'सभापतिमा देउवालाई दिएको समर्थन फिर्ता'

'सभापतिमा देउवालाई दिएको समर्थन फिर्ता'

काठमाडौं : कांग्रेसका जीउँदा सहीद कुलबहादुर गुरुङले पार्टीको १३ औं महाधिवेशनमा सभापतिका लागि शेरबहादुर देउवालाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेका छन् । ‘कांग्रेसको १३ औं महाधिवेशनमा सभापतिका प्रत्याशी देउवालाई समर्थन गर्नु मेरो राजनीतिक इतिहासको सबैभन्दा ठूलो भूल भयो’, उनले भने, ‘सभापतिका हैसियतमा देउवाको करिब दुईबर्सेे कार्यकाल र प्रधानमन्त्रीका रूपमा उहाँले निर्वाह गरेको भूमिकाबाट आज मेरो मन अत्यन्त दुःखित भएको छ ।’

केन्द्रीय कार्यसमिति बैठकमा आइतबार आफ्ना धारणा राख्दै सभापति देउवाप्रति आफ्नो सबै विश्वास गुमेको उल्लेख गर्दै उनले भने, ‘पार्टीका सबै कमिटी भंग गर्न प्रस्ताव गर्छु । सबै तहको अधिवेशन गरेर आगामी ६ महिनाभित्र महाधिवेशन गर्नु एक मात्र समाधान हो ।’ साझा सवाललगायत विभिन्न कार्यक्रम र मञ्चमा पार्टी सभापति एवं प्रधानमन्त्रीको हैसियत र गरिमाविपरीत देउवाले दिएका विवादास्पद अभिव्यक्तिले पार्टीको लोकप्रियता खस्कँदा स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा लज्जास्पद हार भएको दाबी गुरुङले गरे ।

देउवाले गुट प्रोत्साहित गरेको र विधानबमोजिम गर्नुपर्ने मनोनयन नगरी पार्टी ध्वस्त बनाएको आरोप पनि उनले देउवामाथि लगाएका छन् । विधानविपरीत संसदीय बोर्ड बनाएर जिल्लाको सिफारिसविपरीत टिकट बाँड्दा सबै मौन बसेको भन्दै उनले नेताहरूसँग सोधे, ‘विधानविपरीत बनेको संसदीय बोर्डका सबै सदस्य आफैंले टिकट लियौं तर मुश्किलले चार जनाले मात्र जित्यौं, योभन्दा लज्जास्पद अरू के हुन सक्छ ? आफ्नो क्षेत्रमा समेत जित्न नसक्ने, अनि पराजयको सबै दोष अर्काको टाउकोमा हालेर उम्कने प्रवृत्ति कांग्रेसको हुनै सक्दैन ।’ उनले अब महासमिति होइन, महाधिवेशन नै बोलाउनु पर्ने माग गरे । उनले पार्टीलाई पुनर्जीवन दिन आफू आगामी महाधिवशेनमा सभापतिको उम्मेदवार बन्न सक्ने जानकारी दिए । ‘कांग्रेस बचाउन उमेरको कुनै पर्वाह नगरी म अझै सक्रिय भूमिका निर्वाह गर्न पार्टीको कुनै पनि जिम्मेवारी वहन गर्न तयार छु’, उनले प्रतिबद्धता व्यक्त गरे ।

पार्टीका सब कमिटी तत्काल भंग गरी सब तहको अधिवेशन गरेर ६ महिनाभित्र महाधिवेशन गर्न माग
वीपीको विचार र सिद्धान्त त्याग्दा कांग्रेस जनताबाट हरायो

स्थापनाकालदेखि अँगालेका वीपीका नीति र सिद्धान्त त्याग्दै पार्टी अघि बढ्दा आम जनताबीच हराएको धारणा उनले राखे । कांग्रेसले सत्तालाई उच्च प्राथमिकता दिँदा कहिले उग्रवामपन्थीसँग त कहिले उग्र दक्षिणपन्थी शक्तिसँग अंकमाल गर्दाको परिणाम कांग्रेस पराजित भएको आक्रोश उनले पोखे ।

