सासू प्रशासन र बुहारी पदवी
बहस
हाम्रो पारिवारिक संरचनामा सासू र बुहारीको प्रत्यक्ष सम्बन्ध रहन्छ। सासू-बुहारीको पारिवारिक पृष्ठभूमि फरकफरक हुन्छ। यसरी फरक पृष्ठभूमिबाट आएका दुई महिलाहरूको प्रत्यक्ष सम्बन्ध तेस्रो पारिवारिक पृष्ठभूमिमा रहन्छ, जुन विवाहले जोडेको हो। विवाहसँगै महिलाका लागि अनगिन्ती नियम, कानुन र मान्यताहरू झाँगिन्छन्। अर्को परिवारबाट विवाह गरेर आएका महिलाहरू ती मान्यताको कसीमा रहनुपर्छ।
सासू र बुहारीको सम्बन्ध न्यानोभन्दा बढी चिसो रहन्छ भन्ने मान्यता छ। सुरुआती दिनहरूमा शासकका रूपमा सासू र शासितको रूपमा बुहारी रहनेजस्तो देखिन्छ। जीवनको पछिल्लो समयमा आइपुगेपछि शासितजस्तो सासू र शासकजस्तो बुहारी लाग्छ।
खासमा त्यसो होइन। समाजका सम्बन्ध, भूमिका, पारिवारिक संरचना, उखानहरूलाई पितृसत्ताले तयार पारेको हो। त्यसका कर्ताहरू आइमाईलाई बनाएको छ। आइमाईलाई सधैं परिभाषा, उखान, त्याग, बलिदानको टोकरीमा परिभाषित गरेर राख्छ। ती परिभाषाहरूभित्र स्थायी अवधारणा बनाइएको छ। जति पनि आइमाईमाथि बनाइएका अवधारणाहरू छन्, तिनले आममान्छेको मनोविज्ञानलाई एउटा छाप छोडेको हुन्छ। मनोविज्ञानमा बसेको छाप प्राकृतिक कुरा हो जस्तो बनाइदिएको छ। यसरी महिलामाथि बनाइएका अवधारणाहरू सत्यजस्तो बन्न पुगे।
मनोवैज्ञानिक रूपमा आइमाई जातिलाई निर्बलियो बनाउने खालका भूमिका र अवधारणा स्थापित छन्, जसका बलिया उदाहरण सासू र बुहारी नै हुन्। समाजमा शासन गर्ने कसी र शक्ति पनि तिनै अवधारणा र परिभाषा हुन्।
आवरणमा आइमाईलाई नै उभ्याएर आइमाईमाथि नै राज गर्न सकेकाले नै पितृसत्ता आजसम्म टिक्यो। आइमाई जातिले टाउको उठाउन सकेनन्। टाउको उठाउन खोज्यो कि घनले ढुंगामा हानेझेँ पितृसत्ताले हान्छ। हरेकजसो घरपरिवारमा देखिने सासू प्रशासन र बुहारी जुनीमाथि पितृसत्ताले शासन गठिलो र मजबुत बनाउँछ।
सासू प्रशासन
सासू व्यक्ति हो। सासू प्रशासन परिवारको मियो र एउटा सिंगो संस्था हो। सासू कर्ता हो। समाज, संस्कार, धर्म, संस्कृति, रीतिरिवाज ‘सासूप्रशासन’को कार्यकारिणी हो। बाहिरबाट हेर्दा सासूप्रशासनको हर्ताकर्ता र प्रमुख सासू देखिन्छिन्। सासूप्रशासन जहिल्यै बुहारीको ठीक विपरीत धु्रव (प्रतिपक्ष)मा उभिएजस्तो देखिन्छ। बुहारीलाई जहिल्यै चोर औंला उठाएर खडा हुन्छ।
