एउटै गाउँबाट आठ लाख लिटर दूध

एउटै गाउँबाट आठ लाख लिटर दूध

चौतारा : जिल्लाको एउटै गाउँबाट वार्षिक आठ लाख लिटरभन्दा बढी दूध राजधानी पुग्ने गरेको छ। चौतारा साँगाचोकगढी नगरपालिकाको कुभिन्डेका किसानले वार्षिक आठ लाख लिटरभन्दा बढी दूध बिक्रीका लागि काठमाडौं पठाउने गरेका छन्।

कुभिन्डेका दुई सहकारीले दैनिक संकलन गरेको दूध दुग्ध विकास आयोजनाले खरिद गरी काठमाडौं पुर्‍याउने गरेको छ। कुभिन्डे दुग्ध उत्पादक सहकारी संस्था र जनसेवा दुग्ध सहकारीले दूधलाई ल्याक्टो र फ्याटका आधारमा मूल्य निर्धारण गरी खरिदबिक्री गर्ने गरेका छन्। कुभिन्डेसहित आसपासका तीन साविक गाविसका किसानबाट संकलित करिब आठ लाख तीन हजार लिटर दूध राजधानी लैजाने गरिएको छ।

साविक कुभिन्डे, बतासे, फुल्पिङकोट र फुल्पिङडाँडाका किसान दूध बेचेरै चार करोडभन्दा बढी रुपैयाँ गाउँ भित्र्याउँछन्। ६ सय ९७ सेयर सदस्य रहेको कुभिन्डे सहकारीले मात्रै दैनिक एक हजार पाँच सय लिटर दूध बिक्री गर्ने गरेको संस्थाका अध्यक्ष टोपनाथ सापकोटाले जानकारी दिए। यस्तै जनसेवाले सात सय लिटरको हाराहारीमा दूध बेच्दा वार्षिक आठ लाख तीन हजार लिटर राजधानी पुग्ने गरेको हो।

‘दैनिक औसत एक हजार पाँच सय लिटर दूध आफ्नो संस्थाबाट राजधानी पुग्ने गरेको छ’, कुभिन्डेका अध्यक्ष टोपनाथ भन्छन्, ‘ल्याक्टो र फ्याटका आधारमा प्रतिलिटर ५० रुपैयाँसम्म पाइन्छ।’ उनले भैंसी पालेर दूध बिक्रीबाटै जीविकोपार्जन हुने भएपछि पछिल्लो समय दूध उत्पादन गर्ने किसानको संख्यासमेत वृद्धि भएको बताए। कुभिन्डे सहकारीमा दूध बेच्ने किसानको संख्या पछिल्लो दुई वर्षमा दोब्बरले बढेको छ।

कुभिन्डेका दुई सहकारीले दैनिक संकलन गरेको दूध दुग्ध विकास आयोजनाले खरिद गरी काठमाडौं पुर्‍याउने गरेको छ।

२०४९ सालमा स्थापित यो सहकारीले दूध मात्रै बेच्ने नभएर बचत तथा ऋणको पनि व्यवस्था गरेको छ। संस्थाले सेयर सदस्यलाई उद्यमी बनाउने उद्देश्यले युवा स्वरोजगार कोषको सहुलियत ऋणको व्यवस्था गरेको हो। संस्थाले अहिले तीन करोड २४ लाखभन्दा बढी रुपैयाँ सदस्यलाई ऋण लगानी गरेको अध्यक्ष सापकोटा बताउँछन्।

कुभिन्डेकै जनसेवा सहकारीले पनि दूध काठमाडौंमा संकलन गरी पठाउने गरेको छ। यो संस्थाले दैनिक सात सय लिटर दूध संकलन गर्छ। ‘दूध ढुवानीका लागि दुग्ध विकास आयोजनाको सवारी हरेक दिन गाउँ आइपुग्ने हुँदा किसान झनै आकर्षित भएका छन्’, जनसेवाका अध्यक्ष रोहित शर्माले भने, ‘उत्पादित दूधले राम्रो मूल्यसहित बजार पाएपछि स्थानीय किसान व्यावसायिक बन्नेतर्फ आकर्षित भएका हुन्।’ उनले दूध बिक्री गरेर घरबार धानिने भएपछि युवामा विदेश मोह घटेको दाबी गरे।

गाउँमा युवा, महिला र वृद्धवृद्धासमेत दूध उत्पादनमा लागेका छन्। कुभिन्डेका किसान गर्न सके गाउँमै विदेशको कमाइ गरी रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने उदाहरण भएको चौतारा साँगाचोकगढी नगरपालिका वडाध्यक्ष चूडामणि नेपाल बताउँछन्। ‘पहिले किसान सहकारीमा आबद्ध हुन हिच्किचाएको थिएँ’, कुभिन्डे सहकारीका पूर्वअध्यक्षसमेत रहेका नेपाल भन्छन्, ‘अहिले सहकारीमा आबद्ध हुँदा आफूलाई फाइदा पुग्ने र व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्ने भन्ने चेतना विकास भएपछि सबै एकतामा बाँधिएका छन्।’ उनले किसानलाई व्यवसायमा लगाउन वडा कार्यालयले सहयोग गर्ने बताए।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.