लोकतन्त्रको खोजी
आज तेह्रौं लोकतन्त्र दिवस। नेपाली राजनीतिमा एउटा ऐेतिहासिक दिन। मुलुक राजनीतिक रुपान्तरणको दिशामा बढ्दै गर्दा अर्को एउटा कोशेढुंगा थप्न सकेको यो दिनको ऐतिहासिक महत्व छ। यो दिन ल्याउन अग्रगमनका पक्षधर आम नेपालीजनको योगदान छ। साहसका साथ बलिवेदीमा होमिन तयार ती नेपालीजनको सबैभन्दा बढी योगदान छ, जसले लोकतान्त्रिक आन्दोलनको सफलताका लागि मृत्युवरण गरे। हामीले अहिले जुन राजनीतिक स्वतन्त्रता पाएका छौं, संघीय लोकतान्त्रिक शासन व्यवस्था उपभोग गर्न पाएका छौं, यो त्यही संघर्षपूर्ण बलिदानको देन हो। यस अर्थमा यो ऐतिहासिक दिनको स्मृति हाम्रा लागि गौरवको विषय हो।
तर के गौरव गरेर मात्रै लोकतन्त्र दिवसले सार्थकता पाउला ? राजनीतिक रूपमा मुलुकमा यत्रो परिवर्तन हु“दा त्यसबाट आम जनताले के पाए ? के विगतका व्यवस्थाभन्दा अहिले मुलुकले अपनाएको संघीय लोकतान्त्रिक गणतन्त्रको युगमा आइपुग्दा आम जनताको जीवनमा के बदलाव आयो ? राज्यले सर्वसाधारण जनताको न्यूनतम चासो सम्बोधन गर्न सक्यो ? आम मानिसको दैनिक जीवनमा के सहजता र सुलभता आयो ? दिवस मनाउँदै गर्दा यस्ता अनेकौं असन्तुष्टिमि िश्रत प्रश्न पनि उठ्ने गरेका छन्। यसमा गम्भीर विमर्श आवश्यक छ।
०६३ पछिको बाह्रवर्षे राजनीतिक उतारचढावलाई दुई पाटोबाट केलाउनुपर्छ। एउटा उज्यालो पाटो। मुलुक राजनीतिक चेतका दृष्टिले अझै समृद्ध हुँदै गएको छ। समय र प्रविधिको विकाससँगै बढेको सामाजिक तथा राजनीतिक चेतसँगै केही महत्वपूर्ण उपलब्धि पनि यसबीच प्राप्त भएका छन्। ०६३ को आन्दोलनपछि दुईपटक मधेस आन्दोलन, दुईपटक संविधानसभा चुनाव, दसवर्षे माओवादी ‘जनयुद्ध’ लडेर आएका लडाकुको नेपाली सेनामा समायोजन, नया“ संविधान निर्माण, केन्द्र, प्रदेश र स्थानीय गरी तीनै तहको निर्वाचनसँगै मुलुकले पहिलोचोटी संघीयताको अभ्यास थाल्यो। राजनीतिक इतिहासका दृष्टिले छोटो अवधिमा नेपाली जनताले प्राप्त गरेका यी उपलब्धि सा“च्चिकै महत्वपूर्ण छन्।
यो समयको अँध्यारो पक्ष पनि छ। राजतन्त्रात्मक मुलुक गणतन्त्रमय भयो। राजा मिल्काएर आम नागरिक राष्ट्रपति चुनिने लोकतान्त्रिक पद्धति हामीले अपनाएका छौं। एउटा राजाको अन्त्य त भयो, तर यहा“ थुप्रै ‘छोटे राजा’ हरू जन्मिए। राजनीतिक नेतृत्वको यस्तो डरलाग्दो ‘सिन्डिकेट’ खडा भएको छ यहा“। लोकतन्त्रको पूर्ण अभ्यास नै हुन सकेको छैन। भन्नलाई लोकतन्त्र भनिए पनि केही थान नेताविशेषको आग्रह र अनुकूलतामा सरकार, पार्टी र समग्र व्यवस्था बढेको छ। राजनीतिक रूपमा परिवर्तन भए पनि व्यावहारिक र मानसिकतामा परिवर्तन हुन नसक्दा आम जनताले यसको अनुभूति गर्न सकेका छैनन्।
राजनीतिक नेतृत्व सत्तामुखी चरित्रमै तल्लीन छ। काम भन्दा बढी प्रचार खोजिने प्रवृत्ति छ। लोकप्रियताको आवरणमा रम्ने प्रवृत्ति व्यापक छ। जनतालाई सेवा दिनुपर्नेमा प्रचार र लोकप्रियता खोज्ने प्रवृत्ति व्यापक छ। शिक्षा, स्वास्थ्य, यातायात, सरकारका अनेक जरुरी सेवा, जहा“ गयो त्यही आम मानिस निराश हुनुपर्ने अवस्था छ। रोजगारीको नाराको औचित्यहीनता विमानस्थलबाट बाहिरिने लर्कोले दिनहुँ पुष्टि गर्छ। यो निराशाजनक अवस्थाबाट मुलुकले त्राण पाए मात्रै लोकतन्त्र दिवस र आन्दोलनको औचित्य स्थापित हुन्छ। राजनीतिक नेतृत्व व्यवहार र मानसिकतामै रुपान्तरित हुनु जरुरी छ। जनता अनूभूत गर्न सक्ने लोकतन्त्रको खोजीमा छन्।
यतिबेला मुलुकमा राजनीतिक स्थायित्वसँगै आर्थिक विकास र समृद्धिको डंका पिटिएको छ। आम जनतामा नयाँ अपेक्षा जन्मिएका छन्। राजनीतिक आरोहअवरोहका बीच मुलुकले नयाँ संविधान पाएपछि भएका तीनै तहका निर्वाचन, त्यसपछि राजनीतिक स्थायित्व दिने प्रकृतिको बलियो सरकार पाएको सन्दर्भमा तेह्रौं लोकतन्त्र दिवस मनाइँदैछ। यो अवसरमा राजनीतिक नेतृत्वले गम्भीर आत्मसमीक्षा र आत्मालोचना गर्दै आम जनतालाई देखाइएको समृद्धिको सपना फलीभूत बनाउन प्रतिवद्धता दोहो¥याउनुपर्छ। र, त्यो व्यवहारमै लागू गर्ने प्रक्रिया आरम्भ गर्नुपर्छ। अन्यथा राजनीतिक उपलब्धि प्राप्त गर्ने, गुमाउने अनि फेरि संघर्ष गर्ने गोलचक्करमै हामी फस्ने छौं।