झट्ट हेर्दा सासूप्रशासन सासू (आइमाई)द्वारा सञ्चालित देखिन्छ। तर, सासूप्रशासनभित्र अजंग दाह्रा फैलाएर पितृसत्ता उभिएको हुन्छ। पितृसत्ताको परिकल्पनाअनुरूप सासूप्रशासनका नियमहरू स्थापित भएका छन्। पितृसत्ताको दिमागबाट निर्मित छ, सासूप्रशासन। प्रत्यक्ष रूपमा सासू हावी भएको या सासूले लाए सिकाएको जस्तो देखिए पनि पितृसत्ताको हातमा हुन्छ, सासूप्रशासनको रिमोट।
सासूलाई दबाब हुन्छ घरको मर्यादा, कुलको इज्जत जोगाउन। छोराछोरीलाई संस्कार सिकाउन आमा बढी जिम्मेवार भएजस्तै सासूले पनि बुहारीलाई नयाँ संस्कार सिकाउनुपर्ने बाध्यता देखिन्छ। बुहारीलाई वशमा राख्दिनँ भनेर सासू उदार भइन् भने पनि त्यो उदारताको उपभोग गर्न पाउँदिनन्। समाजका अनेकन नियमले सासूलाई दबाब दिन्छ।
सासू र बुहारीको सम्बन्ध न्यानोभन्दा बढी चिसो रहन्छ भन्ने मान्यता छ। सुरुआती दिनमा शासकका रूपमा सासू र शासितको रूपमा बुहारी रहनेजस्तो देखिन्छ। जीवनको पछिल्लो समयमा आइपुगेपछि शासितजस्तो सासू र शासकजस्तो बुहारी लाग्छ।
पितृसत्ताले आइमाईको अनिवार्य उपस्थिति पनि खोज्छ। तर, पुरुषजस्तै आइमाई पनि मान्छे हो भनेर स्वीकार नगर्नु पितृसत्ताको मूल चरित्र हो। आइमाई पनि मान्छे होइन भनेर ठाडो भाषामा पितृसत्ताले कहिल्यै भन्दैन। धर्म, संस्कार, संस्कृतिको आडमा आइमाई माथिको (कु) कूटनीतिक व्यवहारलाई स्थापित गराउँछ। आइमाईमाथि विभिन्न खालका अवधारणा स्थापित गराएको छ। स्वयं आइमाईहरूलाई पनि ती अवधारणाहरू सत्य र प्राकृतिकजस्ता लाग्छन्। समाजले तयार पारेका अवधारणाभित्र आफूलाई ढाल्दाढाल्दै आइमाईको जुनी नै जान्छ। म ‘आइमाई मान्छे’ हुँ भनेर थाहै नपाई जाने एउटा जुनी ‘बुहारीजुनी’ पनि हो। सासू प्रशासनको प्रत्यक्ष सम्बन्ध बुहारीजुनीसँग जोडिएर आएको हुन्छ। अझ बुहारीजुनी गुजारेपछि सासूप्रशासनले मूर्तरूप पाएको हुन्छ।
बुहारीजुनीको लामो सिलसिला पार गरेपछि एउटी आइमाई सासू बन्छे। बुहारी हुँदा खेपेका, भोगेका राम्रा र नराम्रा अनुभवहरूलाई संशोधन गरेर सासूप्रशासनको अर्को चरण सुरु हुन्छ। यो सिलसिला हिजोका दिनमा जस्तो रूपमा थियो, त्यसको बनोटमा धेरथोर संशोधन भए पनि तात्विक अन्तर छैन। बुहारीलाई बनाइने कठघराको रंगरोगन आकारप्रकार फरक कठघराकै रूपमा छ।
सासूलाई सासूप्रशासनको जिम्मा पितृसत्ताले दिएको हुन्छ। एउटी आइमाईले लामो समयदेखि त्याग, आदर्श, व्रत, अरूको सेवा नै जीवनको अभिन्न पाटो हो भनेर बुझेकी हुन्छे। उसले जानेको देखेको सुनेको भोगेकी पनि त्यही हुन्छे। त्यहाँ उसले आफ्नो संसार बनाएकी हुन्छे। त्यही संसारभित्रको भाषालाई उसले आफ्नो जीवनको अभिन्न पाटो बनाएकी हुन्छे। जो यो नियम मान्दैन, उसलाई समाजले दिने नकारात्मक उपमाहरू मनग्गे छन्।
