३३ किलो सुन प्रकरण : अनुसन्धान गहिरिँदै

३३ किलो सुन प्रकरण : अनुसन्धान गहिरिँदै

काठमाडौं : गृह मन्त्रालयको एउटा टोली ३३ किलो सुन गायबसम्बन्धी रहस्य खोतल्न व्यस्त छ । सुन गायब हुनु, भरिया मारिनु र मुख्य तस्कर उम्कनुले प्रहरीको भूमिकामाथि शंका गरिएको हो । गृहका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वको छानबिन टोलीले तत्कालीन अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेललाई जिम्मेवारी हटाएर बयान लिइसकेको छ ।

लोहनी तत्कालीन आफ्नो प्रमुख एआईजी जयबहादुर चन्दलाई नसोधी सीधै तत्कालीन प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई सोधी फागुन १८ गते डीएसपी केसीसहित विराटनगर पुगेका थिए । विराटनगर पुगेको टोलीले धरान पुगेर स्कोरपियो गाडीबाट सुनका भरिया भनिएका सनम शाक्यको शव बरामद ग¥यो । तर, धरानमा बरामद शव विराटनगरको पोखरिया पुगेर बरामद भएको मुचुल्का तयार गरेपछि यो घटनालाई शंकास्पद रूपमा हेरिएको हो ।

माघ ९ गते दुबईदेखि काठमाडौं उत्रिएको सुन गायब छ र मुख्य तस्कर गोरे उपनामका चूडामणि उप्रेती पनि फरार छन् । गोरे भगाउन सहयोग गरेको र शाक्य हत्या प्रकरणलाई सहज रूपमा दबाउन प्रहरीले नै सहजीकरण गरेको आरोप छानबिन समितिको छ । ‘यो वा त्यो तह भनेर उन्मुक्ति पाउँदैनन् । हामी तस्करको जालोभित्रै छिरेर सत्यतथ्य बाहिर ल्याउँछौं,’ समितिका संयोजक पौडेलले अन्नपूर्णसँग भने, ‘जति पनि पक्राउ परेका छन् । छानबिनको दायरमा आएका छन् । कसुर हेरेर छाड्नुपर्ने छाडिन्छ र कारबाही गर्नुपर्नेलाई सिफारिस गरिन्छ ।’

यसै सन्दर्भमा छानबिन समितिले आरके ज्वेलर्सका सञ्चालक राजेन्द्र शाक्यसँगै २१ जनालाई नियन्त्रणमा लिइसकेको छ । बाकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपालकुमार श्रेष्ठ, दोराम खत्री, सम्बिरप्रसाद तोलांगे, हेमन्त गौतम, ‘तक्लु’ भन्ने पुण्यप्रसाद लामा, वीरेन्द्रमान श्रेष्ठ, लालबहादुर मगर, राजु महर्जन, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का नेता भुजुङ गुरुङ र भारतीय नागरिक महावीर गोल्यानलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी समितिका एक सदस्यले दिए ।

विदेशी नागरिक जोडिनेबित्तिकै अनुसन्धान रोकिने प्रवृत्ति गलत छ । जुन मुलुकका नागरिक जोडिए पनि दूतावासमार्फत उसलाई ल्याउन पहल गर्ने बाटो खुला छ ।

समितिका ती सदस्यका अनुसार सुन तस्करीमा भन्सारका कर्मचारीदेखि विभिन्न एयरलाइन्समा काम गर्ने कर्मचारीको भूमिकासमेत शंकास्पद छ । पौडेलले छानबिन सूक्ष्म ढंगले अगाडि बढेको बताए । उनले भने, ‘सुन कहाँ पुग्यो, मुख्य मालिक कसरी फरार भए र प्रहरीको संलग्नता के छ भन्नेबारे अनुसन्धान तीव्र गतिमा अगाडि बढेको छ ।’ समितिले क्षेत्राधिकारभन्दा बाहिर गएर प्रहरीले घटना नियन्त्रणमा लिन खोज्नु नै मुख्य कमजोरी रहेको औंल्याएको छ ।

