तथ्यांक विभागको प्रक्षेपण : आर्थिक वृद्धिदर ५.८९ प्रतिशत

तथ्यांक विभागको प्रक्षेपण : आर्थिक वृद्धिदर ५.८९ प्रतिशत

काठमाडौं :  सरकारले चालु आर्थिक वर्ष ५.८९ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ। केन्द्रीय तथ्यांक विभागले बुधबार पत्रकार सम्मेलन गरी यो जानकारी गराएको हो। यो वृद्धिदर गत वर्षको तुलनामा कम हो। गत आर्थिक वर्ष ७.३९ प्रतिशत आर्थिक वृद्धि भएको थियो। आर्थिक क्रियाकलापमा सुधार आए पनि धानको उत्पादन घट्दा आर्थिक वृद्धिदर घट्न गएको हो।

सरकारले चालु आवको बजेट प्रस्तुत गर्दा ७.२ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको थियो। बाढीका कारण धान उत्पादनमा कमी हुने भएपछि सरकारले बजेट मध्यावधि समीक्षामार्फत वृद्धिदर ६ प्रतिशतमा सीमित हुने बताएको थियो। तथ्यांक विभागले गत आवमा आर्थिक वृद्धिदर ७.३९ प्रतिशत रहेको संशोधित तथ्यांक पनि बुधबार सार्वजनिक गरेको छ।

यसअघि अर्थतन्त्रका परिसूचक नकारात्मक रहेको भन्दै विश्व बैंक र एसियाली विकास बैंकले नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशतभन्दा कम हुने अनुमान सार्वजनिक गरेका थिए। एसियाली विकास बैंक (एडीबी)ले केही दिनअघि नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत रहने अनुमान गरेको थियो। विश्व बैंकले यस्तो दर ४.६ प्रतिशत रहने अनुमान गरेको थियो।

‘हामी वास्तविक तथ्यांकका आधारमा जीडीपी निकाल्छौं’, केन्द्रीय तथ्यांक विभागका महानिर्देशक सुमनराज अर्यालले भने,‘ प्राथमिक तथ्यांकमा खेल्ने हुनाले हाम्रो अनुमानमा खासै अन्तर पर्दैन।’ अर्यालले यो आवमा साढे एक प्रतिशतले धान उत्पादन घट्दा यसको असर जीडीपीमा परेको बताए। अघिल्ला वर्ष जीडीपीमा कृषिको योगदान एक तिहाई रहँदै आएको थियो। यसवर्ष धानको उत्पादन घट्दा प्राथमिक (कृषि, वन, मत्स्य, खानी तथा उत्खनन्) क्षेत्रको योगदान २८.२१ प्रतिशतमा सीमित छ।

गत आवमा यस्तो यो क्षेत्रको जीडीपीमा २९.३५ प्रतिशत थियो। चालु आवको जीडीपीमा कृषिअन्तर्गत धानको २०.५७ प्रतिशत योगदान छ। धान पछि जीडीपीमा तरकारी, गहुँ, मकै, आलु र दलहनको योगदान क्रमशः ९.६९, ७.१४, ६.८८,४.६६ र ४.६१ प्रतिशत छ।

द्धितीय क्षेत्र निर्माण, उद्योग र विद्युत्, ग्यास, तथा पानीको जीडीपीमा १४.१८ प्रतिशत योगदान छ। पुनर्निर्माण तथा अन्य निर्माण कार्यमा आएको तीव्रता, ऊर्जा क्षेत्रको विस्तार, औद्योगिक उत्पादनमा भएको वृद्धिले यस क्षेत्रको जीडीपीमा योगदान बढेको विभागका निर्देशक डा.जिष्णुमोहन भट्टराईले बताए। औद्योगिक उत्पादनमा सुधार आएको छ अर्थात् उद्योग क्षमताअनुसार सञ्चालन हुन थालेका छन्’, उनले भने, ‘यसले आर्थिक क्रियाकलाप बढाउनुका साथै उत्पादकत्व पनि बढाएको छ।’ चालु आर्थिक वर्षमा जीडीपीमा उद्योगको योगदान ५.३९ प्रतिशत पुग्ने अनुमान गरिएको छ।

जीडीपीमा सबैभन्दा बढी योगदान सेवा क्षेत्रको रहेको देखिन्छ। चालु आवमा यो क्षेत्रको योगदान ५६.५६ प्रतिशतबाट बढेर ५७.६१ प्रतिशत पुगेकोे छ। स्वदेशी उत्पादन तथा वस्तु तथा सेवा आयातमा भएको वृद्धिले व्यापारिक क्षेत्रको उत्पादन सकरात्मक भएको भट्टराईले बताए। पर्यटन आगमानमा भएको वृद्धि, विद्युत् आपूर्तिमा भएको सहजताका कारण होटेल, रेस्टुरेन्ट, यातायात तथा सञ्चार क्षेत्रको आर्थिक वृद्धिमा उल्लेख्य प्रगति भएको हो।

अर्थतन्त्रमा उल्लेख्य सुधार

चालु आवमा नेपालको अर्थतन्त्र ३० खर्ब सात अर्ब पुगेको छ। गत आवभन्दा तीन खर्ब ६४ अर्ब ६५ करोडले बढेर कुल गार्हस्थ उत्पादनको आकार ३० खर्ब सात अर्ब रुपैयाँ पुगेको हो। गत आर्थिक वर्षमा नेपालको जीडीपी २६ खर्ब ४२ अर्ब रहेको संशोधित तथ्यांक समेत विभागले सार्वजनिक गरेको छ।

यस वर्ष आर्थिक क्रियाकलाप बढ्दा जीडीपीमा उल्लेख्य सुधार आएको केन्द्रीय तथ्यांक विभागका महानिर्देशक सुमनराज अर्यालले जानकारी दिए। ‘हाम्रो अर्थतन्त्रको आधार कमजोर भएकाले सानो सुधारले पनि अर्थतन्त्रमा उल्लेख्य सुधार आउँछ’, उनले भने। नेपालीले कुल राष्ट्रिय खर्चयोग्य आय ३८ खर्र्ब ७७ अर्ब २६ करोडबाट २५ खर्ब ५५ अर्ब १६ करोड उपभोगमा खर्च गर्ने गरेका छन्। नेपाली कमाएको आयबाट वर्षभरिमा जम्मा १३ खर्ब २१ अर्ब ३६ करोडमा बचाउन सकेका छन्। अर्थात् कुनै व्यक्तिले कमाएको एक सय रुपैयाँमध्ये करिब १५ रुपैयाँमात्र बचाउन सकेको अवस्था छ। बाँकी ८५ रुपैयाँमा उपभोगमा खर्च हुने गरको विभागले जानकारी दिएको छ। चालु आर्थिक वर्षमा भएको आर्थिक क्रियाकलापबाट १५ खर्ब ५६ अर्ब ४३ करोड रुपैयाँको पुँजी निर्माण भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.