एउटा गुरुले जुन विषयमा जानेको र पढेको हुन्छ। उसले आफ्ना शिष्यहरूलाई पनि त्यही विषय पढाउने हो। त्यसैगरी बुहारीलाई बुहारी संस्कार दिने गुरु सासू नै हो। जटिल कुरा के छ भने सासूले जेजे सिकाउँछिन्, जेजे भन्छिन्, त्यहाँ सासू हावी देखिए पनि खासमा त्यो घरको चलन, संस्कार, पुर्खाको आधारमा तय हुन्छ। घरका ती कुनै पनि कुराको मालिक सासू हुन्नन्।
पितृसत्ताको दिमागले अह्राए खटाएको काम गर्ने सासूप्रशासन आफ्नो दिमागको मालिक आफैं बन्न पाउँदैन। बाहिर देखावटी रूपमा सासू बुहारीको प्रत्यक्ष सम्बन्ध देखिए पनि पितृसत्ता र आइमाईको बीचमा एउटा अकाट्य सम्बन्ध रहन्छ। जुन सम्बन्धले मानसिक रूपमा आइमाईलाई शिथिल र कमजोर पारेर गलाएको हुन्छ। र, आइमाईहरू स्वयंले पनि म शिथिल पारिएकी छु भन्ने थाहा पाउँदैनन्।
पितृसत्ताभित्रको जटिल संरचनाभित्र बत्तीका पुतली बनेका आइमाईहरू पुस्तौंदेखि त्यही देख्दै भोग्दै र सिक्दै आएका छन्। उनीहरूलाई सत्य नै यही हो, जीवन नै यही हो भन्ने लागेको हुन्छ।
बुहारी जुनी
जब एउटी छोरी बुहारी हुन्छे। त्यहाँबाट उसले अर्कै जुनीको आरम्भ गर्नुपर्ने हुन्छ। जसलाई यो लेखमा ‘बुहारीजुनी’को उपमा दिएकी छु।
मितेरी साइनोदेखि सबै खालका साइनोहरूले हामीलाई उच्च र गर्विलो महसुस गराउँछ। तर, बुहारी नाता जहिल्यै तल पर्ने नाता हुँदो रहेछ। बुहारी रूप धारण गरेर जब खडा भइन्छ, जहिल्यै झुक्नु, डराउनु, संकोच मान्नु, लुरुलुरु काम गर्नु, त्याग गर्नु, भएजति सबैलाई मानसम्मान गर्नु, अनि आफूलाई तल सम्झनुपर्ने हुँदो रहेछ। बुहारीको यही चरित्रलाई समाजले वैधानिकता दिएको छ। बुहारीको यही रूप नै सर्वस्वीकार्य र अपेक्षित हुन्छ। प्रायः परिवारका सबै सदस्य घरायसी काममा बुहारीसँग बढी अपेक्षित रहेको देखिन्छ।
पढेलेखेकी बुहारी भई भने घरको काम गर्दिन भनेर डराउने भलाद्मी र विद्वान् भनिने परिवारहरू हामीबीचमै छन्। मानौं, घरको काम गर्न आउने मान्छे बुहारी हो। पढेलेखेकी बुहारीलाई जागिर खुवाउन नसकिएला वा उसलाई अन्याय गरिएला भनेर भन्नेहरू विरलै भेटिन्छन्।
