बुलेट समस्या समाधान गर्न भारत सकारात्मक
काठमाडौं : नेपाली नम्बर प्लेटका ग्यास बुलेट सञ्चालन गर्न दिन भारत सकारात्मक देखिएको छ। नेपाल–भारत अन्तरसरकारी समिति (आईजीसी)को बैठकको पूर्वसन्ध्यामा राजधानीमा मंगलबारदेखि सुरु भएको दुई मुलुकका वाणिज्य सहसचिवस्तरीय अन्तरसरकारी उपसमिति (आईजीएससी) बैठकमा भारतीय पक्ष यस विषयमा सकारात्मक देखिएको हो।
नेपालका तर्फबाट बैठकमा सहभागी वाणिज्य मन्त्रालयका सहसचिव रवीशंकर सैजुले मंगलबार भएको द्विपक्षीय बैठकमा भारतले बिस्फोट्नसम्बन्धी अनुमतिपत्र प्राप्त नहुँदा नेपाली नम्बर प्लेटको बुलेट सञ्चालन गर्न नसकिएको मुद्दा प्रमुखताका साथ उठाएको जानकारी दिए। जवाफमा भारतीय वाणिज्य सहसचिव तथा संयोजक भुपेन्द्रसिंह भल्लाले नेपाली नम्बर प्लेटका बुलेट सञ्चालनका लागि विस्फोट्न ऐन बाधक भएको औंल्याएका थिए।
नेपाल आयल निगमले अहिलेसम्म सात सय ७५ नेपाली नम्बर प्लेटका बुलेट किन्न निजी क्षेत्रलाई स्वीकृत दिएको छ। गत मंसिरमा नेपाली नम्बर प्लेट भएका दुईवटा बुलेट नेपाल भित्रिएका छन्। ५३ वटा बुलेट तयार भएर भारतमै थन्किएका छन्। नेपाली बुलेटलाई भारत सरकारको एक्स्प्लोसिभ विभागले अनुमति नदिएकाले सञ्चालनमा आउन सकेको छैन।
मंगलबारदेखि सुरु भएको आईजीएससीको बैठकमा नेपाल–भारतबीचको व्यापार तथा वाणिज्यसम्बन्धी प्राविधिक विषय प्रवेश पाएको छ। यो बैठकबाट प्राविधिक र नीतिगत समस्या उपर छलफल गरी मूल मुद्दा छनोट गरी आईजीसीको बैठकमा प्रवेश गराउने तयारी छ। बिहीबारदेखि हुने आईजीसी बैठकमा नेपालका तर्फबाट वाणिज्य सचिव चन्द्रकुमार घिमिरे र भारतको तर्फबाट वाणिज्य सचिव रिता टिओरियाले नेतृत्वदायी भूमिका खेल्नेछन्।
द्विपक्षीय बैठकमा वीरगञ्जबाहेक थप ब्रोडगेज रेलमार्गमार्फत नेपालको थप तीन नाका जोड्ने विषयमा छलफल भएको छ। विराटनगर, नेपालगञ्ज र भैरहवासम्म रेलमार्ग विस्तार गरी व्यापारिक क्षेत्र विस्तार गर्ने विषयमा पनि छलफल भएको सहसचिव सैजुले जानकारी दिए।
यसैगरी मंगलबारको द्विपक्षीय बैठकमा भारतका विभिन्न विद्यालयमा अध्यापन गराइने नेपाली विषयका पाठ्यपुस्तक, पत्रपत्रिका र नेपाली पुस्तकको सहज निकासीको विषयमा पनि छलफल भएको छ।
यसैगरी ट्रान्जिटका रूपमा बोर्डर नाकाको सडकलाई थप व्यवस्थित गर्ने र जलमार्गको प्रयोगबारे छलफल भएको छ। सहसचिव सैजुका अनुसार तेस्रो मुलुकबाट कोलकाता बन्दरगाह आउने सामान क्लियरेन्स गर्न नेपाली आपूर्तिकर्ताले भोग्दै आएका समस्या समाधानका विषयमा छलफल भएको छ।
यसैगरी वीरगन्जमा सञ्चालनमा आएको एकीकृत जाँच चौकी (आईसीपी) जस्तै भैरहवा र नेपालगन्जमा निर्माण गर्ने विषयले प्रवेश पाएको छ। विराटनगरमा आईसीपीको निर्माण करिब अन्तिम चरणमा पुगेको छ। यसका साथै चाँदनी दोधारामा पनि एकीकृत जाँच चौकी निर्माण गर्ने विषयलाई बैठकमा प्रवेश गराइएको छ।
बुधबार नेपाल भारत वाणिज्य सन्धि, पारवहन सन्धि, रेल सञ्चालन सम्झौता तथा अनधिकृत व्यापार नियन्त्रण सम्झौताका विषयमा प्राविधिक छलफल गरी आईजीसीको बैठकमा प्रस्ताव गरिने मन्त्रालयले जनाएको छ।