आईपीएल : बलर हाबी भएको खेलमा दिल्लीको झिनो अन्तरको हार
काठमाडौं : इन्डियन प्रिमियर लिग(आईपीएल) को सोमबार रातिको खेलमा नेपालका सन्दीप लामछाने आवद्ध टिम दिल्ली डेयरडेभिल्स, किंग्स ११ पञ्जाबसँग ४ रनको झिनो अन्तरले पराजित भएको छ ।
यस सिजनका अघिल्ला ५ खेल लगातार बाहिरी मैदानमा खेलेको दिल्लीले घरेलु 'फेरोज शाह कोटला' मैदान दिल्लीमा खेलेको पहिलो खेलमा पनि पराजित भई खराब प्रदर्शन जारी राखेको हो ।
बलहरु हावी भएको खेलमा टस जितेर दिल्लीले पहिले बलिङ राजेको थियो । पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ८ विकेट गुमाएर १४३ रन मात्रै बनाउन सक्यो । पञ्जाबका लागि करुण नायरले सर्वाधिक ३४ रन बनाए डेभिड मिलरले २६ र लोकेश राहुलले २३ रन बनाए । पञ्जाबका आक्रामक ब्याट्सम्यान क्रिस गेल भने सोमबारको खेलमा टोलीमा थिएनन् ।
दिल्लीका लागि इंग्ल्याण्डका लिएम प्लुंकेटले सर्वाधिक ३ विकेट लिए भने ट्रेन्ट बोल्ट र आभेष खानले २–२ विकेट लिए ।
१४४ रनको झिनो लक्ष्य पछ्याएको दिल्लीले सुरुवाती ब्याटिङ राम्रो गरे पनि बीचमा लगातार विकेट गुमाउदा पञ्जाब खेलमा हाबी भयो । २० ओभरमा ८ विकेट गुमाएर १३९ रन मात्रै बनाउन सक्यो ।
दिल्लीका लागि श्रेयस लेरले ५७ रन बनाए , राहुल तेवाटियाले २४ र पृथ्वी शाले २२ रन बनाए अन्यले खासै रन जोड्न सकेनन् । पञ्जाबका तीन बलरले मुजब रहमान, अंकित राजपुत, आन्द्रे टायले २–२ विकेट लिए।
६ खेलमा एक मात्रै जित निकालेको दिल्ली २ अंकसहित तालिकाको पुच्छारमा छ । दिल्लीमाथि जित निकालेपछि ६ मध्ये ५ खेलमा जित निकालेको पञ्जाब १० अंकसहित पुःन शीर्ष स्थानमा उक्लिएको छ ।
दिल्लीको घरेलु मैदान स्पीनर अनुकूल भएकाले सोमबारको खेलमा सन्दीप लामिछानेले खेल्ने मौका पाउन सक्ने भन्दै चर्चा भएपनि उनलाई मैदानमा उतारिएन ।