एउटा घटना। मेरो साथीका ससुरा खाना पाकेपछि घर छोडेर हिँडेछन्। ‘खाना खाने बेलामा बुवा घर छाडेर हिँड्नुभयो।’ परिवारका सदस्यले पीर मान्नु स्वाभाविक थियो। ‘भाउजू आएपछि हाम्रो घरको वातावरण बिग्रियो’, भनेछन्। ती साथीले भनिछन्, ‘मैले केही भनेको र गरेको छैन। तैपनि रिसाउनुभयो।’ अनि उनकी नन्दले भनिछन्, ‘भाउजू आफूलाई मन पर्ने स्वादको खाना बनाउनुहुन्छ। भाउजूले पकाएको तरकारीको स्वाद बुवालाई मन पर्दैन। आलुका चाना पनि आफूलाई मन पर्ने आकारमा काट्नुहुन्छ। बुवालाई डल्ला चाना मन पर्छ। भाउजू कहिल्यै डल्ला चाना काट्नुहुन्न।’ ती साथी कामकाजी हुन्। स्नातकोत्तरसम्म पढेकी छन्। आफ्नै कमाइमा बाँच्न सक्छिन्। तर, उनले बुहारी भएका आधारमा खेप्नुपर्ने आरोप आलुका चानाबाट सुरु हुन्छ।
पढाइ, जागिर र योग्यताले उनको क्षमता मापन हुँदैन। भान्सामा गरिने काम र बिहान बेलुका घरपरिवारलाई गर्नुपर्ने स्याहारबाट जोखिन्छ, उनको क्षमता। उनले लगाउने कपडा, शृंगारमात्र होइन; गलत कुराको विरोध वा प्रतिरोध गर्दा मुखमुखै लागेको आरोप पटकपटक खेप्नुपर्छ। भन्छिन्, ‘घरमा आजभोलि बोल्न र सुन्न छोडेकी छु। गलत कुरामा सही थाप्न सकिँदैन, नसुन्यो भने त आनन्द भयो नि। भान्सामा काम गर्दासमेत एअरफोनको प्रयोग गर्छु।’
‘गलतलाई गलत भन्न पनि डराउनुपर्छ। त्यसैले त समाजमा छोरी र बुहारी जिन्दगीको अन्तर धेरै छ’, उनी भन्छिन्, ‘मैले आलुकै चाना पनि कसरी काटेँ भनेर प्रश्न उठाउलान् भन्ने सोचेकी थिइनँ।’ बुहारी बन्न के के जान्नुपर्छ ? ककसको इच्छाअनुसार चल्नुपर्छ भन्ने यो एउटा सामान्य उदाहरण हो।
शब्दकोशअनुसार छोराको पत्नी या भाइको पत्नीलाई बुहारी भनिन्छ। जन्म घरमा हुर्के बढेकी छोरी श्रीमान्को घरमा आएपछि बुहारी बन्छे। बुहारी बन्न उसले पालना गर्नुपर्ने नियमको ठूलै फेहरिस्त समाजले तयार पारेको छ। उसले बिहे गरेर आएको घरले परिवारका अरू सदस्यलाई फरक नियम हुन्छ। उसका लागि विशेष नियम तयार पारेको हुन्छ। त्यो नियमभित्र चल्नु बुहारीको कर्तव्य सम्झिएको हुन्छ।
पुरातन नियमले जकडिएको परिवारमा होस् या आधुनिक भनिएको सभ्य परिवारमा, बिहे गर्नेबित्तिकै एउटी आइमाईले बुहारीको रूपमा कठघरामा उभिनुपर्छ। उसले आफ्नो परिवार त्यागेर आएकी हुन्छे, घर त्यागेकी हुन्छे। धर्म, कुल, संस्कार सबैसबै थोक छोडेर आएकी हुन्छे। आफ्नो समाज, आफू हिँड्दै गरेको बाटो छोडेकी हुन्छे। आफ्नो अघिल्लो जीवनलाई सर्लक्कै बिर्सिएर नयाँ जीवनको सुरुआत गर्नुपर्छ। नयाँ ठाउँ, नयाँ परिवेश, नयाँ परिवार, नयाँ संस्कार, नयाँ चालचलन, नयाँ जीवनशैली सबैसबै कुरा नयाँ हुन्छ।