वरिष्ठ नेता गुरुङका चारबुँदे धारणा

१. स्थानीय तहको चुनावको पराजयलाई कांग्रेस नेतृत्वले समयमै गम्भीरतापूर्वक नलिई तिनै गल्ती र कमजोरीलाई निरन्तरता दिँदा प्रतिनिधिसभा र प्रदेशसभामा पनि लज्जास्पद पराजय भोग्नु परेको छ । पराजयबाट कांग्रेसले साख मात्र होइन राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा लोकप्रियता पनि गुमाएको छ । पार्टी विधानअनुसार ११ जनाको साटो २५ जनाको संसदीय समिति बनाउँदा पनि सबै नेता मौन बस्यौं । जिल्लाबाट सिफारिस नगरिएकालाई टिकट दिँदा र एक ठाउँबाट सिफारिस व्यक्तिलाई अर्को ठाउँमा टिकट दिँदा हामी कोही बोलेनौं । संसदीय समितिमा पनि छलफल नै नगरी भागबण्डामा टिकट वितरण गर्दा कार्यसमितिका साथीहरूको के भूमिका रह्यो?

२. ६०÷४० को भागबण्डामा बाँडिएको पार्टीले आफ्ना मूलभूत सिद्धान्त राष्ट्रियता, प्रजातन्त्र र समाजवाद एवं वीपीका विचार र चिन्तन व्यवहारमा लागू गर्न, विकसित गर्दै संरक्षण एवं प्रवद्र्धन गर्ने विश्वास लिएर शेरबहादुर देउवाजीलाई १३ औं महाधिवेशनमा मेैले पार्टी सभापतिमा प्रस्ताव गरें । उहाँले हाम्रो विश्वास र पार्टीको सिद्धान्तविपरीत व्यापक रूपमा गुट प्रोत्साहित गर्नु भयो । विधानबमोजिम दुई महिनाभित्र पदाधिकारी मनोनयन गर्ने, विभागहरू गठन गरी परिचालन गर्नुपर्नेमा उहाँले बेवास्ता गरी पार्टी ध्वस्त पार्नु भयो । सत्ता मोहले अभिप्रेरित सभापतिले माओवादी केन्द्र अध्यक्ष प्रचण्डकी छोरी जिताउन हँसिया हथौडामा भोट माग्नुभयो, प्रजातान्त्रिक मूल्य र मान्यता एवं स्वतन्त्र न्याय पद्धतिप्रति पार्टीको अटुट आस्था र विश्वासमा चोट पु¥याउनु भयो ।

३. पराजयको समीक्षा गर्न बसेको कार्यसमिति बैठकले कारण पत्ता लगाउनेभन्दा समस्या पन्छाउन महाधिवेशन वा महासमिति बैठकको कुरा उठाइएको भन्ने मलाई महसुस भएको छ । पराजयको समीक्षा महाधिवेशन वा महासमितिबाट सम्भव हुँदैन । तीनै तहको लज्जास्पद पराजयको सम्पूर्ण जिम्मेवारी टिकट बाँड्ने संसदीय समिति, केन्द्रीय कार्यसमिति र नेतृत्वले लिनु पर्छ भन्ने मेरो मान्यता छ।

४. २००७ सालदेखि पार्टीको एउटा बफादार कार्यकर्ताको हैसियतमा कांग्रेसको यो गम्भीर स्थितिबाट पार्टीलाई पुनर्जीवन दिन उमेरको कुनै पर्वाह नगरी अझै सक्रिय भूमिका निर्वाह गर्नु पर्ने खाँचो मैले महसुस गरेको छु । वर्तमान चुनौतिसामु पार्टीको वर्तमान नेतृत्वबाट प्रजातन्त्रवादी र देशभरका कार्यकर्ताको भावनाअनुसार आइपरे पार्टीलाई मौलिक सिद्धान्त र आदर्शको बाटोबाट अघि बढाउन मसँग अझै पनि जाँगर र आँट छ भन्ने कुरा यो कार्यसमिति र कार्यसमिति मार्फत देशभरका कार्यकर्ताबीच हार्दिक अपिल पनि गर्न चाहन्छु ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.