समितिले छानबिन गरिरहेकै अवस्थामा महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतभित्रको शौचालयमा नेपाल एयरलाइन्सका लोडर प्रेमलाल चौधरीले आत्महत्या गरेपछि घटना झन् रहस्यात्मक बन्दै गएको छ । छानबिन समितिले चौधरीको बयान लिइसकेपछि उनले आत्महत्या गर्नुको रहस्यबारे थप छानबिन गर्ने एक सदस्यले बताए । समितिले मोरङ पुगेर घटनास्थलमा खटिएका प्रहरीको समेत बयान लिएको छ । समितिले त्रिभुवन विमानस्थलमा खटिएका तत्कालीन सुरक्षा प्रमुख डीआईजी गोविन्द निरौला, एसएसपी श्याम खत्री, एसपी विकास खनाल र डीएसपी सञ्जय राउतलाई बयानका लागि डाक्न प्रहरी मुख्यालयलाई पत्र काटेको छ ।

मालिक किन उम्कन्छन् ?
-पूर्वएआईजी राजेन्द्र सिंह भण्डारी

सुन तस्कर राज्यको एउटा तहबाट संरक्षित हुन्छ । राज्य संरक्षणको फाइदा उठाएर तस्करले कारोबार सञ्चालन गर्छन् । विशेषगरी दुई गलत प्रवृत्तिले सुनमा जहिल्यै मालिक उम्कने गरेको देखिएको छ । एउटा त नेपाल प्रहरीको अनुसन्धान पद्धतिमा सुधार आवश्यक छ । अर्को, राज्यका राजनीतिकदेखि प्रशासन तहसम्म सुन तस्करको जालो निमिट्यान्न पार्ने समझदारी हुनुपर्छ । प्रहरीले पक्राउ गर्ने तर राजनीतिक तहबाट छुटाउन दबाब दिने भयो भने मालिक सहजै उम्कन्छन् । प्रहरीमा होडबाजी गर्ने प्रवृत्ति पनि गलत छ । 

सुन बरामद भयो कि क्यामेरा ल्याएर देखाइहाल्ने प्रवृत्ति रोक्नुपर्छ । एउटा जालो नभेटिउन्जेलसम्म प्रारम्भिक चरणमा पक्राउ परेका व्यक्तिलाई ‘सेफ हाउस’ मा राखेर अनुसन्धान सकिएपछि मात्रै घटना सार्वजनिक गर्नुपर्छ । होइन भने तत्कालै यस्ता घटना सार्वजनिक गरिहाल्दा मालिकको नेटवर्कले काम गर्छ र ऊ सहजै उम्कन्छ । तस्करी भन्नेबित्तिकै यो संगठित अपराधसँग जोडिन्छ । मुख्य तस्कर कहिल्यै पर्दामा आउँदैनन् । भरियालाई नै प्रयोग गर्छन् । तर, अनुसन्धान पद्धतिलाई सुधार्ने हो भने भरिया मात्रै होइन, मालिक पक्राउ गर्न सहज छ । विदेशी नागरिक जोडिनेबित्तिकै अनुसन्धान रोकिने प्रवृत्ति पनि गलत छ । जुन मुलुकका नागरिक जोडिए पनि दूतावासमार्फत उसलाई ल्याउन पहल गर्ने बाटो खुला छन् ।

 निरौला पक्राउ

 साढे ३३ केजी सुन प्रकरणमा मुछिएका नेपाल प्रहरीका पूर्वडीआईजी गोविन्द निरौला आइतबार पक्राउ परेका छन् । उक्त प्रकरणको अनुसन्धान गर्न गठित छानबिन समितिले उनलाई पक्राउ गरी थुनामा राखेको हो । छानबिन गर्न गठित समितिका संयोजक एवं गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलका अनुसार निरौलालाई बानेश्वरबाट पक्राउ गरी प्रहरी हिरासतमा राखिएको हो । निरौलाले चैत ९ गते प्रहरी सेवाबाट अवकाश पाएका थिए । विमानस्थल प्रहरी प्रमुख रहेका बेला तस्कर गिरोहसँग निकटताको आशंकामा उनी समातिएका हुन् । उनी विमानास्थलबाट प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना निर्देशनालयमा सरुवा भएका थिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.