छोरीबाट बुहारी बनेको त्यही शून्य समयमा उसको जीवनमा अनेकन परीक्षा सुरु हुन्छन्। यस्तो परीक्षाले कुनै ऊर्जा दिँदैन, बरु शिथिल बन्छन्। तर, शिथिल बनेको मानसिक अवस्थाबारे न भन्न सक्छन्, न त भन्ने निकाय हुन्छ। किनकि बुहारीका लागि संस्थागत रूपमा नियमहरू बनेका हुन्छन्। जसले उसको व्यक्तिगत इच्छा र भावना हैन; कुल, वंश, खानदानको इज्जतसँग जोडेको हुन्छ। खानदान र कुलको इज्जत ढाक्नुपर्ने जिम्मा स्त्री जातिको काँधमा छ। त्यसको सबैभन्दा ठूलो जिम्मेवारी बुहारीलाई आउँछ। स्मरणीय छ, खानदान र कुल स्त्री जातिको आफ्नै हुँदैन।
बुहारी ! त्यसमाथि पनि नयाँ बुहारी ! परिवारका सम्पूर्ण सदस्यलाई रिझाउनुपर्ने हुन्छ। परिवारका आफन्तलाई मात्र हैन, छिमेकीको समेत चासो हुन्छ, बुहारीको चालचलन र आचरणका बारेमा।
तोकिएको काम गराउने मनोविज्ञानका आधारमा बुहारी पदलाई तयार पारिएको हुन्छ। परिवारले तोकिदिए बमोजिमको शृंगार गर्नु र कपडा लगाउनुपर्छ। परिवारले तोकिदिएको घेराअनुरूप हिँड्नुपर्छ। तोकिदिएको शैलीअनुरूपको भाषामा बोल्नुपर्छ। नत्र बुहारीमाथि अनेकन प्रश्न उठ्छन्। ऊ असल बुहारी कहलाउँदिनँ।
क्याम्पस पढाउने मेरी एक साथी छ। पोहोरको गर्मीमा उसका नाडीभरि घमौरा थिए। मैले भनेँ, ‘चुरा नलगा न। अलिक सन्चो हुन्छ।’ उसले अर्को दिन सुनाई, ‘चुरा नलगा भनिस्। झन्डै मारेनन्। क्याम्पस पढाउन थालेपछि संस्कारको मर्यादा भुल्न थाली भनेर।’ यो अर्को सामान्य उदाहरण हो।
‘बुहारीलाई काम गर्न जान दिएकै छ। जसो भन्यो, त्यसै पुर्याइदिएकै छ। संस्कार र मर्यादा त भुल्नुभएन नि।’ उदार र आधुनिक भनिएका परिवारले भन्ने आमभाषा हो यो।
घरमा सामान्यतया भान्सा सम्हाल्नुपर्ने जिम्मा बुहारीको जान्छ। त्यस घरका सदस्यहरूको स्वादअनुसारका खाना बनाइनुपर्छ। असल भनिने बुहारीहरू त्यही अपेक्षामा ढल्ने कोसिस गर्छन्। बुहारीले घरका सदस्यहरूलाई खुसी पार्नुपर्नेदेखि घर सफा राख्नुपर्ने कर्तव्य पनि बढी हुन्छ। सबैका स्वादअनुरूप खाना बनाइदिने। सबैको सेवा गर्ने बुहारी बिरामी भई भने उसलाई कसले हेर्ने ? संकट हुन्छ। यो कुरा सबै घरपरिवारमा लागू नहोला तर धेरै घरपरिवारमा आज पनि यथावत् रूपमा देखिन्छ।
