तुर्कमेनिस्तानसँग बदला लिने अवसर

तुर्कमेनिस्तानसँग बदला लिने अवसर

मिरपुर : एसियन भलिबल महासंघ (एभीसी) सेन्ट्रल जोन प्रतियोगिताअन्तर्गत बुधबार हुने सेमिफाइनल खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी तुर्कमेनिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । मिरपुरस्थित सहिद सुरवर्दी इन्डुअर स्टेडियममा हुने खेलमा नेपाल तुर्कमेनिस्तानसँग बदला लिने दाउमा छ । यसपटक उपाधि जित्ने योजनासहित बंगलादेश आएको नेपाली टोलीले तुर्कमेनिस्तानविरुद्ध जितकै योजना बनाएको छ । साबिक विजेता किर्गिस्तान र उज्बेकिस्तानलाई पराजित गर्दै समूह बी को विजेताको हैसियतमा सेमिफाइनल पुगेको तुर्कमेनिस्तान नेपालका लागि कठिन प्रतिद्वन्द्वी हो ।

तुर्कमेनिस्तानले किर्गिस्तानलाई ३-० तथा उज्बेकिस्तानलाई ३-१ को सेटमा पराजित गरेको थियो । बंगलादेशमै भएको पहिलो संस्करणको सेन्ट्रल जोन भलिबलको उपाधि जितेको तुर्कमेनिस्तानले यस प्रतियोगितामा पनि सशक्त प्रदर्शन गरेको छ । समूह चरणको खेलमा तुलनात्मक रूपमा कमजोर प्रदर्शन गरेकाले पनि नेपाललाई तुर्कमेनिस्तानको चुनौती मुस्किल हुने देखिएको हो । समूह एको दुईमध्ये पहिलो खेलमा बंगलादेशसँग २६-२४, १८-२५, १४-२५, २१-२५ ले पराजित भएको नेपाल दोस्रो खेलमा माल्दिभ्सलाई २५-२१, २५-१८, २५-१५ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

सेन्ट्रल जोन भलिबल प्रतियोगितामा हालसम्म भएको दुईमध्ये दुवै खेलमा पराजित भएकाले नेपाललाई तुर्कमेनिस्तान मुस्किल प्रतिद्वन्द्वी मानिएको हो । नेपाल गत वर्ष माल्दिभ्समा भएको सेन्ट्रल जोनको तेस्रो संस्करणमा तुर्कमेनिस्तानसँग २५-२०, २५-१८, २५-२२ को सोझो सेटमा पराजित भएको थियो । कप्तान इम रानामगर तुर्कमेनिस्तानविरुद्ध नेपाली टोलीले प्रदर्शनमा सुधार ल्याइरहेकाले यसपटक जितकै योजना बनाएको प्रतिक्रिया दिए ।

उनले तुर्कमेनिस्तानलाई पराजित गर्न आफूहरूले रिसिभमा सुधार ल्याउन आवश्यक रहेको पनि बताए । ‘उनीहरूको खेल राम्रो छ । तुर्कमेनिस्तानविरुद्ध पहिलो संस्करणमा हामी लज्जास्पद तरिकाले पराजित भएका थियौं । गत वर्ष हामीले उनीहरूलाई कडा टक्कर दिएका थियौं । यस पटक हाम्रो खेल पनि कमजोर छैन’, रानामगर भन्छन्, ‘उनीहरूको सर्भिस बलियो छ । त्यसैले रिसिभमा सुधार ल्याउन सक्यौं भने हामी बदला लिने छौं ।’

नेपाली टोलीका प्रशिक्षक जगदीश भट्टले तुर्कमेनिस्तानविरुद्धको जितका लागि रिसिभमा सुधार ल्याउनुपर्ने बताए । ‘तुर्कमेनिस्तान र नेपालका खेलाडीहरूको उचाइ उस्तै छ । प्राविधिक र रणनीतिक रूपमा हामी तुर्कमेनिस्तानभन्दा कमजोर छैनौं’, प्रशिक्षक भट्टले भने, ‘मात्रै जितका लागि हामीले रिसिभमा सुधार ल्याउनु पर्छ।’ जारी प्रतियोगितामा नेपालको भन्दा तुर्कमेनिस्तानको खेल केही ‘फास्ट’ देखिएको छ । उनीहरूलाई रोक्न ब्लकमा पनि राम्रो प्रदर्शन गर्न आवश्यक रहेको भट्टले बताए ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.