छुरा हानेर लुटपाट
विराटनगर : विराटनगर- ११ मा आइतबार राति छुरा हानेर एक युवामाथि लुटपाट गरिएको छ। सगरमाथा बोर्डिङ स्कुल नजिकै डेरा गरेर बस्ने सप्तरी महुली-६ का १७ वर्षीय आशिष चौधरीमाथि लुटपाट भएको प्रहरीले जनाएको छ। मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीका अनुसार ४/५ जनाको समूहले छुरा प्रहार गरेर चौधरीको साथमा रहेको १८ हजार रुपैयाँ तथा साथमा रहेको मोबाइल लुटेर लगेको छ।
राति १० बजे हिंडेर डेरातर्फ जाँदै गरेको अवस्थामा रोकेर छुरा प्रहार गरिएको जानकारी प्रहरीले दिएको छ। छुरा प्रहारबाट उनको बाँया कुममा चोट लागेको छ। घाइते अवस्थाका उनलाई उपचारका लागि कोसी अञ्चल अस्पताल विराटनगरमा भर्ना गरिएको छ। घटनामा संलग्नको पहिचान हुन नसकेको र खोजी भइरहेको मोरङ प्रहरीले जनाएको छ।