ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस
ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस सोमबार छुटेका छन् । दुई देशलाई सडक यातायातबाट जोड्ने योजना अनुरुप सोमबार परीक्षणका लागि दुई यात्रु बस काठमाडौंका लागि छुटेका हुन् ।
बंगलादेश-भुटान-भारत-नेपालबीच सीधा यातायात सञ्चालन गर्ने जुन १५, २०१५ को (बीबीआईएन) सम्झौता अनुसार ढाकाबाट काठमाडौँका लागि यात्रु बस सुरु भएको हो ।
यी दुई बसमा बंगलादेश रोड ट्रान्सपोर्ट कर्पोरेसनका अध्यक्ष फरिदउद्दिनको नेतृत्वमा तीन देशका ८० जना प्रतिनिधि काठमाडौंका लागि हिँडेका द डेली स्टारले जनाएको छ ।
ढाकाबाट छुटेका श्यामोली परिवहनका दुवै बस बिहीबार काठमाडौं आइपुग्ने बताइएको छ । चारै देशले निकट भविष्यमा व्यापारिक प्रयोजनका लागि यात्रु बस चलाउने तयारी गरेका छन् ।
सडक विभाग बंगलादेशका सचिव नजरुल इस्लामका अनुसार ढाकाबाट यी बसलाई भारतीय उच्च आयोगका प्रथम सचिव गौरव गांगुली र नेपाली राजदूतावासका उपप्रमुख धनबहादुर ओलीले झण्डा हल्लाएर बिदाई गरेका थिए ।
ढाकाबाट हिँडेका यी बसहरु बंगबन्धु हुँदै भारत-बंगलादेश सीमा फूलबारी छिचोलेर भारतको सिलिगुडीबाट काँकडभिट्टा नाकाबाट नेपाल आउनेछन् । दुई बस काठमाडौंका लागि छुटेका हुन् । ढाका–काठमाडौं सडक दूरी झण्डै एक हजार एक सय किलोमिटर रहेको छ ।