गज्जबको मान्यता छ— सासूससुरा, जेठाजु, नन्द, आमाजू, देवर, लोग्ने सबैका कपडा बुहारीले धुन हुन्छ। तर, तीमध्ये कसैले पनि बुहारीका कपडा धुन र छुन हुँदैन। सामान्यतया घरका यी सबै सदस्यले खाएपछि बुहारीले खानुपर्छ। तर, बुहारीले यी सबैभन्दा पहिला खानु चैं अहिले पनि अप्ठेरै मानिन्छ। बुहारी परिवारभित्रकै एक फरक प्राणी हो भन्ने मनोविज्ञान जिउँदै छ। आफ्नो परिवार पनि छोडिसकेको र बिहे गरेको परिवारले पनि घरका अरू सदस्यभन्दा फरक कित्तामा, फरक भूमिका दिएर राखेको हुन्छ।
घरको मान्यता र त्यो घरको जरा उसको कुल, देवता र वंशमा अडिएको हुन्छ। कुलपूजाका सामग्री तयार पार्ने बेलामा, पितृकार्यका सामान तयार पार्ने बेलामा बुहारीलाई अनिवार्य मानिन्छ। तर, त्यो कुल बुहारी स्वयंको हुँदैन। उसले त्यसको काम मात्र गर्नुपर्छ। त्योसँग जोडिएर पितृसत्ता आउँछ। वंशवृद्धि गराउने जिम्मा पनि बुहारीलाई जान्छ। तर, स्वयं त्यो बुहारी कसैको वंशभित्र पर्दिनँ। उसको वंश हुँदैन।
बुहारीप्रतिको अर्को आशा भनेको सासूससुरालाई बाबुआमालाई जस्तो व्यवहार गर्नुपर्छ भनेर रटाइएको हुन्छ। ‘बुहारीले सासूससुरालाई आमाबुवालाई जस्तो व्यवहार गर्नुपर्छ’ भन्नुको मतलब हो— सासूससुराको मन नदुखाई उनीहरूले भनेजस्तै गर्नु। भन्ने बेलामा पालेको छोराले भन्छन्। तर, जिम्मेवारी सबै बुहारीको हुन्छ। सासूससुरासँग बुहारी मिल्न सकिनँ भनेँ दोष बुहारीलाई जान्छ। बुहारीले राम्रोसँग चाकर गरेकी छे भने छोराले गतिलोसँग पालेको छ भन्छन्। बुहारी कर्ता हो। बुहारीको मालिक अरू नै कोही छ।
कसैले कसैलाई राम्रो गर्नु या नराम्रो गर्नु व्यक्तिगत स्वभावमा भर पर्छ। तर, हामी लैंगिक आधारमा प्रशंसा या आरोप लगाउँछौं। सबै छोराछोरीले बाबुआमाको अपेक्षा अनुसारको काम गर्छन् भन्ने निश्चितता छैन। तर, छोराले आमाबुवालाई मन नपर्ने काम गर्यो या भनेजस्तो गरेन भने ‘बुहारीले बिगारेको छोरो’ भन्छन्।
मेरो घरमा एकजना मैले बुहारी भन्नुपर्ने आफन्त पाहुना आउनुभएको थियो। उहाँसँग अरू पनि पाहुना थिए। खाना खाइसकेपछि उहाँ भाँडा माझ्न तम्सिनुभयो। मैले भने, ‘मेरो घरको पाहुना हो तपाईं।’ उहाँले मुखले केही भन्नुभएन। तर, एकदमै अप्ठेरो मानेर उभिइरहनु भो। मैले काम गरुन्जेल असहज मानिरहनुभयो। अरू पाहुनालाई कुनै मतलब भएन, बुहारीलाई असहज भयो। बुहारी पदलाई समाजले रोपिदिएको मानसिकताको सिकार सबैजसो आइमाई हुन्छन्। धेरैजसो बुहारीहरू पाहुना नै गएको बेलामा पनि भाँडा माझ्न तम्सिन्छन्। अचेल अलिक कम जालान्। तर, केही न केही संकोच मानेको देखिन्छ। उनीहरूलाई त्यो काम गर्ने रहर भएर होइन। कस्तो मानसिकताको बीजारोपण गरिएको छ भन्ने कुरा महŒवपूर्ण कुरा हो।
