नेपाल सेमिफाइनलमा
काठमाडौं : नेपालको छात्र र छात्रा दुवै टिम आईटीएफ एसिया यू-१२ टिम टेनिस च्याम्पियनसिपको दक्षिण एसियाली क्षेत्रको छनोट प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार भएको राउन्ड रोविन लिगमा नेपालका दुवै टोलीले दोस्रो हुँदै सेमिफाइनलमा स्थान बनाएका हुन् ।
पाँच राष्ट्र सहभागी छात्रमा भारत पहिलो भयो भने पाकिस्तान तेस्रो र श्रीलंका चौथो भए । छात्रमा भुटानको चुनौती समाप्त भएको छ । चार राष्ट्र रहेको छात्रामा पनि भारत पहिलो भयो । श्रीलंका तेस्रो र भुटान चौथो स्थानमा रह्यो ।
छात्र सेमिफाइनलमा नेपालले पाकिस्तान तथा भारतले श्रीलंकाको सामना गर्नेछ । नेपाल र श्रीलंका तथा भारत र भुटानबीच छात्राको सेमिफाइनल हुनेछ । सेमिफाइनलका विजेताले आगामी नोभेम्बरमा कजाकिस्तानमा हुने आईटीएफ एसिया यू-१२ टिम टेनिस च्याम्पियनसिपमा स्थान पक्का गर्नेछन् ।
राउन्ड रोविन लिगको अन्तिम दिन नेपाली छात्र र छात्रा दुवै टोलीले आआफ्नो प्रतिद्वन्द्वीलाई पराजित गरे । छात्रमा नेपालले पाकिस्तानलाई २-१ ले पराजित गर्यो । पहिलो सिंगल्समा नेपालका अकी जुवेन रावतले पाकिस्तानका विलाल असिमलाई ६-२, ६-२ को सोझो सेटमा हराए । दोस्रो सेमिफाइनलमा पाकिस्तानका हमिद इस्ररले नेपालका आरभसम्राट हाडालाई ६-२, ६-३ ले पाखा लगाउँदै खेललाई बराबरीमा ल्याएका थिए । निर्णायक रहेको डबल्समा अकी र आरभको जोडीले विलाल र मुहम्मद हुजैफा खानको जोडीलाई ६-०, ६-१ को सीधा सेटमा पन्छाउँदै नतिजा आफ्नो पक्षमा पारेका थिए ।
सातदोबाटोस्थित टेनिस कोर्टमा नेपाली छात्रा टिमले भुटानमाथि ३-० को सहज जित हात पार्यो । सिंगल्समा नेपालकी अजा रेग्मीले भुटानकी युडेनकर्मा दोर्जीलाई ६-१, ६-३ तथा नेपालकी शुभांगीलक्ष्मी शाहले भुटानकी तेन्जिङ वांगेललाई ६-१, ६-० को सोझो सेटमा पाखा लगाए । डबल्समा शुभांगी र आइशा डोल्कर गुरुङको जोडीले युडेन र कुइंगा पाल्मोको जोडीलाई ६-१, ६-० ले पराजित गरे ।
छात्रमा भारतले श्रीलंका र भुटानलाई समान ३-० तथा पाकिस्तानले भुटानलाई ३-० ले नै निराश पारे । छात्रामा भारतले श्रीलंकालाई ३-० ले हरायो ।