एभरेष्ट मार्सल आर्टलाई ६ स्वर्ण, ५ रजत र १ काश्य
युएई : युएईमा सम्पन्न १४ औं नेशनल जेकेएस च्याम्पियनसिपमा एभरेष्ट मार्सल आर्टका खेलाडीले ६ स्वर्ण, ५ रजत र एक काश्य पदक हात पार्न सफल भएका छन्।
एभरेष्ट मार्सल आर्टका प्रमुख कोच तथा टेक्निकल डाइरेक्टर रबि शाहीका अनुसार उक्त प्रतियोगितामा महिलातर्फ केञ्जल श्रेष्ठले १० वर्षमुनिको समूहमा काता र कुमुते गरी दुई स्वर्ण हात पारेकी छन्। यसैगरी, आशना पाण्डेले १२ वर्षमुनिको समूहअन्तर्गत कुमुतेमा स्वर्ण र कातामा रजत गरी दुई पदक जितेकी छिन्।
त्यस्तै पुरुषतर्फ विजय तामाङले जुनियरतर्फको ६० केजी तौल समूहमा स्वर्ण पदक जितेका छन् भने सरोज पाख्रिनले सिनियरतर्फको ५५ केजी समूहमा स्वर्ण पदक हात पारे। यस्तै, लक्ष्मण थापाले ब्लाय्क बेल्ट क्याटागोरीतर्फ ५५ केजी तौल समूहमा स्वर्ण पदक र कातामा पनि रजत पदक जित्न सफल भए।
जुनियर कुमुतेअन्तर्गत ५५ केजी तौल समूहमा विनोद राई, ६५ केजी तौल समूहमा राम तामाङ र ६० केजी तौल समूहमा दिनेश सिंह यैयारले रजत पदक हात पारेका छन्। योसँगै यैयारले कातातर्फ पनि रजत पदक जित्न सफल भएका छन्।
युएईमा सम्पन्न भएको नेशनल च्याम्पेनसिप प्रतियोगितामा ८० समूहले भाग लिएका थिए।