सिरी ए उपाधि होड रोमाञ्चक मोडमाः अन्तिम मिनेटको गोलले नापोलीसँग युभेन्ट्स पराजित
काठमाडौँः इटालियन सिरी ए को उपाधि होड रोमाञ्चक मोडमा पुगेको छ । गएराति भएको खेलमा नापोलीले लिग लिडर युभेन्ट्सलाई उसैको घरमा पराजित गरेसँगै उपाधि भिडन्त रोमाञ्चक मोडमा पुगेको हो ।
घरेलु मैदानमा खेल अवधिभर दबाबमा परेको युभेन्ट्सले अन्तिम मिनेटमा गोल खाँदै उपाधि होड बलियो बनाउने मौका खेर फाल्यो ।
नापोलीका लागि युभेन्ट्ससँगको अंक दुरी १ मा झार्ने क्रममा खेलको ९० औँ मिनेटमा सेनेगलका डिफेन्डर कालिड्यु कोयुलीब्यालीले हेडमार्फत गोल गरेका हुन् ।
अन्तिम मिनेटको गोलमार्फत नापोलीले युभेन्ट्ससँगको अंकदुरी एकमा झार्दै उपाधि होडमा टक्कर दिएको छ । ३४ खेल खेलिसकेको अवस्थामा युभेन्ट्सले ८५ अंक जोडेको छ भने नापोलीले ८४ अंकसहित पछ्याइरेको छ ।
अब बाँकी रहेका ४ खेलले दुवै टोलीको उपाधि होडलाई पक्का गर्नेछ । डिफेन्डिङ च्याम्पियन युभेन्ट्सले सुरुबाटै लिगमा अग्रता लिए पनि मध्यबाट नापोलीले उसलाई बलियो टक्कर दिइरहेको थियो । हिजोको खेलमा जितेपछि नापोलीको आत्मबल अझै बलियो भएको छ ।