विमानस्थलमा प्रविधि प्रबन्ध
मलेसियन निजी हवाई सेवाप्रदायक मालिन्दो एयरको जहाज उडानका क्रममा रनवेबाट चिप्लिएर घाँसे मैदानमा पुगेपछि बन्द भएको त्रिभुवन विमानस्थल झन्डै १४ घन्टापछि सञ्चालनमा आयो। ‘टेक अफ’ का लागि स्पिड लिएका बेला ककपिटको स्क्रिनमा समस्या देखिएपछि पाइलटले रोक्न ब्रेक लगाउँदा जहाज अनियन्त्रित भई धावनमार्गबाट चालीस मिटर पर पुगेको थियो। केही साताअघि मात्रै यूएस बंग्लोको जहाज अवतरण गर्ने क्रममा दुर्घटना हु“दा थुप्रै यात्रुले ज्यान गुमाएका थिए।
मालिन्दो टेक अफ गर्ने क्रममा भएको सामान्य दुर्घटनामा मानवीय क्षति भएन तर धावनमार्ग नै बन्द गर्नुपर्ने अवस्था आयो। १४ घन्टा यात्रुहरू अलपत्र परे। मालिन्दो दुर्घटनाले फेरि एकपटक हामीलाई हाम्रो एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको ‘सीमितता’ स्मरण गराएको छ। सेवाप्रदायक एयरलाइन्स कम्पनीहरू थपिँदै जाँदा र एयर ट्राफिक बढ्दै जाँदा धेरैवटा धावन मार्गसहितको अन्तर्राष्ट्रिय विमानस्थलको खाँचो टड्कारो देखिएको छ। १४ घन्टा विमानस्थल बन्द गर्नुपर्ने पछिल्लो अवस्थाले यसको आवश्यकता बोध थप गराएको छ।
यसअघि एकपटक यसैगरी धावनमार्गमा टर्किस एयर चिप्लिँदा चार दिन विमानस्थल बन्द गर्नुपरेको थियो। ४ मार्च २०१५ मा धावनमार्गबाट उक्त जहाज हटाउन टर्किस एयरलाइन्सले नै चार दिन लगाएर प्रविधिको व्यवस्थापन गरेको थियो। विमानस्थल कार्यालयले यस प्रकृतिका दुर्घटना दोहोरिँदै जान थालेपछि छिटो धावनमार्ग खाली गर्न सकिने गरी तम्तयार बस्न सक्नुपर्छ। यसरी विमान धानवमार्गमै अड्किएको अवस्थामा त्यसलाई सार्न प्रविधिको व्यवस्थापन एयरलाइन्सले नै गर्ने गरेको छ। यसअघिको अभ्यास त्यही छ।
टर्किस एयरलाइन्सले प्राविधिक र प्रविधि बाहिरबाट ल्याएर चार दिनपछि जहाज हटाएको थियो। मालिन्दो चिप्लिएर धावन मार्ग बन्द भएपछि यसलाई हटाउन ग्राउन्ड ह्यान्डलिङ गरिरहेको नेपाल एयरलाइन्सले सम्बन्धित एयरलाइन्सको प्राविधिक निगरानीमा जहाज तान्ने काम गरेको थियो। अहिलेको समस्या टरे पनि विमानस्थलले भविष्यमा हुन सक्ने यसखाले दुर्घटना र समस्याको व्यवस्थापन गर्नेतर्फ तयारी केन्द्रित गर्नुपर्छ।
एयरलाइन्स कम्पनीले विज्ञसहितको अरू कम्पनीसँग आवश्यक पर्दा बोलाउने गरी सम्झौता गरेका हुन्छन्। त्यसकारण सरकारले एयरलाइन्सहरूसँग यसखाले आवश्यकताका लागि आवश्यक प्रविधिको प्रबन्ध गरेका छन्/छैनन् ? नियमित निगरानी गर्न जरुरी छ। विकल्पमा यस्तो प्रविधिकै पनि व्यवस्था विमानस्थलले गर्न सके लामो समय धावनमार्ग बन्द गर्नुपर्ने अवस्था नआउन सक्छ। प्राविधिक त्रुटि, दुर्घटना आकस्मिक हुन्। यसलाई न्यून गर्न सकिन्छ र त्यस्तो हुन नदिन चनाखो बस्न सकिन्छ। दुर्घटनाका जोखिम न्यूनीकरण गर्ने, त्यसपछिका उद्धार र व्यवस्थापन केकसरी गर्ने विमानस्थलजस्तो संवेदनशील ठाउँमा त्यसको प्रबन्ध हुनुपर्छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले यस्तो घटना फेरि पनि हुनसक्ने भन्दै जहाज तान्ने प्रविधि नेपाल आर्मीसँग एमओयू गरेर खरिद गर्ने विषयमा छलफल थालेको छ। यो सकारात्मक हो। एकातिर सरकार एयरलाइन्सहरूलाई थप जिम्मेवार बनाउनेतिर लाग्नुपर्छ भने अर्कोतर्फ आवश्यक पर्दा आफैंले पनि संकट टार्न सक्ने अवस्थामा रहनुपर्छ। सबैभन्दा महŒवपूर्ण पक्ष, हामीसँगै एउटै अन्तर्राष्ट्रिय विमानस्थल छ जुन सानो र साँघुरो छ। जुन दरमा अहिले विदेशी एयरलाइन्सहरू भित्रिएका छन्, त्यस हिसाबले एउटै मात्र धावनमार्ग भएको यो विमानस्थल कुनै पनि दृष्टिले पर्याप्त छैन। त्यसकारण थप अन्तर्राष्ट्रिय विमानस्थल बनाउनेतर्फ सरकारले बढाएको पाइला छिटो बढ्न जरुरी छ।