भलै कसैको घरमा पाहुना गए पनि बुहारी भएपछि काम गर्न तम्सिनु बुहारीको लच्छिन मानिन्छ। गर्दिनँ भन्दाभन्दै पनि मानसिक रूपमा दबाब हुन्छ। कतिपयका घरमा देखिन्छ, पाहुना आएका बुहारीहरूले अरू केही नगरे पनि खाना खाइसकेपछि आफूले खाएको थाल माझ्छन्। यो आमबुहारीहरूको नियति हो।
थाल माझ्दा, काम गर्दा सानो भइने हैन। बिग्रिने केही होइन। तर, त्यसले बोकेको अर्थले आइमाईहरूको सामाजिक मनोविज्ञान र उसबाट समाजले अपेक्षा गरेको भूमिका महŒवपूर्ण कुरा हो। यहाँ थाल माझ्नु नमाझ्नुभन्दा पनि सामाजिक दृष्टिको कुरा हो। बुहारीलाई राखिने स्थानको कुरा हो।
कुनै पुरुषसँग बिहे गरेपछि एउटी स्त्री बुहारी बन्ने बाटो खुल्छ। त्यसैगरी एउटी स्त्रीसँग पुरुषले बिहे गरेपछि ऊ ज्वाइँ बन्छ। त्यही बिहेबाट बन्ने सम्बन्धमा सासूससुरा, जेठाजु, आमाजुहरूले बुहारीलाई तँ या तिमी भन्छन्। र गोडा माड्न, लुगा धुन, ढोग्नदेखि सम्पूर्ण भूमिका निर्वाह गर्नुपर्ने नियम बुहारीलाई बनेको छ। त्यही बिहेबाट बन्ने सम्बन्धमा सासूससुरा, सालासाली, जेठानलगायत सबैले केटालाई तपाईं हजुर भन्छन्। र, भगवान्कै दर्जामा राखेर मानसम्मान गर्छन्। आखिर एउटा केटा र केटीबीचमा बिहे भएपछि बन्ने सम्बन्धमा गरिने व्यवहार किन यति फरक छ?
बुहारीलाई समाजले केही प्रचलित उखानहरू बनाएको छ। ‘कुनता की बुहारी भट्मास खाएकी’, ‘काम छैन बुहारी पाडाको ... कना।’ यी उखानले पनि बुहारीलाई समाजले हेर्ने दृष्टिकोण प्रतिविम्बित गराएको छ। जवानी भनेको ऊर्जाशील र सिर्जनात्मक समय हो। उसको सिर्जनशील समय, उसको ऊर्जा, उसको मिहिनेत र त्यागलाई बेवास्ता गरेर, बुहारीमाथि बनाइएका यस्ता उखानले एउटी महिलालाई समाजले कसरी व्याख्या गर्छ भन्ने उदाहरण हो। जब एउटी केटी बुहारी बन्छे, उसले निर्वाह गर्नुपर्ने अनेकन भूमिकाले उसको व्यक्तित्वलाई छोप्तैछोप्तै लैजान्छ। उसको क्षमतामा खिया लाग्दै जान्छ। त्यसैले पनि होला, बिहे गरेपछि धेरै महिला घरभित्रका धन्दामा हराउँछन्। र, बुहारी जुनीमा ढुनुमुनु गर्दागर्दै समयले फड्को मारिसक्छ। यसरी नै हाम्रो समाजमा आममहिलाको जीवन सकिएको छ। हाम्रा घरभित्र हरेक पुस्ताका महिलाका सपनाका भग्नावशेषहरू छन्।
यति ठूलो विभेदको ज्वरोले कामेको छ समाज। बिमारले ग्रस्त छ। विभेदको क्यान्सरले ग्रस्त समाजलाई हामीले सुधार्नु छ। त्योभन्दा पहिला हाम्रो मनोविज्ञानलाई सुधार्नुपर्ने अवस्था छ।