यार्सागुम्बा चोरी गर्ने सातजना पक्राउ
डोल्पा : हिमाली जिल्ला डोल्पामा बहुमुल्य जडीबुटी यार्सागुम्बाको अवैध रुपमा संकलन गर्न यार्सागुम्बा पाटन पुगेका सात जना पक्राउ परेका छन् ।
उनीहरुलाई शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज सुरक्षा पोष्ट तोइजुम र निकुञ्जका कर्मचारी सहितको संयुक्त टोलीले निकुञ्जको मुख्य क्षेत्रमा पर्ने कागमारा हिमालबाट राति १२ बजे पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा पाँच जना महिला र दुई जना पुरुष रहेको शे– फोक्सुन्डो राष्ट्रिय निकुञ्ज डोल्पाले जनाएको छ । पक्राउ पर्नेमा जगदुल्ला गाँउपालिका वडा नं ४ छाँचुका ३० वर्षीया युवराज बुढा, मुड्केचुला गाँउपालिका ८ ओक्टका १६ वर्षीय ओम बहादुर रोकाय, जुम्ला जिल्ला गोठीचौर गाँउपालिकाका वडा नं १ बस्ने ४६ वर्षीया सुर्य बस्नेत,सोही ठेगानाकै २४ वर्षीय चन्द्रलोक सिँह बस्नेत, सोही ठेगानाकै २४ वर्षीय युवराज बस्नेत, सोही ठेगानाकै बर्ष १८ की संगिता बस्नेत र सोही ठेगानाकै १८ वर्षीया पबित्रा बस्नेत रहेको निकुञ्जका संरक्षण अधिकृत रामदेब चौधरीले जानकारी दिए ।
उनीहरु बहुमुल्य जडिबुटी यार्सागुम्बाको अवैध संकलन गर्ने अभिप्रायले गएपनि उनीहरुले यार्सागुम्बा टिप्न नपाएको चौधरीले बताए । उनीहरुबाट प्रहरीले लत्ता कपडा, पाल, चाउचाउ,कुटो लगायतका बन्दोबस्तीका सामानहरु समेत बरामत गरिएको निकुञ्जले जनाएको छ ।
पक्राउ परेका दुईजना महिलाको स्वास्थ्य अवस्था कमजोर भएकाले निकुञ्जले दोषी ठहर गरेर बोलाएको खण्डमा उपस्थित हुने गरि प्रतिव्यक्ति दश हजार धरौटीमा छोडिएको समेत निकुञ्जका संरक्षण अधिकृत चौधरीले बताए ।
पक्राउ परेका अन्य पाँच जनालाई निकुञ्जको कार्यालय सुलीगाडमा ल्याएर थुनामा राख्दै अनुसन्धान सुरु गरिएको समेत उनले जानकारी दिए ।