थिइन्।
‘नानु हेर, तिमीलाई कति धेरै बेलुन फुकेर राखिदिएकी छु। आऊ खेलौं।’
छोराले प्रश्नले भरिएका आँखोले मतिर हेर्यो र म मुस्काउने बित्तिक्कै दौडियो।
मलाई हाँसो उठिरहेछ, यो असत्ति दाहिने आँखो अझै पनि फुर्फुराउँदैछ।
अनुवादः सुमन पोखरेल