दक्ष्मण राजवंशीका दुई कृति सार्वजनिक
काठमाडौं : साहित्यकार एवं शिक्षासेवी लक्ष्मण राजवंशीका दुई कृति सार्वजनिक भएका छन्। नेपालीमा ‘जब महाकाली उर्लन्छ...’ र अंग्रेजीमा ‘दी अनसर्टेन फ्यूचर’ शनिबार एकैसाथ सार्वजनिक भएका हुन्।
उपन्यासकार डा. ध्रुवचन्द्र गौतमले राजवंशीका दुवै सिर्जना मनोवैज्ञानिक भएको चर्चा गरे। ऐतिहासिक एवं पौराणिक दुवै पात्रलाई चित्रण गर्न सर्जक सफल भएको उनको भनाइ थियो। सन्देशमूलक र कलात्मक भएका हुनाले कथासंग्रहले राम्रो स्थान लिने गौतमको भनाइ छ।
यसैगरी पूर्वराजदूत प्रा. जयराज आचार्यले अंग्रेजी कथासंग्रह ‘दी अनसर्टेन फ्यूचर’का कथाको चर्चा गरे। राजवंशीका कथामा निबन्ध र कथाका दुवै गुण समावेश भएको उनको भनाइ छ।
साहित्यकार कोषराज न्यौपानेले कृतिमा लेखक कथाकार कम र चिन्तक बढी हावी भएको विचार राखे। कथासंग्रह भनिए पनि ती सिर्जनामा कथा, निबन्ध, संस्मरण सबैको मिश्रण भएको उनले बताए।
साहित्यकार रामप्रसाद ज्ञवालीले लक्ष्मणका सिर्जनामा आदर्श शिक्षक मुखरित भएको जानकारी दिए। शिक्षा भनेको बाँच्ने कला भएको र त्यो चेतना उनका सिर्जनामा भएको उनको भनाइ छ।
राजवंशीका सिर्जना पाठकमा कौतूहल सिर्जना गर्न सबल भएको उनले बताए। सर्जक राजवंशी शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय सर्जक हुन्।