सिकाइस्तरको मापन
शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ईआरओ) ले हालै सार्वजनिक गरेको प्रतिवेदनले शिक्षामा चासो राख्ने सबै पक्षलाई सोचमग्न बनाइदिएको छ । प्रतिवदेनअनुसार पछिल्लो पाँच वर्षमा विद्यार्थीको सिकाइ स्तर घटेको छ । केन्द्रले २६ जिल्लाका एक हजार नौ सय ५० विद्यालयमा पढ्ने ४६ हजार दुई सय ६६ विद्यार्थीमाझ गरेको अध्ययनले गणित र विज्ञानमा सिकाइ स्तर खस्किएको निचोड ल्याएको छ ।
गणितमा पाँच वर्षअघि ५०७.९६ रहेको सिकाइस्तर घटेर ४९२.३९ मा झरेको छ भने विज्ञानमा ५०२ बाट खस्केर ४९८.७५ मा पुगेको छ । नेपालीमा भने सिकाइ स्तर बढेको छ । सरकारले शैक्षिक स्तर सुधार्न विभिन्न कार्यक्रम सञ्चालन गर्दागर्दै पनि किन खस्कियो सिकाइ स्तर ?
प्राथमिक वा माध्यमिक तहका विद्यार्थीको सिकाइस्तर खस्किनुको अर्थ आउँदो पुस्ताको सिकाइ नै खस्किनु हो । यसले आवश्यक जनशक्ति तयार गर्न सक्दैन । अर्कोतर्पm यो शिक्षामा सरकारले गरिरहेको लगानीको उपादेयतामाथिको प्रश्न हो । कमजोर सिकाइ स्तरले सिंगो शिक्षा प्रणालीमाथि पनि प्रश्न उठाएको छ । शिक्षाविद्हरूले सिकाइ स्तर खस्किनुको मुख्य दोषी शिक्षकलाई देखाएका छन् ।
शिक्षकले पढाउन अल्छी गरेर र राजनीतिक गतिविधि बढाएर सिकाइ स्तर खस्किएको बताइएको छ । निश्चय पनि शिक्षामा भएको अति राजनीतीकरणले यसको सिकाइ स्तर प्रभावित भएको छ तर त्यही मात्रै पूर्ण कारक हो भनेर विश्लेषण गर्नुचाहिँ एकांकी हुन्छ । शिक्षकहरूले राजनीति गरेकै कारण विद्यार्थीको सिकाइस्तर खस्केको एक मात्र कारण मान्ने हो भने पाँच वर्षअगाडि देशको राजनीतिक सरगर्मी जति बढी थियो, यो पाँच वर्षमा त्यति छैन ।
संविधानसभाका दुईदुईवटा निर्वाचन, संक्रमणकाल, राजनीतिक संयन्त्रको नाममा दलहरूको ठाडो भूमिका भएको स्थितिबाट अहिलेको तुलनात्मक हिसाबले स्थिर र कम दलीय सरगर्मी भएको अवस्थामा सिकाइ स्तर घट्नुको एउटा मात्र कारण शिक्षकहरूको राजनीतिक संलग्नता हुन सक्दैन ।
शिक्षकहरूले अल्छी गरेकैले सिकाइ स्तर घटेको मान्ने हो भने किन अल्छी गर्छन् भन्ने प्रश्न पनि उठ्छ । के नेपाली शिक्षकहरूको विशेषता नै अल्छी हुनु हो ? हजार मानिसबीच केहीमा आलस्य बढी हुन सक्छ । तर सिंगो शिक्षक समुदाय नै अल्छी छ भन्दा सतही टिप्पणी नहोला र ? राज्यका अन्य संयन्त्र चुस्तदुरुस्त, जागरुक र कर्मठ हुँदाहुँदै शिक्षक मात्र अल्छी पक्कै भएका होइनन् । शिक्षकहरू कारण हुन् भने वास्तविक समस्याको पहिचान र निराकरणमा ध्यान दिनुपर्छ । तालिमप्राप्त शिक्षकले तालिममा सिकेका सीप कक्षाकोठामा लागू गर्ने वातावरण छ कि छैन ? छैन भने किन छैन ? यी विषयमा ध्यान दिनैपर्छ ।
विज्ञान र गणितमा सिकाइस्तर खस्किएको पाइएको छ । यी विषय जग बलियो नभइनहुने विषय हुन् । प्राथमिक तहमा राम्रो सिकाइ नभएका विद्यार्थीलाई माथिल्लो कक्षामा यी विषय सिक्न गाह्रो हुन्छ । तर हाम्रा अधिकांश प्राथमिक विद्यालयमा विषयगत शिक्षकको अभाव छ । त्यसको सरल जवाफ छ, राज्यले प्राथमिक तहका शिक्षकलाई उचित कदरै गर्दैन । विकसित मुलुकमा समाजका प्रतिष्ठाप्राप्त नागरिक हुन्छन् शिक्षक । तर हाम्रो देशमा शिक्षक सधैं मर्यादाक्रम बाहिर पर्छन् । सेवा, सुविधा र मर्यादाबाट बहिस्कृत शिक्षकबाट कस्तो विद्यार्थी उत्पादनको अपेक्षा गर्ने ?
त्यस्तै सिकाइ स्तर विद्यार्थीको पृष्ठभूमिसँग पनि सम्बन्धित हुन्छ । घरमा पढाइको रेखदेख हुने, शिक्षित अभिभावक भएका र पढ्ने वातावरण भएको विद्यार्थीको सिकाइ राम्रो हुन्छ । अधिकांश सामुदायिक विद्यालयको सिकाइ स्तर कमजोर छ किनभने सामुदायिक विद्यालयलाई पिछडिएका वर्गका विद्यार्थी मात्र पढ्ने स्कुल बनाइएको छ । के यसमा गम्भीर हुनुपर्दैन ? सिकाइ स्तर किन खस्कियो भन्ने प्रश्नले शिक्षा प्रणालीप्रति गम्भीर चिन्तन र चासोको माग गर्छ । शिक्षकलाई रेख लगाएर समस्याको चुरोबाट जोगिने सजिलो उपाय विज्ञ र चिन्तकले अब छोड्न आवश्यक छ ।