सेना समायोजनपछि माओवादी सैन्य शिविरको बेवास्ता
इलाम : माओवादी लडाकुका लागि माई नगरपालिकास्थित शुक्रबारेमा निर्माण गरिएका ६० वटा संरचना बेवारिसे बनेका छन्।लडाकु बसेका शिविरका भौतिक संरचना सेना समायोजनपछि व्यवस्थापन नगर्दा संरक्षण अभावमा ढल्न थालेका छन्। सेनाका नाममा रहेको यो क्षेत्रको केही भाग सशस्त्र प्रहरीले उपयोग गरेको छ।
सशस्त्रले प्रयोग गरेका चार, लडाकुले मेडिकल चलाएको एउटा भवनबाहेक अन्य टहरा लड्न लागेको सशस्त्र प्रहरी बल दानाबारीका प्रहरी निरीक्षक चेतन बराकोटीले बताए। भने, ‘अरू भवनले यो वर्षा काट्ने अवस्था छैन।’
भवनको काठ, छानोको टिन, फलामे ट्रस्ट अझै काम लाग्ने अवस्थामा छन्। सबै सामग्री विद्यालय वा सार्वजनिक निकायलाई तत्काल हस्तान्तरण नगरे अब काम नलाग्ने बराकोटीले बताए।सशस्त्रले संरचनाको विस्तृत विवरण तयार पारेर माई नगरपालिकासहितका निकायमा पठाए पनि काम नभएको उनले बताए।
सशस्त्र बसेबाहेकको क्षेत्र झाडीमा परिणत हुन थालेको छ। खुला प्रवेशद्वार भएका कारण गाउँका पशु–चौपाया पसेर क्षति पुर्याउने क्रम बढेको उनले सुनाए। शान्ति तथा पुनर्निर्माण मन्त्रालयअन्तर्गत बनेका भौतिक संरचनाको व्यवस्थापन गर्ने पहल भइरहेको माईका मेयर दीपककुमार थेबेले बताए।
शिविरमा अधिकांश भवनको छानो भुइँमा बसिसकेका छन्। केही संरचना आधा ढलेका छन्। माटोमा बसेका संरचना काम नलाग्ने अवस्थामा पुग्न लागेको बराकोटीको भनाइ छ। मन्त्रालयले करोडौं रकम खर्च गरेर बनाएका संरचनाको व्यवस्थापनमा कसैले पहल नगरेको स्थानीयको गुनासो छ। स्थानीय सरकार बनेको ९ महिना बिते पनि नगरपालिकाले यसको सदुपयोगमा पहल नगरेको स्थानीय गोपाल घिमिरेले बताए।